Play

नेपाली काँग्रेस गण्डकीले राय सहित आकांक्षीहरुको नाम केन्द्रमा पठाउने, विभिन्न तहमा केन्द्रको परिपत्रको बेवास्ता

प्रत्यक्षतर्फ १६३ जना, समानुपातिक तर्फ १३७ जना र राष्ट्रिय सभा सदस्यको लागि ४८ जनाको नाम प्रदेशमा प्राप्त


गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेस गण्डकी प्रदेश समितिले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उमेदवार बन्न इछ्युक बनेर बिभिन्न जिल्लाबाट प्राप्त नामहरु राय सहित केन्द्रमा पठाउने निर्णय गरेको छ । नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको अध्यक्षतामा पार्टी कार्यालयमा आइतबार बसेको प्रदेश समितिको बैठकले उक्त निर्णय गरेको हो ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये ९ जिल्लाबाट उम्मेदवारको नामावली सिफारिस गरेर प्रदेशमा आएको र उक्त सिफारिसलाई काँटछाँट नगरी सबै नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरिएको प्रदेश समितिका महामन्त्री विष्णुप्रसाद लामिछानेले गुरुकुल खबरलाई जानकारी दिए।गण्डकीका ११ जिल्लामध्ये मनाङ र मुस्ताङबाट प्रत्यक्ष तर्फका उम्मेदवारको सूची नपठाई समानुपातिक सूची मात्र प्रदेशमा पठाएका छन् । आइतबार पोखरामा सम्पन्न प्रदेश कार्यसमिति बैठकले आबश्यक रायसहित जिल्ला र क्षेत्रबाट प्राप्त सबैको नाम केन्द्रमा पठाउने निर्णय गरेको उनले स्पष्ट पारे।

प्रत्यक्ष तर्फ १६३ जना, समानुपातिक तर्फ १३७ जना र राष्ट्रिय सभा सदस्यको लागि ४८ जनाको नाम 

गण्डकी प्रदेशका ११ जिल्ला मध्ये ९ जिल्लाका १६ निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ १ सय ६३ जनाको नाम सिफारिस भएर प्रदेशमा आइपुगेको छ । मनाङ र मुस्ताङको भने नाम सिफारिस भएको छैन । दुवै जिल्लाले केन्द्रमा नाम पठाउने जानकारी प्रदेश समितिलाई गराएका छन् । सबैभन्दा धेरै क्षेत्र रहेको कास्कीका तिन वटा क्षेत्रमध्ये १ नम्बरबाट १२ जना, २ बाट १२ जना र ३ बाट पनि १२ जनाको नाम सिफारिस भएको छ ।

गोरखाको क्षेत्र नम्बर १ बाट ११ जना, २ बाट ७ जना, तनहुँको १ बाट १० जना र २ बाट ७ जनाको नाम प्रदेशले केन्द्रमा पठाएको छ।स्याङ्जा बाट १ नम्बरमा ११ जना, २ मा १२ जना, नवलपुरको क्षेत्र नम्बर १ मा १३ जना, २ मा ४ जना, बागलुङको क्षेत्र नम्बर १ मा ८ जना, २ मा १० जनाको नाम सिफारिस भएको छ । यस्तै, पर्वतबाट २१ जना, म्याग्दीबाट २ जना र लमजुङबाट ११ जनाको नाम सिफारिस भएको अर्का महामन्त्री किरण बाबु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार समानुपातिकतर्फ पनि १ सय ३७ जना सिफारिस भएका छन् । क्षेत्रबाट १ सय २१ जना र प्रजातन्त्र सेनानी संघबाट १६ जनाको नाम प्रदेशमा पठाइएको थियो । समानुपातिकमा गोरखा १ बाट १३ जना, २ बाट ८ जना, तनहुँ १ बाट १२ जना, २ बाट ३ जना, लमजुङबाट १२ जना, कास्की १ बाट ८ जना, २ बाट ४ जना, ३ बाट १० जनाको नाम सिफारिस भएको छ । बागलुङ १ बाट ७ जना, २ बाट ४ जना, पर्वतबाट १२ जना, म्याग्दीबाट ४ जना, नवलपुर १ बाट १० जना, २ बाट ४ जना, स्याङ्जा १ बाट ४ जना र २ बाट ६ जनाको नाम जिल्लाले प्रदेशमा पठाएको थियो ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पनि जिल्लाबाट आएकै नामलाई सर्वसम्मत रुपमा पठाइएको हो । बैठकमा निर्णय गर्नुअघि कार्यसमितिका पदाधिकारी र सदस्यहरूबाट सुझाव सङ्कलन गरिएको थियो । राष्ट्रियसभाका लागि गोरखाबाट ४ जना, तनहुँबाट ७ जना, लमजुङबाट ४ जना, कास्कीबाट ६ जना, बागलुङबाट ५ जना, पर्वतबाट १ जना, म्याग्दीबाट २ जना, नवलपुरबाट ६ जना र स्याङ्जाबाट १३ जनाले आकांक्षा देखाएका छन् ।

