Play

मणिपाल औधोगिक व्यापार मेलामा बालन नाच प्रदर्शन, शुक्रबार सूचना प्रबिधिबारेमा परिसम्बाद हुने

गुरुकुल खबर


पोखरा, पोखराको नयाँबजारमा जारी ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२ पोखरा’मा बिहीबार बालन नाच प्रदर्शन गरिएको छ । हराउँदै गएको बालन नाचको संरक्षण गर्न तथा नयाँ पुस्तालाई यो नाचबारे जानकारी दिन मेलामा बालनलाई प्राथमिकतासाथ प्रस्तुत गरिएको मेलाका सांस्कृतिक उपसमिति संयोजक तथा संघका कार्यसमिति सदस्य ललित कुँवरले बताए ।

बालन नाचको क्रममा भगवानका लीला र अवतारहरुको वर्णन गरिन्छ । यो नाचका गीतहरु रामायण,महाभारत,कृष्णचरित्र र पुराणहरुमा आधारित हुन्छन् । ती ग्रन्थमा उल्लेखित कथालाई गीतको भाकामा प्रस्तुत गर्ने तथा खैंजडी,मुजुराको तालमा नाच्नु नै बालनको विशेषता हो । यसमा गाउने र नाच्ने फरक समूह हुन्छ । कथा अनुसार राम, लक्ष्मण, सीता, हनुमान, रावण, परशुराम, विष्णु, कृष्ण, कंस आदिको अभिनय सँगसँगै नृत्य पनि देखाइने गरिन्छ ।

भगवानको आरतीबाट सुरु हुने भजन भक्तिसंगीतको अनुपम नमूना भएको र गण्डकी प्रदेशमा बढी प्रचलनमा रहेको छ । देवीस्थान भजन समूह हेम्जाले बिहीबार पोखरा प्रदर्शनी केन्द्रमा बालन नाच प्रस्तुत गरेको हो । यो समूहले बालन संरक्षणको लागि विशेष अभियान नै चलाउँदै आएको सचिव झंकनाथ तिम्सिनाले जानकारी दिए ।

‘लगानीको सम्बर्द्दन, उद्योग व्यवसायको प्रबर्द्दन’ भन्ने नाराका साथ आयोजित मेला मंसिर २१ गतेसम्म चल्नेछ । पोखरा र बाहिरबाट औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन सहित कृषिजन्य उत्पादनहरुलाई प्रबर्द्दन तथा बजारीकरणमा समेत सघाउ पुर्याउने उद्देश्यले मेलाको आयोजना गरिएको पोखरा उधोग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले गुरुकुल खबरलाई बताए ।

क्यान इन्फोटेकअन्तर्गत सूचना–प्रविधिको क्षेत्रसँग सम्बन्धित विभिन्न प्रतिष्ठानहरुले पछिल्लो समयका प्रविधि, दैनिक जीवनलाई अझ सरल बनाउने उपकरणहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिएको क्यान महासंघ गण्डकीका अध्यक्ष पुरुषोत्तम कुँवरले जानकारी दिए । बिहीबार कृतिम बुद्धीमत्ता (एआई) र यसका सकारात्मक र नकारात्मक पक्षहरुको बारेमा वक्तृत्वकलाको आयोजना गरिएको उनले बताए ।

मेलामा औद्योगिक उत्पादन, हस्तकला, कृषि, पुष्प, अटो, सूचना तथा प्रविधि,विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुको गतिविधि लगायत दैनिक उपभोग्य वस्तु, घरायसी सरसामान, लत्ताकपडा,श्रृंगारका सामानहरुको बिक्री वितरणको व्यवस्थासमेत मिलाइएको संघका महासचिव शोभा गौतमले जानकारी दिइन् । शुक्रबार मेला अन्तर्गत सूचना प्रविधिबारे परिसंवाद कार्यक्रम समेत राखिएको मेलाका प्रचार संयोजक मनोहरी पौडेलले गुरुकुल खबरलाई जानकारी दिए ।

१८ मंसिर २०८२, बिहीबार २०:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा