काठमाडौँ, नेकपा एमालेले केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको छ । दशौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद समाप्त गर्ने निर्णय गरेको हो।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, विधान संशोधनसहित १९ जना पदाधिकारी बनाउने प्रस्ताव बन्दसत्रको हलमा प्रस्तुत गरिनेछ। गत भदौमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले पदाधिकारी संख्या घटाएर १५ जना बनाएको थियो।
दुई दिनअघि बसेको सचिवालय बैठकले पनि विधान संशोधन नगर्ने र भदौमै पारित विधान अनुसार नयाँ नेतृत्व चयन हुने निर्णय गरेको थियो।तर, आइतबार बसेको अन्तिम केन्द्रीय कमिटी बैठकले पदाधिकारी संख्या बढाउँदै विधान संशोधन गरेको हो। यसअनुसार अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना हुने गरी पदाधिकारी संख्या बन्दसत्रमा प्रस्तुत गरिनेछ।
त्यस्तै, पोलिटब्युरो सदस्यको एक तिहाइ स्थायी कमिटीमा रहने व्यवस्था तय गरिएको छ। पोलिटब्युरो ९९ सदस्यीय हुनेछ भने केन्द्रीय कमिटी २५१ सदस्यबाट बढाएर ३०१ सदस्यीय बनाइएको छ।
यसैबीच नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रको समय फेरि परिवर्तन गरिएको छ । भक्तपुर सल्लाघारीमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र अब भृकुटीमण्डपमा हुने भएको छ।
यसअघि बिहानै सुरु हुने भनिएको बन्दसत्र अब दिउँसो ३ बजे सुरु गरिने गरी समय सारिएको छ । केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बन्दसत्रको नयाँ समयको जानकारी दिएका हुन्।



















