पोखरा, बैदाम तामाङ सेवा समाजको आयोजनामा सोनाम ल्होसारको अवसरमा हरेक वर्ष हुँदै आएको मिस तामाङ पोखरा–२०२६ यस बर्ष पनि औपचारिक रूपमा सुरु भएको छ। तामाङ समुदायका छोरी–चेलीलाई भाषा, संस्कार र संस्कृति सिकाउँदै उनीहरूको व्यक्तित्व, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम गरिँदै आएको समाजले जनाएको छ ।
मिस तामाङ पोखरा–२०२६ अन्तर्गत सञ्चालन गरिएको तालिम तथा ओरिएन्टेशन कार्यक्रमको उद्घाटन तामाङ भाषाविद् अजितमान तामाङले गरेका थिए । उद्घाटन समारोहमा उनले तामाङ भाषा, संस्कार र सांस्कृतिक पहिचान संरक्षणमा युवा पुस्ताको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रमका अवसरमा बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले मिस तामाङ पोखरा सौन्दर्य प्रतियोगिता मात्र नभई सांस्कृतिक चेतना र सामाजिक जिम्मेवारी विकास गर्ने अभियान भएको उल्लेख गरे । उनले तामाङ समुदायका छोरी–चेलीले आफ्नो भाषा, पहिचान र संस्कार बुझेर अघि बढुन भन्ने उद्देश्यले कार्यक्रम हुँदै आएको बताए ।
कार्यक्रम संयोजक रोशिला ब्लोन तामाङले प्रतियोगिता मार्फत युवतीहरूमा आत्मविश्वास, नेतृत्व र सामाजिक चेतना विकास गराउने लक्ष्य रहेको भन्दै तामाङ समुदायका छोरी–चेलीलाई आफ्नो मौलिकता चिन्न र समाजमा सक्षम रूपमा प्रस्तुत हुन उर्जा मिल्ने बताईन ।
तालिम संयोजक तथा रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय मल्लले तालिमलाई केवल प्रतियोगिताको तयारीमा सीमित नराखी जीवन उपयोगी सीप, बोल्ने कला र सांस्कृतिक ज्ञानमा केन्द्रित गरिएको जानकारी दिए ।

कार्यक्रममा नेपाल जेसिसका पूर्व अध्यक्ष राजु कसी, नेपाल तामाङ घेदुङका पुर्व केन्द्रिय उपाध्यक्ष, नेपाल तामाङ घेदुङका गण्डकी उपाध्यक्ष रामबहादुर ब्लोन शिबु, डान्स कोरियोग्राफर राम लामा, कोरियोग्राफर जिता लामा लगायतले बोेलेका थिए । कार्यक्रमको सञ्चालन सुनिता लामाले गरेकी थिईन ।
मिस तामाङ पोखरामा १२ जना तामाङ समुदायका युवतीहरु सहभागी छन् । जसमा रोज स्याङदेन लामा, कविना घिसिङ तामाङ, सोनी पाख्रिन तामाङ, माया दुम्जन तामाङ, खुसी मोक्तान तामाङ, सुप्रिया गोले तामाङ, सलिना स्याङदेन तामाङ, सोममाया मोक्तान तामाङ, एन्जेल लामा, सुमित्रा तामाङ, खुसी लामा, प्रभा तामाङ रहेका छन् ।
प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित रु १ लाख नगद तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछिन । फस्ट रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजार पुरस्कार समेत प्राप्त गर्ने आयोजकले जनाएको छ ।



















