पोखरा, पोखराको लेकसाइड क्षेत्रका रेस्टुरेन्ट ब्यबसायीहरुको संस्था रेबान पोखराले आगामी पुष १३ देखि आयोजना गरेको २७ औं पोखरा सडक महोत्सवको तयारी जारी छ। महोत्सबमा आन्तरिक र बाह्य पर्यटकहरुको उल्लेखनीय उपस्थिति रहने भएकोले सुरक्षा ब्यबस्थामा समेत चुनौती बढ्ने गरेको छ। महोत्सब अबधिमा सुरक्षा ब्यबस्था प्रभावकारी बनाउने लक्षका साथ रेबान पोखराले जिल्लास्थित बिभिन्न सुरक्षा निकायका प्रमुखहरुसंग हालै एक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले पोखरा सडक महोत्सवको गरिमा पोखराको पर्यटनसंग जोडिएकाले यसलाई सफल पार्न सम्पूर्ण पक्ष लाग्नुपर्नेमा जोड दिए । महोत्सवका विभिन्न पक्षहरुमध्ये सुरक्षाको पाटो महत्वपूर्ण भएको बताउँदै महोत्सव अबधिमात्र नभएर अन्य समयमा पनि सुरक्षा ब्यबस्था प्रभावकारी बनाउन सुरक्षा निकाय जिम्मेवार किसिमले सक्रिय रहने बताएको रेबानका महासचिब बिरेन्द्र शेरचनले गुरुकुल खबरलाई जानकारी दिए।
कार्यक्रममा सहभागी कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले २७ औं संस्करणसम्म आइपुग्दा महोत्सवमा देखिएको सुरक्षा चुनौतीबारे जिज्ञासा राख्नुको साथै महोत्सवमा विगतको जस्तै प्रशासनको तर्फबाट सुरक्षा ब्यबस्थापनमा सहयोग गरिने बताइन् । तर विगतको भन्दा यसपटकको परिस्थिती केहि फरक भएको बताउँदै उनले सुरक्षा व्यवस्थापन चुस्त राख्न कुनै कसर बाँकि नराख्ने र त्यसका लागि महोत्सब आयोजक सहित ब्यबसायीहरुको समेत सहयोगको अपेक्षा गरिन ।

कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल र शिव लम्साल, नेपाली सेना कृष्ण दल गण फुलबारी व्यारेकका प्रमुख सेनानी राजेन्द्र पुडासैनी, सशस्त्र प्रहरी बल कालीका गणका सशस्त्र प्रहरी उपरिक्षक सुर्यप्रसाद तिमिल्सीना, राष्ट्रिय अनुसन्धान विभाग कास्कीका उपअनुसन्धान निर्देशक मोहनबहादुर कुँवर, वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरिक्षक नमराज भट्टराई लगायतले महोत्सवमा सुरक्षा प्रदान गर्ने बिषयमा स्थानीय सुरक्षा निकायले आबश्यक तयारी गर्ने जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रममा सडक महोत्सव सुरक्षा समिति संयोजक नरेश भट्टराईले महोत्सव व्यवस्थित पार्न आयोजकको अवलम्बन गरिने रणनीतिका बारेमा प्रकास पारे । लाखौं अवलोकनकर्ता आउने सडक महोत्सवमा सुरक्षा चुनौती निकै महत्वपूर्ण भएको उनले बताए । महोत्सव अवधिभर लेकसाइडका बाहिरी तथा भित्री सडकको प्रयोग र ट्राफिक ब्यबस्थापन बारेमा पनि उनले जानकारी गराए।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी नविन कार्कीले महोत्सव सुरक्षामा आफु यसअघि पनि खटेको अनुभव सुनाउँदै फायर फाइटिङ, ट्राफिक व्यवस्थापन तथा भिडभाडमा हुन सक्ने चोरीका घटनामा चनाखो हुनुपर्नेमा जोड दिए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणीराज लामिछानेले बोर्डले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा महोत्सवको प्रचार प्रसारमा सहयोग गर्ने जनाए ।
रेवान पोखराका पुर्व अध्यक्ष गोपीबहादुर भट्टराईले सरकारी स्तरबाट पनि महोत्सवको अनुगमन गर्दै गलत गर्नेलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरे ।
शितल सेक्युरिटी प्रालिका लोकेन्द्र अर्यालले निजी क्षेत्रबाट विगतमा भएका सुरक्षा व्यवस्थापनका उपायबारे अवगत गराउँदै सुरक्षा निकायसंगको सहकार्यमा आयोजकले सुरक्षा ब्यबस्थापन गर्नुको साथै स्वयम्सेवक परिचालन गर्ने बताए ।
रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले महोत्सवमा कुनैपनि अप्रिय घटना घटन नदिन सबै सुरक्षा निकायसंग समन्वय गरिने बताए । उनले बैठकमा उठेको बिभिन्न बिषयबस्तुलाई सम्बोधन गर्दै महोत्सवलाई प्रभावकारी ढंगले सम्पन्न गर्ने अध्यक्ष पौडेलको भनाई थियो ।
कार्यक्रममा रेवान पोखराका प्रथम उपाध्यक्ष तथा महोत्सव संयोजक बसन्त गौतमले स्वागत मन्तव्य राख्दै महोत्सवका आकर्षणबारे जानकारी दिए । महासचिव बीरेन्द्र शेरचनले सञ्चालन गरेको कार्यक्रममा महोत्सवका सह–संयोजक सुनिल भट्टराई, सुमन भट्टराई लगायतले अन्तरक्रिया कार्यक्रममा आआफ्नो भनाई राखेका थिए ।



















