पोखरा, नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले पोखरा हुँदै बाग्लुंग, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी संचालन गरेको तीन दिने पर्यटन प्रबर्द्दन कार्यक्रम सकिएको छ । आन्तरिक पर्यटन प्रबर्द्दन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा संघमा आवद्ध सदस्यसँगै पोखरामा कृयाशिल विभिन्न पर्यटन सम्बद्ध संस्थाका पदाधिकारी र सञ्चारकर्मी समेत सहभागी थिए । मङसिर २४ गते पोखराबाट ढोरपाटनसम्मको प्रबर्द्दनात्मक कार्यक्रममा टोलि निस्केको संघका गण्डकी प्रदेश अध्यक्ष दुुर्गादत्त दहालले जानकारी दिए ।
कार्यक्रमकै अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा बाग्लुङमा कास्की, बाग्लुुङ, म्याग्दी र पर्वतका यातायात सम्बद्ध व्यवसायी, चालक तथा सहचालकका लागि गरिएको अभिमुखीकरण तालिम यस क्षेत्रमा सुरक्षित एवम् गुुणस्तरीय यातायात सेवा सञ्चालनका लागि उपलब्धिपूर्ण बनेको उनले जानकारी दिए ।
यसैगरी बाग्लुुङ, बुर्तिवाङ र ढोरपाटन क्षेत्रका पर्यटन व्यवसायीसँग एक आपसमा पर्यटकीय साझेदारी बढाउने लगायतका विषयमा महत्वपूर्ण छलफलहरू भएको पनि उनले बताए । “पोखराबाट ढोरपाटनसम्म ठाउँ ठाउँमा बन्दै र स्तरोन्नति भैरहेका बाटोलाई चाँडो निर्माण सम्पन्न गर्नुुपर्ने देखिन्छ” दाहालले भने “बाटो व्यवस्थित हुनसकेमा पोखराबाट ठूलो संख्यामा पर्यटकहरूलाई ढोरपाटनसम्म पुर्याउन सकिन्छ ।”
पर्यटकीय सम्भावना बोकेका ढोरपाटन जस्ता स्थलहरूको पर्यटकीय विकासका लागि प्रवद्र्धन जरुरी रहेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका बरिष्ठ अधिकृत युवराज गुुरुङले बताए। ठाउँको प्रबर्द्दन संगै स्थानीय पर्यटन ब्यबसायिहरुको क्षमता अभिबृद्धि समेत हुनुपर्नेमा गुरुंगले जोड दिए ।
प्रबर्द्दन कार्यक्रमले पोखरा र ढोरपाटनको पर्यटकीय विकास र साझेदारीमा ठूलो आशा एवम् विश्वास जगाएको संघका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रविप्रसाद आचार्यले गुरुकुल खबरलाई जानकारी दिए । “कार्यक्रमसँगै पोखरा–ढोरपाटनको पर्यटन प्रबर्द्दन र पर्यटकीय साझेदारीका लागि महत्वपूर्ण उपलब्धि हासिल भएको हामीले महसुस गरेका छौं”, उनले भने, “पर्यटन सम्बद्ध सबै पक्षको एकतावद्ध प्रयाससँगै व्यवसायी बीचको समन्वय र साझेदारीबाट सबैले फाइदा लिन सकिन्छ ।”



















