पोखरा, पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२, बुधबार देखि पोखरामा शुरु भएको छ। पोखराको नयाँबजार स्थित पोखरा प्रदर्शनी केन्द्रमा आयोजित मेलामा सूचना प्रविधिदेखि घरायसी सरसामान, लत्ताकपडा लगायत बिभिन्न स्थानीय एबम बाह्य उत्पादनसंग सम्बन्धित बस्तु एबम सेवाका १ सय ६० भन्दा बढी स्टलहरु राखिएका छन ।
मेलाका प्रचार–प्रसार उपसमिति संयोजक मनोहरि पौडेलले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार बिहीबारदेखि मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम पनि राखिएको र सबैको लागि प्रवेश निशुल्क गरिएको छ । बिगतका बर्षहरुमा मेलाको अबधि केहि लामो हुने गरेको भएपनि यस पटक ५ दिनको लागि मात्र मेला आयोजना गरिएको छ। मेलामा सूचना प्रविधिका नयाँ उत्पादन, घरायसी सामान, स्वदेशी हस्तकला, महिला उद्यमीका उत्पादन, अटो र औद्योगिक उत्पादनहरु पनि बिक्रि र प्रदर्शनीको लागि राखिएको छ।
मेलाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार आयोजित एक कार्यक्रममा गरेका थिए । त्यस अबसरमा बोल्दै ढकालले नेपालमा केही हुँदैन भन्ने भाष्य चिर्न जरुरी रहेको बताए । नेपालकै पूँजीले पनि धेरै ठूला आयोजना बनाउन सकिने बताउँदै उनले त्यसका निम्ति नेपाल उद्योग वाणिज्य महासंघले १० अर्ब पूँजीको लगानी कम्पनी बनाएको बताए ।
‘हाम्रै पूँजीबाट ठूलो लगानी गर्न सकिन्छ । महासंघले बनाएको कोषबाट कुनै व्यवसायीले सुरु गरेको व्यवसायमा थप लगानी गर्न पनि मिल्छ, नयाँ उद्यमीहरुलाई लगानी जुटाइदिने काम पनि हुन्छ,’उनले भने,‘ नेपालमा ठूला पूर्वाधार बनाउनका लागि नेपाल डेभलपमेन्ट पब्लिक (एनडिपी) बनाइएकोउनको भनाई थियो । एनडिपीकै माध्यमबाट धेरै व्यवसायी समेटेर नेपालकै पूँजी परिचालन गरी ५० अर्बका प्रोजेक्ट बनाउन थालिएको जानकारी उनले दिए ।
उनले स्थानीय कच्चा पदार्थको प्रयोग, स्थानीय उत्पादनलाई बढावा दिँदामात्र अर्थतन्त्र उकासिने पनि बताए । जेन–जी आन्दोलनको क्रममा व्यवसायीमाथि भएको आक्रमणको निन्दा गर्दै उनले त्यसमा संलग्नहरुलाई कारवाहीको लागि महासंघले प्रधान र गृहमन्त्रीसँग विशेष पहल गरेको दाबी पनि गरे । महासंघले निजी क्षेत्रलाई सुरक्षा प्रबन्ध गर्नका निम्ति जिल्ला–जिल्लामा रहेको सुरक्षा समितिमा निजी क्षेत्रको प्रतिनिधित्व गराएको पनि उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले भागबण्डाको संस्कारले देश नबन्ने जिकिर गर्दै आगामी निर्वाचनमार्फत् एउटा दलले बहुमत ल्याइदिए हुन्थ्यो भन्ने आशय प्रकट गरे । चुनावका निम्ति सम्पूर्ण दलहरु तयार हुनुपर्ने र त्यसका निम्ति निजी क्षेत्रले पनि दबाब दिनुपर्ने उनको भनाइ थियो ।
‘यही संरचना र आर्थिक प्रणालीले देश बन्दैन, धनी झन धनी र गरीब झन गरीब हुने अवस्था आउँछ । यसमा सुधार हुनैपर्छ । कर्मचारी प्रशासनमा पनि सुधार जरुरी छ,’उनले भने,‘हामी कतिञ्जेलसम्म अनियमितता र अव्यवस्थाको भूमरीमा पर्ने हो भन्नेबारे सोचौँ र यसबाट बाहिर निस्कने माध्यम चुनाव हो भन्ने बुझौँ ‘ मुल्मीले भने ।