गण्डकी प्रदेशबाट प्रतिनिधित्व हुने दुुईजना (महिला र पुरुष) राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरूबाट ४८ जनाको आवेदन प्राप्त भएको र उम्मेदवारीका लागि क्षेत्र तथा जिल्लाहरूबाट आएका ति सबैको नाम पनि केन्द्रमा पठाउने निर्णय भएको नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला(मधु)ले गुरुकुल खबरलाई जानकारी दिए। बाँस्तोलाका अनुसार सम्बन्धित क्षेत्रबाट जिल्ला हुँदै आएको नाम काट्ने अधिकार विधानतः प्रदेशलाई नभएको कारण प्रदेशमा प्राप्त भएको औपचारिक सूची आवश्यक राय लेखेर केन्द्रमा पठाउन लागिएको हो ।

केन्द्रले पठाएको परिपत्रलाई बेवास्ता, सबै आकांक्षीको नाम केन्द्रमा पुग्ने 

नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिक र प्रत्यक्षसहित राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीको केन्द्रीय समितिले मापदण्ड नै तोकेर उम्मेदवार आकांक्षीको नाम सिफारिस गर्न परिपत्र गरेको थियो । तर, कुनै पनि जिल्ला वा क्षेत्रले मापदण्ड बमोजिम नाम सिफारिस नगरिकन तोकिएको भन्दा बढी सङ्ख्यामा नाम सिफारिस गरेर पठाएका छन् । यसले गर्दा केन्द्रको परिपत्रलाई क्षेत्र र जिल्लाले बेवास्ता गरेको देखिएको छ।

प्रतिनिधि सभाको प्रत्यक्षमा हरेक क्षेत्रबाट १ महिलासहित ३ जना, समानुपातिकमा पनि संवैधानिक समावेशी सिद्धान्त बमोजिम महिला सहित ३ जना र राष्ट्रियसभा सदस्यका लागि पनि महिला सहित ३ जनाको नाम मात्रै सिफारिस गर्न भनिएको थियो । तर कुनै पनि क्षेत्रले आकांक्षीको नाममा सहमतिको प्रयास नगरेको प्रदेशमा आएका नामहरु देख्दा स्पष्ट हुन्छ ।

विधानको व्यवस्था र केन्द्रको परिपत्र अनुसार नाम आउनुपर्ने भएपनि सबै क्षेत्रले परम्परागत हिसाबले सबै नाम जिल्ला हुँदै प्रदेशमा पठाएको छन  र  तल्लो तहमा कुनै कसरत नगरी मापदण्डलाई समेत नजरअन्दाज गरिएको छ । यसैलाई दृष्टिगत गरि प्रदेश समितिले मापदण्ड विपरीत सिफारिस भएका नाम भने हटाएर पठाउने निर्णय गरेको प्रबक्ता माधब बाँस्तोलाले जानकारी दिए ।

