पोखरा, पछिल्लो समय नेपालमा प्रविधिको दुरुपयोगले अपराध बढाएको भएपनि त्यसको उपयोगमा संकुचन ल्याउन नहुने कुरामा सरोकारवालाले जोड दिएका छन् । उनीहरुले प्रविधिले समाज र चेतनालाई उन्नत बनाउने, दैनिक जीवन सहज बनाउने तथा नयाँ अवसरको ढोका खोल्ने सत्यलाई बिर्सन नहुनेमा सहमति जनाए । यद्यपि,नेपालको परिप्रेक्ष्यमा प्रविधिलाई ‘बाँदरको हातको नरिबल’ बनाइएको र यो हिंसाको डरलाग्दो हतियार बन्दै गएकोमा विज्ञहरुले चिन्ता जताए ।
‘राष्ट्रको जागरण, प्रविधि र समाजको पुस्तान्तरण’ भन्ने विषयमा बोल्दै नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.दीपेन्द्रबहादुर क्षेत्री, सामाजिक अभियन्ता विना सिलवाल, उपप्राध्यापक विष्णुहरि पौडेल र क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले यस्तो धारणा राखेका हुन ।
पोखराको नयाँबजारमा जारी नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटक अन्तर्गत शुक्रबार भएको अन्तरसंवाद कार्यक्रममा बोल्दै बक्ताहरुले त्यस्तो बताएका हुन । क्यान महासंघ कास्कीले त्यसको संयोजन गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीले प्रविधिलाई सही तरिकाले प्रयोग नगर्दा देशको सार्वभौमसत्ता नै खतरामा पर्नसक्ने बताए । जेन–जी आन्दोलनमा भएको प्रविधिको पयोगतर्फ संकेत गर्दै उनले भने,‘देशमा ७ घण्टामा सत्ता परिवर्तन भयो र त्यो प्रविधिको उपयोगबाट सम्भव भयो ।’
सामाजिक अभियन्ता विना सिलवालले पछिल्लो समय मोवाइलबाट प्रेमी वा प्रेमिकाको फोटो खिच्ने, अन्तरंग दृष्यहरु कैद गर्ने अनि मन नमिल्दा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिदिने प्रवृत्तिले धेरेको घरबार चैट भएको दृष्टान्त पेश गरिन् ।
सूचना प्रविधि विषयका उपप्राध्यापक विष्णुहरि पौडेलले नेपालमा सूचना प्रविधिको उपयोगले ठूलो अवसर सिर्जना गरेको र नयाँ सम्भावनाको ढोका खोलेको बताए । उनले प्रविधिको सही प्रयोगका निम्ति भने सरकारले नै वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । नेपालीले प्रयोग गर्ने मोवाइलसहितका प्रविधि र कक्षाकोठामा पढाउने शिक्षाबीच तालमेल मिल्न नसकेको उनले स्वीकारे ।
क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले सूचना प्रविधिको सही सदुपयोग कसरी गर्ने तथा त्यसको दुरुपयोग हुन नदिन के गर्ने भन्नेबारे प्रयोगकर्ता सचेत हुनुपर्ने बताए । उनले बालबालिकालाई मोवाइल वा अन्य सामग्रीको गलत प्रयोगबाट टाढा राख्ने प्रविधिको विकास भएको कुरा पनि सुनाए ।
पोखराको नयाँबजारमा जारी मेला आइतबारसम्म चल्नेछ । शनिबार भने मेलामा नेपाल मगर संघ कास्कीले विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने सांस्कृतिक उपसमिति संयोजक ललितकुँवरले जानकारी दिए ।
शनिबार नै कृषिको व्यावसायिकरण कहिले र कसरी ? भन्ने विषयमा परिसंवाद पनि राखिएको मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले जानकारी दिइन् ।
सो परिसंवादमा गण्डकी प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव बासुदेव रेग्मी,र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक भरतराज ढकालसँग पत्रकार भरत कोइरालाले सवाल जवाफ गर्ने भएका छन ।
मेलाका प्रचार प्रसार संयोजक मनोहरि पौडेलका अनुसार समग्र पोखराको अर्थतन्त्र चलायमान बनाउन तथा नयाँ संभावनाको खोजी गर्न मेला आयोजना गरिएको हो ।

