मुल्मीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि प्राविधिक छानबिन गर्न बनेको समितिको प्रतिवेदन अनुसार काम गर्नुपर्ने पनि बताए । विमानस्थलको धावनमार्ग कम भएको भए बढाउन, होँचो ठाउँमा बनेको भए त्यसलाई सुधार गर्नका निम्ति पोखरेलीहरुले दवाब दिनुपर्ने उनको धारणा थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले उद्योग स्थापना र रोजगारी सिर्जनाका निम्ति निजी क्षेत्रले पहल गरिरहेको तर निजी क्षेत्रसँग कुममा कुम मिलाएर राजनीतिक दलहरु हिँड्न नसक्दा देशमा जेन–जी आन्दोलन भएको बताए । उनले निजी क्षेत्रमाथि आक्रमण भए पनि निजी क्षेत्रले हिम्मत नहारेको बताए । ‘हामीले बैंकबाट ऋण लिएका छौँ, लगानी गरिसकेका छौँ र हामी हतोत्साही हुन मिल्दैन,’उनले भने ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले भयरहित वातावरणमा संघीय संसदको निर्वाचन निजी क्षेत्रको चाहना भएको बताए । निर्वाचन होस् भन्ने निजी क्षेत्रको चाहना हो । चुनावी वातावरण निर्माणको लागि निजी क्षेत्र सरकारको साथमै छ । ‘हामी जनताको मतमार्फत् आफूलाई प्रमाणित गर्ने सुनौलो अवसरको उपयोग गर्न राजनीतिक दलहरुलाई हार्दिक अनुरोध गर्दछौँ । तर, चुनावकै नाममा देशको अर्थतन्त्र खल्बल्याउने, निजी क्षेत्रलाई यो वा त्यो बहानामा दुःख दिने काम नहोस् भन्नेमा पनि सरकारको ध्यान पुगोस् भन्ने हाम्रो माग रहेको छ,’ कार्कीले भने ।
‘जेन–जी कै भावनासँग नजिक रहेको नेपालको निजी क्षेत्रमाथि भदौ २४ गते एकाएक हमला भयो । छानी–छानी, ताकी–ताकी सयौँलाई रोजगारी दिने, देशको अर्थतन्त्रलाई राजश्वमार्फत् योगदान दिने र देशमै बसेर केही गरौँ भन्नेहरुको सम्पत्ति जलाइयो, लुटपाट गरियो । त्यो दिन उद्योगी÷व्यवसायीहरुले ज्यान जोगाउनै मुस्किल पर्यो ।’ कार्कीले भदौ २४ को आपराधिक घटनामा संलग्नमाथि कारवाही हुनुपर्ने, शान्ति–सुव्यवस्था कायम हुनुपर्ने र यस्ता घटना पुनः नदोहोरिने वातावरण निर्माण गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेकपा एमाले कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्रीले राजनीतिक दलहरुको आर्थिक समृद्धि र रोजगारी सिर्जनालाई मूलमन्त्र बनाउँदै अगाडि बढ्नुपर्ने बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निजी क्षेत्रलाई सुरक्षा दिन कास्की प्रशासन तयार रहेको बताइन् ।
नेपाल मणिपाल अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविलले पोखराले स्वास्थ्य पर्यटनबाट ठूलो लाभ लिनसक्ने बताउँदै पूर्वाधार र सेवामा मणिपालले ठूलो लगानी गरेको बताए । पोखरालाई गुणस्तरीय स्वास्थ्यको सहर बनाउने अभियानस्वरुप नै मणिपाल अगाडि बढेको उनले बताए ।
पोखरा उद्योग वाणिज्य संघका उद्योग तर्फका उपाध्यक्ष दिनेशचन्द्र बास्तोला र महासचिव शोभा गौतमले संघका बिबिध गतिविधिको बारेमा प्रकाश पार्दै मेलालाई उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष भेटघाटको थलोका रूपमा लिईएको बताए ।
बागलुङ उद्योग वाणिज्य संघका राजन शाक्यले उद्यमशीलताले नै मान्छेलाई सफल बनाउने भएकाले कामलाई सानो–ठूलो नभन्न आग्रह गरे ।
क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले नयाँ युगमा नयाँ प्रविधिको प्रयोगबाट व्यावसायिक सफलता मिल्ने भएकाले नयाँ प्रविधिलाई उपयोग गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले मेला र महोत्सवहरु अर्थतन्त्र चलायमान बनाउन फलदायी भएको धारणा राख्दै निजी क्षेत्रले सामाजिक उत्तरदायित्ववोध पनि गर्नुपर्ने बताए ।

