कार्यसमिति बैठकमा सहभागीहरूले चुनाव जित्नसक्ने व्यक्तिलाई मात्रै टिकट दिनुपर्ने माग राखेका थिए । ‘चुनाव जित्न सक्ने व्यक्तिलाई टिकट दिन रायसहित सिफारिस गरेको छ । पार्टीलाई बलियो बनाउने गरी नै सबैले सुझाव पेस गरेका थिए,’ सभापति शुक्रराज शर्माले भने, ‘जस्तो सिफारिस आएको छ, त्यो नाम प्रदेशले हटाउन सक्दैन । तर, उम्मेदवारको बारेमा राय दिएर केन्द्रमा नाम पठाइने प्रदेश सभापति शुक्रराज शर्माले बताए ।

सभापति शर्माले टिकट वितरण गर्दा न्यायको सिद्धान्तलाई ख्याल गर्नुपर्ने बताउंदै कसलाई उमेदवार बनाउंदा न्याय हुन्छ, त्यही व्यक्तिलाई टिकट दिनको लागि राय दिईने स्पष्ट पारे। हामीले राय दिएकै आधारमा टिकट दिए १८ वटै क्षेत्रमा चुनाब जितिन्छ भन्ने दाबि समेत सभापति शर्माले गरेका छन ।

प्रदेश समितिको बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य तथा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले क्षेत्रले नै केन्द्रीय परिपत्र अनुसार सिफारिस गर्न नसकेको भन्दै क्षेत्रिय समितिहरुको आलोचना गरे । यस किसिमको सिफारिसले गर्दा टिकट वितरणमा समस्या हुनसक्ने उनको भनाई थियो।

 

लामो समय चलेको आइतबारको बैठकमा सभापति शर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे, उपसभापति द्वय मेखलाल श्रेष्ठ, कोषाध्यक्ष बसन्त श्रेष्ठ, कोपिला रानाभाट, नेताहरु रघुनाथ पौडेल, महेन्द्रध्वज जिसी, लक्ष्मी आचार्य, सकुन्तला शर्मा, शान्तिरमण वाग्ले, ताराप्रसाद श्रेष्ठ, माया परियार, प्रदेश सदस्य पार्वती आचार्य, पूर्ण दाहाल. अजित क्षेत्री, ध्रुब पगेनी, ई. सिरस बाँस्तोला, बिष्णुमाया धिताल, मिना केसी, संज्ञा पोखरेल, जितबहादुर नेपाली, इन्द्र पौडेल, हरिदत्त पौडेल लगायत २५ जनाले आआफ्ना धारणा राखेको नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रचारप्रसार उपसमितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।

बैठकले गण्डकी प्रदेश समितिका महामन्त्री किरणबाबुु श्रेष्ठको संयोजकत्वमा गण्डकी प्रदेश अधिवेशन तयारी समिति पनि गठन गरेको बरालले बताए । समितिका सदस्यहरूमा विष्णुुप्रसाद लामिछाने, बसन्तकुुमार श्रेष्ठ, माधवप्रसाद बास्तोला, भेषबहादुर पौडेल, रामकृष्ण मल्ल, शकुन्तला शर्मा, अजित क्षेत्री, हरिदत्त पौडेल र प्रदेश समितिको कार्यालयका मुख्य सचिव पदम श्रेष्ठ रहेको प्रचार विभागका सचिब राजबहादुर गुरुंगले जानकारी दिए ।

कास्की क्षेत्र न. १ को सिफारिसलाई लिएर जिल्ला र क्षेत्रबीच बिबाद 

नेपाली काँग्रेस कास्की क्षेत्र न. १ को नाम सिफारिसलाई लिएर क्षेत्रिय समिति र कास्की जिल्ला समितिको बिचमा बढेको बिबाद यतिबेला सामाजिक संजालहरुमा पनि छताछुल्ल भएको छ। केन्द्रले तोकेको मितिमा क्षेत्रले नाम संकलन गरेको भएपनि जिल्लामा नपठाएको भन्दै बिबाद बढेको हो।

