काठमाडौँ, नेपाल ट्रेड युनियन काँग्रेसको संरचनामा युवा श्रमिकको अनिवार्य र अर्थपूर्ण समावेशीकरण हुनुपर्ने माग गर्दै नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय युवा समितिले केन्द्रीय नेतृत्व समक्ष औपचारिक स्मरणपत्र पेस गरेको छ। नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय समितिमा पेस गरिएको स्मरणपत्रमा नेपाली श्रम बजारको बदलिँदो जनसांख्यिकीय संरचना, विश्वव्यापी श्रमिक आन्दोलनमा देखिएको जेनजी पुस्ताको प्रभाव, तथा संगठनभित्र युवाको न्यून सहभागिताले सिर्जना गरेको दीर्घकालीन जोखिमबारे गम्भीर ध्यानाकर्षण गराइएको छ।
स्मरणपत्रमा नेपालको श्रम शक्तिमा ३१ वर्ष मुनिका श्रमिकको हिस्सा ४० प्रतिशतभन्दा बढी र ४० वर्ष मुनिका श्रमिक ६० प्रतिशतभन्दा माथि रहेको उल्लेख छ। यस्तो अवस्थामा श्रमिक आन्दोलनको वैचारिक निरन्तरता, संगठनात्मक सुदृढीकरण र भविष्यको नेतृत्व विकासका लागि युवाको भूमिका अपरिहार्य भएको राष्ट्रिय युवा समितिले ठहर गरेको स्मरण पत्रमा जनाइएको छ।
युवा समितिले ट्रेड युनियन कांग्रेसको विधानमा उल्लेख गरिएको १० प्रतिशत युवा सहभागिता केवल औपचारिकतामा सीमित भएको जनाउँदै, यसले संगठनभित्र नेतृत्व हस्तान्तरणमा शून्यता, युवाबीच निराशा र विश्वासको खाडल सिर्जना गरेको स्पष्ट पार्दै समयानुकूल रूपान्तरण नगरे श्रमिक आन्दोलनको प्रासंगिकतामा ह्रास आउने चेतावनी स्मरणपत्र मार्फत दिईएको छ।
स्मरणपत्रमार्फत राष्ट्रिय युवा समितिले सबै तहमा ३५ वर्षमुनिका युवा श्रमिकको ४० प्रतिशत अनिवार्य सहभागिता सुनिश्चित गर्न माग गरेको छ। साथै नीति निर्माण, बजेट विनियोजन तथा प्रमुख निर्णय प्रक्रियामा युवालाई औपचारिक मतदान अधिकारसहित सहभागी गराउनुपर्ने माग अघि सारिएको छ।
त्यसैगरी, नेपाली कांग्रेस पार्टीको महाधिवेशनमा नेपाल ट्लारेड युनियन कांग्रेसलाई प्राप्त प्रतिनिधि कोटामा कम्तीमा ३० प्रतिशत युवा सहभागिता, उत्तरदायित्वपूर्ण पदमा युवालाई प्राथमिकता, पाँच वर्षे दीर्घकालीन युवा–मैत्री रणनीति, युवा केन्द्रित नीति अनुसन्धान इकाई तथा शीर्ष नेतृत्वसँग नियमित संवादका लागि ‘युवा परामर्श संयन्त्र’ गठन गर्नुपर्ने माग पनि स्मरणपत्रमा समावेश गरिएको ट्रेड युनियन कांग्रेस अन्तर्गतको राष्ट्रिय युवा समितिका अध्यक्ष दिपेन्द्र सुनारले गुरुकुल खबरलाई जानकारी दिए ।
नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय युवा समितिले प्रस्तुत मागहरूको इमान्दार कार्यान्वयनले संगठनलाई दीर्घकालीन रूपमा बलियो, समावेशी र परिणाममुखी बनाउने विश्वास व्यक्त गर्दै, यस स्मरणपत्रलाई भविष्यको गतिशील र युवा–मैत्री श्रमिक आन्दोलनतर्फको निर्णायक कदमको रूपमा जनाएको छ ।



















