- प्रकाश डोटेल / स्याङ्जा
जेनजी आन्दोलनको पृष्ठभूमिमा बनेको सरकारले आउँदो फागुन २१ मा गर्ने भनिएको निर्वाचनका लागि नेपाली काँग्रेसले जिल्ला–जिल्लाबाट आकांक्षी उम्मेद्वारको नामावली संकलन र सिफारिस प्रक्रिया शुरु गरेको छ । सोहि सिफारिसको प्रक्रिया अन्तर्गत प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जाबाट आकांक्षीहरुले आफ्नो नाम दर्ता गरेसँगै उनीहरुको नामावली काँग्रेसको केन्द्रीय समितिमा सिफारिस सहित पठाइएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं –१ मा प्रत्यक्षतर्फ ११ र समानुपातिक निर्वाचन प्रणलीमा ४ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नं –२ बाट प्रत्यक्षतर्फ १२ जना र समानुपातिकमा ६ जनाको नाम सिफारिस भएको काँग्रेस स्याङ्जाले जनाएको छ । राष्ट्रिय सभातर्फ ३ महिला सहित १३ जना आकांक्षीको नाम सिफारिस भएको छ । प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभामा गरी ४६ नेताको नाम सिफारिस भएको छ ।
प्रतिनिधिसभा क्षेत्र नं–१ स्याङ्जामा प्रत्यक्षतर्फ उम्मेद्वार बन्ने विघटित प्रतिनिधिसभाका सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराजु गुरुङ्, नेपाली काँग्रेस स्याङ्जाका सभापति राजु थापा, मुक्तिनाथ विकास बैंकका पूर्व अध्यक्ष भरतराज ढकाल, नेपाली काँग्रेस गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठ, महासमिति सदस्यहरु गोविन्दबहादुर रानाभाट, अजित क्षेत्री, प्रेमराज पौडेल, ईन्द्रबहादुर रिजाल, बुद्धिबहादुर राना, खुमाप्रसाद अर्यालले प्रत्यक्ष चुनाव लड्ने आकांक्षा सहित उम्मेद्वारमा नामावली दर्ता गरेका छन् । १० जना पुरुषहरुले प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदुवार बन्ने आकांक्षा देखाउँदा एकमात्रै महिला उम्मेद्वारका रुपमास्याङ्जा काँग्रेसका महाधिवेशन प्रतिनिधि बन्दना लम्सालको नाम दर्ता र सिफारिस भएको छ ।
प्रतिनिधिसभा क्षेत्र नं.–२ का स्थायी बासिन्दा भएर पनि क्षेत्र नं.–१ बाट सिफारिसमा पर्दै आएका काँग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङ् समानुपातिक निर्वाचन प्रणालीबाट पटक–पटक सांसद भएका व्यक्ति हुन् । पछिल्ला २० वर्ष सत्ता राजनीतिको फेरोमा बिताएका काँग्रेस नेता गुरुङ् पछिल्लो समय निक्कै विवादमा परेका पात्र हुन् । यस अघिको प्रतिनिधिसभा निर्वाचन–२०७९ मा क्षेत्र नं.–२ को प्रत्यक्षतर्फ नेकपा एमालेका सचिव पद्मा अर्यालले २५ हजार ८३९ मत प्राप्त गर्दा गुरुङले ३१ हजार ४६६ मत प्राप्त गर्दै ५ हजार ६२७ मतान्तरले विजयी भएका गुरुङ् मन्त्री बनेसँगै सहकारी मामलामा विवादमा फसेका छन्।
सहकारी विवादमा फसेका पूर्वमन्त्री गुरुङ् श्रीमती ज्योति गुरुङ्सँगको सम्बन्ध बिच्छेद नक्कली हो कि सक्कली भन्ने सानो विवादले चर्को रुप लिएका नेतामा पर्छन् । यद्यपी करिब ३ महिनअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले गुरुङ् सहकारी ठगिमा संलग्न नरहेकाले अनुसन्धान गरिरहन नपर्ने भन्दै छुटकारा दिर्दैमुद्दा दायर गरेको छैन् ।प्रहरीले अनुसन्धानका दायरामा नराख्ने भनेसँगै काँग्रेस नेता गुरुङ्ले सहकारी मुद्दाबाट हाललाई उन्मुक्ति पाएका छन् ।
२०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा काँग्रेस जस्तो ऐतिहासिक र पुरानो पार्टीका तर्फबाट टिकट ल्याएर एमालेका नारायण मरासिनीलाई पराजित गरेका राजु थापा युवाबीच लोकप्रिय थिए । २०७४ सालको बाम गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका मरासिनीले ३९ हजार २२६ मत ल्याउँदा काँग्रेस युवा नेता थापाले २८ हजार ६६२ मत ल्याएर १० हजार ५६४ ठूलो मतान्तरले पराजित भएका थिए । काँग्रेस नेता थापाले २०७९ सालको निर्वाचनमा एमालेबाट २८ हजार ७४४ मत ल्याएका उनै मरासिनीलाई ३१ हजार ९९९ मत ल्याएर ३ हजार २५५ मतान्तरले हराएर प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न सफल भएका थिए ।तीन पटक चुनाव लडेका थापाले चौथो पटक प्रत्यक्षतर्फ उम्मेद्वार बन्ने आकांक्षा देखाएका छन् ।
उम्मेद्वारको आकांक्षीमा देखिएका अर्का लोकप्रिय नेता हुन, भरतराज ढकाल ।लामो समय सहकारी, बैंकिङ् र संस्थागत संरचना तयार गरेर आएको नेपालकै पहिलो कृषि कम्पनी मुक्तिनाथ कृषि कम्पनीका प्रबन्धक संचालक हुन् ढकाल । वित्तीय क्षेत्रमा सफलता हात पार्दै हजारौंलाई रोजगारी सृजना गरेका ढकाल काँग्रेसका तर्फबाट पहिलो पटक प्रत्यक्षतर्फ आकांक्षा देखाएका नेताका रुपमा लिईन्छ । मानव अधिकार तथा शान्ति समाज स्याङ्जाका संस्थापक सभापति र जिल्ला बाल कल्याण समितिको पूर्वअध्यक्ष र विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल ढकाल आम नागरिकाबीच लोकप्रियतासँगै शालिन नेतामा पर्छन् ।
उता, २०४८ देखि २०७२ सम्म झण्डै २५ वर्ष सिंहदरबारको दैलो आसपास राजनीतिको केन्द्रमै हालिमुहाली चलाएका नेतामा गनिन्छन् काँग्रेस नेता मेखलाल श्रेष्ठ । उनी लामो समय पूर्वमन्त्री गोपालमान श्रेष्ठको सचिवालय प्रमुख भएर बसे । २०७२ सालमा संविधान जारी भएसँगै बनेको गण्डकी प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणलीबाट सांसद बनेका श्रेष्ठ छोटो समय सामाजिक विकास मन्त्री बन्न सफल भएका थिए । केन्द्र राजनीतिको भुक्तभोगि र केन्द्रीय तिकडम सिकेर प्रदेश झरेका श्रेष्ठ जिल्लामा चतुर राजनीतिक खेलाडीको रुपामा टिकेका छन् । प्रदेश सांसद बनेपछि अनुभवका आधारमा संघीय सांसद बन्ने उनले आकांक्षा देखाएका हुन् ।
स्याङ्जा काँग्रेसको आन्तरिक निर्वाचनमा सधैजसो बिजेता बन्ने नेताका रुपमा चिनिदै आएका गोविन्द बहादुर रानाभाट काँग्रेसका तर्फबाट लाभको पदमा नपुगेका नेताका रुपामा लिईन्छ । विगतका निर्वाचनमा उनले धेरै पटक प्रत्यक्षतर्फ चुनाव लड्ने आकांक्षा देखाएपनि टिकट पाउनबाट बन्चित भए । काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेद्वार बिमलेन्द्र निधिको प्यानलबाट रानाभाटले काँग्रेस केन्द्रीय सदस्यमा ४ सय जति मत प्राप्त गरेका थिए ।
विद्यार्थी राजनीतिबाट काँग्रेस राजनीतिमा प्रबेश गरेका अजित क्षेत्री युवा मतदाताका बीच लोकप्रिय छन् । नेपाली काँग्रेस गण्डकी प्रदेशमा युवा नेताका रुपमा परिचित क्षेत्री हरिनाश गाउँपालिकाको अध्यक्ष बन्ने सुरसारमा रहदा रहदै जेनजी आन्दोलनपछि प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको निर्वाचनमा आकर्षित भएका हुन् ।
यता, नेपाल विद्यार्थी संघको केन्द्रीय उपसभापति हुँदै माफिया क्षेत्रका रुपमा परिचित यातायात क्षेत्रमा लगानी गर्दै प्रबेश गरेका काँग्रेस नेता हुन् प्रेमराज पौडेल । माफिया क्षेत्रमा लगानी गरेका पौडेल कहिले गोपालमान श्रेष्ठको दैलो कुरेर महाधिवेशन जित्दै आएका थिए भने कहिले काँग्रेसका युवा नेता राजु थापाको लोकप्रियताको बुइ चढेर महासमिति सदस्य बन्ने गरेका हुन् । २०७९ सालको स्थानीय तहको निर्वाचनमा आँधीखोला गाउँपालिकामा नेकपा एमालेका विश्व पौडेलले ५ हजार १७७ मत ल्याउँदा ४ हजार ३५१ मत ल्याए ८२६ मतले पराजित भएका काँग्रेस नेता पौडेल संघीय सांसद बन्ने ध्याउन्नमाजुटेका छन् ।
त्यसैबीच, स्याङ्जामा नेपाल विद्यार्थी संघको जिल्ला तहमा काम गर्दागर्दै पत्रकारिता पेशामा संलग्न नेपालबहस डटकमका प्रधान सम्पादक ईन्द्र बहादुर रिजाल पनि संसदको उमेदवार बन्ने दौडमा छन । नेपाली काँग्रेस केन्द्रीय प्रचार विभागका सदस्य समेत रहेका स्याङ्जाबाट महाधिवेशन प्रतिनिधित्व गर्दै आएका पत्रकार रिजाल काँग्रेसका नेता डा.शेखर कोईराला निकट छन् ।काँग्रेस नेता डा. कोईरालाकै निकट भएपछि उनीपनि प्रत्यक्षतर्फ कै उम्मेद्वार बन्ने आकांक्षी बनेका छन् ।
स्वर्गिय कमलप्रसाद पंगेनी काँग्रेस स्याङ्जाको सभापति हुँदा तत्कालिन समयमा उदाएका नेता बुद्धि बहादुरा राना ‘कुमार’ले झण्डै ७ वर्ष स्याङ्जा काँग्रेसको सचिव चलाए । पंगेनीको स्वर्गारोहण भएपछि करिब २ वर्ष नेपाली काँग्रेस स्याङ्जाको कार्यबहाक सभापति चलाएका कुमार २०७८ सालमा भएको काँग्रेसको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित बन्न पुगे । पार्टीको आन्तरिक राजनीतिमा पराजयको घाउ बोकेका कुमार त्यो घाउ निको नहुँदै २०७९ सालमा भएको गण्डकी प्रदेश सांसद निर्वाचनमा एमालेबाट सुधिरकुमार पौडेलले १७ हजार ४४१ मत ल्याउँदा १७ हजार ४३५ मतए ल्याएर जम्मा ६ मतको अन्तरले पराजित बन्न पुगेका थिए ।
आकांक्षी मध्येका अर्का नेता हुन नेपाली काँग्रेसका केन्द्रीय नेतासँग नजिकको हिमचिम गर्दैबिलासी दिनचर्या बिताउने नेपालमै ठूला मेडिकल कलेज र अस्पताल संचालन गर्दै आएका खुमा प्रसाद अर्याल । काँग्रेसको पछिल्ला हरेक केन्द्रीय महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि हुने निर्वाचनमा उम्मेद्वार बन्ने तर कहिल्यै जित चाख्न नपाएका अर्यालले संघीय सांसदको प्रत्यक्षतर्फको उम्मेद्वार बन्ने आकांक्षी देखाएका छन् ।
नेपाल महिला संघको जिल्ला सचिवका रुपमा लामो काम गर्दै आएकी बन्दना लम्साल स्याङ्जाबाट काँग्रेसको बहालवाला महाधिवेशन प्रतिनिधि हुन् ।नेपाल शिक्षक संघमा काम गरेकी लम्साल शिक्षा पेशाबाट हालसालै निबृत्त भएकी हुन् । स्याङ्जा क्षेत्र नं.–१ बाट संघीय सांसदको उम्मेद्वार बन्ने आकांक्षा राख्ने एकमात्रै महिला पनि हुन् ।
प्रत्यक्षतर्फ ११ जनाले उम्मेद्वारको आकांक्षा देखाउँदा स्याङ्जाबाट ४ जनाले समानुपातिक तर्फको निर्वाचन प्रणालीमा आफ्नो नाम दर्ता गरेका छन् । यसरी समानुपातिक तर्फको उम्मेद्वारमा नाम दर्ता गर्नेमा महासमिति सदस्य तुलसी गिरी, महिला नेतृ धनकुमारी थापा, व्यवसायी नारायण ढकाल र दिलिपाश्री अधिकारी रहेका छन् ।
उता स्याङ्जा जिल्लाकै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.–२ बाट नेपाली काँग्रेसको सबै भन्दा शक्तिशालि विभाग मध्येको संगठन विभागका पूर्व संयोजक गोपालमान श्रेष्ठ, केन्द्रिय उपसभापति धनराज गुरुङ्, गण्डकी प्रदेशका पूर्वसदस्य भागवत प्रकाश मल्ल, काँग्रेस स्याङ्जाका उपसभापति केदार काफ्ले, मोहनप्रसाद पाण्डे, महासमिति सदस्य विष्णुप्रसाद पौडेल, श्यामप्रसाद बश्याल, युवराज पाण्डे, खुमाप्रसाद अर्याल, धुर्व शर्मा पंगेनी, शेषकान्त पुरीको नाम क्षेत्रिय समिति मार्फत १२ जना आकांक्षीको नाम जिल्ला हुँदै केन्द्रमा सिफारिस भएको काँग्रेस स्याङ्जाका सचिव दामोदर लम्सालले जानकारी दिए ।प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्षेत्र नं.–२ बाट समेत माया रानाको महिलाका तर्फबाट आंकाक्षीका रुपमा एकल उम्मेद्वारी सिफारिस भएको सचिव लम्सालले बताए ।
२०४८ सालदेखि पटक–पटक सत्ता राजनीतिको रसपान गरेका गोपालमान श्रेष्ठले जिल्लामा क्षेत्र परिवर्तन गर्दै चुनाव लडेर हार र जितको दुबै स्वाद चाखि सकेका छन् । पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएका श्रेष्ठ उपचार गरेर निको हुने क्रममा छन् । गोपालमान श्रेष्ठले अब चुनाव लड्ने आकांक्षा देखाउनुको सट्टा अभिभावकिय भूमिका निर्वाह गर्नुपर्नेमा जिल्लास्थित काँग्रेसका अधिकांश कार्यकर्ताले सुझाव दिन्छन् ।
२०७४ को आमनिर्वाचनमा देशका दुई ठूला कम्यूनिष्ट पार्टी एमाले र माओवादीले बामगठबन्धन बनाएर चुनावी मैदानमा आउँदा समेत प्रदेश संसदमा सानदार जित हात परेका भागवत प्रकाश मल्ल स्याङ्जा क्षेत्र नं.–२ को प्रतिनिधिसभा सदस्य निर्वाचनका स्वभाविक आकांक्षी हुन् । दल निकटका कार्यकर्ता, आमनागरिक र विपक्षी दलका कार्यकर्ताबीच पनि लोकप्रियता हासिल गरेका मल्ल आकांक्षी मात्रै नभएर प्रत्यक्षतर्फको उम्मेद्वार बन्नेमा अधिकांश कार्यकर्ता विश्वस्त छन् ।
यसैबीच वालिङ नगरपालिका वडा नं.–१ को वडाध्यक्ष बनेर नागरिकको सेवामा खटिएका नेता केदार काफ्ले काँग्रेसको १४ औं महाधिवेशनमा काँग्रेस स्याङ्जाको उपसभापतिमा निर्वाचित भएका हुन् । जिल्लाको कार्यबहाक सभापतिको जिम्मेवारी पाउँदा समेत पदीय भूमिका अनुसार सांगठानिक गतिविधि प्रस्तुत गर्न नसकेको सकारात्मक र शुभचिन्तकका तर्फबाट नेता काफ्लेप्रति काँग्रेसका कार्यकर्ता चिन्ता जनाउँछन् । वालिङ नगरपालिकाको नगर प्रमुख बन्ने राण्नीति अख्तियार गर्दै आएका काँग्रेस नेता काफ्ले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेद्वारको आकांक्षी बनेका छन् ।
स्याङ्जा साविक क्षेत्र नं.–३ को क्षेत्रिय सभापति हुँदै प्रतिनिधिसभामा पटक–पटक प्रतिनिधित्व गर्ने नेतामा पर्छन् मोहनप्रसाद पाण्डे । धेरै पटक अवसर पाउने नेताका रुपमा परिचित पाण्डे संघीयतासँगै बनेको स्याङ्जा क्षेत्र नं.–२ मा नियमित संगठनमा खट्दै आएका छन् । अवसर पाएर पनि अपेक्षित विकास निर्माणका काम गर्न नसकेका पाण्डे उम्मेद्वारको आकांक्षी बनेका छन् ।
उता २०७४ सालमा भएको आमनिर्वाचनकै क्रममा प्रतिनिधिसभा क्षेत्र नं.–२ को प्रदेशसभा ‘क’को सदस्य उम्मेद्वार बनेर पराजित भएका विष्णुप्रसाद पौडेल काँग्रेसको आन्तरिक राजनीतिमा लोकप्रिय नेतामा गनिन्छन् ।विद्यार्थी राजनीतिबाट माथि उठेका युवा नेता पौडेल नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा प्राप्त मतका आधारमा महासमिति बनेका थिए । स्वर्गिय खगेन्द्रराज रेग्मीलाई तत्कालिन समयमा आफ्नो महासमिति सदस्य पद हस्तान्तरण गरेका पौडेल प्रतिनिधिसभा सदस्य उम्मेद्वारका आकांक्षी बनेका छन् ।
नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा स्याङ्जा क्षेत्र नं.–२ बाट महासमिति सदस्य बन्न सफल श्यामप्रसाद बश्याल१४ औंमहाधिवेशनयता नेपाली काँग्रेस गल्याङ् नगरसमितिको सभापति छन् । गल्याङ नगरपालिकाको नगर प्रमुख बन्ने गरी संगठनमा खटिएका बश्याल गरिमा विकास बैंकको ४ वर्षे एक कार्यकाल अध्यक्ष चलाएका काँग्रेस नेता हुन् । आफ्नो आकांक्षालाई दरिलो बनाउन प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बन्ने आकांक्षा देखाएको उनीनिकट कार्यकर्ताको बुझाई छ ।
विद्यार्थी राजनीति हुँदै काँग्रेसको राजनीतिमा सक्रिय बनेका युवा नेता युवराज पाण्डे नेपाली काँग्रेसका महामन्त्री तथा आउँदो महाधिवेशनका सभापति पदका प्रस्तावित उम्मेद्वार गगनकुमार थापाको सचिवालयमा सक्रिय छन् । काँग्रेस स्याङ्जाको राजनीतिमा धेरै नदेखिने पाण्डे काठमाडौं केन्द्रित केन्द्रीय राजनीतिमा सक्रिय पात्र हुन् । उनले पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेद्वार बन्ने आकांक्षा देखाएका छन् ।
लामो समय शिक्षण पेशामा आबद्ध रहेर काँग्रेस राजनीतिमा सक्रिय रहेका धुर्व शर्मा पंगेनी स्थानीय तह निर्वाचन–२०७४ मा गल्याङ् नगरपालिका वडा नं.–१० को वडाध्यक्ष बनेका थिए । नेपाली काँग्रेसको शुभेक्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसमा समेत काम गरेका नेता शर्मा लोकप्रियताको तुलनामा शालिन र भद्र मानिन्छन् । उनले पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेद्वार बन्ने आकांक्षा देखाउँदा दुःखी हुनेको तुलनामा खुसी व्यक्त गर्ने कार्यकर्ता धेरै छन् ।
हाहा र हुहु गर्दैमा पैसाका भरमा काँग्रेस राजनीतिमा स्थापित बन्न सकिने दाउ कुरेर बसेका नेताका रुपमा चिनिन्छ शेषकान्त ‘एसके’ पुरीलाई । साविकको सेखाम गाविस र हालको चापाकोट नगरपालिका वडा नं.–४ का स्थायी बासिन्दा काँग्रेसका युवा नेताका रुपमा लिईने पुरी काठमाडौंमा म्यानपावर व्यवसाय गर्दै आएका छन् । चुनावको मौकामा चापाकोटको नगर प्रमुख (मेयर) पदका आकांक्षी बन्ने गरेका उनी २०७९ सालको आम निर्वाचनमा स्याङ्जा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.–२ को प्रदेशसभा ‘ख’ मा समेत आकांक्षी थिए ।काँग्रेसको राजनीतिमा जता उम्मेद्वार बन्न पाईन्छ त्यतै आकांक्षा देखाउने नेताका रुपमा चिनिने पुरीले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेद्वारको आकांक्षी बनेको काँग्रेस स्याङ्जाले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जा क्षेत्र नं.–२ बाट उम्मेद्वार बन्न महिलामध्येबाट एकल आकांक्षी हुन् माया राना । २०७९ को स्थानीय तह निर्वाचनमा स्याङ्जाकै कालीगण्डकी गाउँपालिकाको अध्यक्ष पदमा प्रत्यासी बनेकी राना एक हजार ६४५ मतान्तरले गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापासँग पराजित भएकी थिईन् । रानाले ५ हजार ५५ मत पाउँदा थापाले ६ हजार ७ सय मत पाएर विजयी बनेका थिए ।
केन्द्रीय समितिमा सिफारिस भएका अधिकांश आकांक्षीहरु स्याङ्जा काँग्रेसका नेताहरुमध्ये पुरानै अनुहार हुन् । कतिपय नेताहरु भने वडा तहदेखि पालिका प्रमुखको निर्वाचनमा पनि उम्मेद्वार आकांक्षा देखाउने, त्यहाँ टिकट नपाउने हो की ? भन्ने डर र झोकमा संघीय सांसद बन्ने आकांक्षीको रुपमा उम्मेद्वारको नामावलीमा समेत नाम दर्ता गरेका छन् ।
उता स्याङ्जा क्षेत्र नं.–२ बाट समानुपातिक सदस्य निर्वाचनका लागि महिला तर्फको आकांक्षीमा भुमा शर्मा पाण्डे, जनजाति महिलामा विमला श्रेष्ठ, देवका राना, दलित महिलामा तुलसी नेपाली, दलिततर्फ लिलबहादुर रनपाल र अल्पसंख्यकतर्फ सूर्य माझीसहित ६ जनाको नाम दर्तासँगै सिफारिस भएको काँग्रेस स्याङ्जाका सह–सचिव धु्रवबन्धु पौडेलले जानकारी दिए । आकांक्षीले दस्तुरसहित आफ्नो नाम दर्ता गरेपछि केन्द्रिय निर्देशन बमोजिम नेपाली काँग्रेस स्याङ्जाले गण्डकी प्रदेश समितिलाई बोधार्थसहित केन्द्रिय कार्यसमितिमा सिफारिस गरी पठाएको पौडेलले जनाए ।
यसैबीच राष्ट्रिय सभामा रिक्त हुने केहि सदस्य पदमाआकांक्षी उम्मद्वारीको रुपमा खुल्लातर्फ स्याङ्जाबाट गोपालमान श्रेष्ठ, शंकरप्रसाद पाण्डे, तारापति सुबेदी, विश्वप्रेम अधिकारी, शालिकराम न्यौपाने, कमलबहादुर खड्का, शेरबहादुर राना, जीवलाल काफ्ले, श्यामप्रसाद अर्याल र जलेश्वर पाण्डेको नाम सिफारिस भएको छ भने महिलातर्फ प्रेमकुमारी रेग्मी, अम्बिका पौडेल र मञ्जु पनेरु समेत १३ जनाको नाम आकांक्षी उम्मेद्वारका रुपमा सिफारिस भएको काँग्रेस स्याङ्जा जनाएको छ ।



