प्रदेश समितिले जिल्लासंग नाम माग्ने तर क्षेत्रले जिल्लामा नाम नपठाएपछि कास्की जिल्ला सभापति किशोरदत्त बरालले आँफुसहित पार्टीका सहमहामन्त्री जिबन परियार र केन्द्रीय सदस्य गुरु बराल समेत सहभागि भएको कार्यक्रममा संकलित नामावली भन्दै प्रदेश समितिसमक्ष लेखेर पठाएको बताएका छन। गण्डकी प्रदेश समितिको बैठकमा समेत कास्की क्षेत्र न. १ को बिबादको बिषयले प्रवेश पाएको थियो ।

क्षेत्रीय समितिले आकाङ्क्षीको नाम सङ्कलन गर्दा प्रत्यक्षमा १२ जना र समानुपातिकमा ८ जनाले नाम टिपाएको भएपनि त्यो नाम क्षेत्रले जिल्लालाई अझै पठाएको छैन । क्षेत्रले केन्द्रको परिपत्र अनुसार नै नाम पठाउने भन्दै समय बिताउंदै गएपछि जिल्लाले त्यहाँका आकांक्षीहरुको नाम सिधै पठाएको बुझिएको छ ।

जिल्ला सभापति बरालले प्रदेशलाई लेखेको पत्रमा कृष्णबहादुर केसीलाई पार्टीले ३ महिनाको लागि निलम्बनको कारबाही गरेको समेत उल्लेख गरिएको छ। तर, क्षेत्रिय समितिबाट जिल्लामा नाम नपठाएको अबस्थामा जिल्ला सभापति बरालले आँफुखुसि क्षेत्रको अधिकारलाई हनन हुने गरि प्रदेश समितिमा नाम पठाएको भन्दै क्षेत्रिय सभापति राजेन्द्रमणि लामिछानेले आइतबार नै गण्डकी प्रदेश समितिलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन । क्षेत्रिय सभापति लामिछाने र सचिब सरोज केसी सहितको टोलि प्रदेश कार्यालय पुगेर ध्यानाकर्षण पत्र बुझाएको थियो ।

क्षेत्रिय समितिले केन्द्रको परिपत्र अनुसार नै ३ जनाको नाम मात्रै पठाउने गरी आन्तरिक संवाद गरिरहेको जनाउंदै प्रक्रियाको लागि छलफलमा रहेका नामलाई जिल्ला सभापति बरालले सिपहरिस गरेको आरोप  क्षेत्रीय सभापति लामिछानेले लगाएका छन । ‘क्षेत्र नम्बर १ को कार्यसमिति मंसिर २१ गतेदेखि निरन्तर छलफलमा जुटि उम्मेदवार छनौटको प्रक्रियामा छ,’ उनले भने।

प्रदेश समितिका सभापति शुक्रराज शर्मालाई बुझाएको ध्यानाकर्षण पत्रमा क्षेत्र नं. १ ले नाम सिफारिस नगरी आफूभन्दा माथिल्लो निकायमा मनोमानी तरिकाले नाम प्रस्तुत गरिएको हुँदा खेद व्यक्त गर्दै जिल्ला सभापतिको सिफारिस अवैध भएको उल्लेख गरिएको छ। केन्द्रको परिपत्र अनुसार सहमति र सहकार्यको वातावरण बनाउन छलफल चलिरहेकै बेला जिल्ला सभापतिको यस्तो क्रियाकलापले पार्टीलाई अपूरणीय क्षति पुग्ने र कार्यकर्ताको मनोबल गिर्ने क्षेत्रीय समितिले चेतावनी दिएको छ ।

 

 

 

 

२९ मंसिर २०८२, सोमबार ११:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा