पोखरा, तनहुँ जिल्लाको भिमादस्थित जनज्योति क्याम्पसको १८ औँ वार्षिकोत्सव एवं अभिभावक दिवस समारोह बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रममा क्याम्पसका प्राध्यापक र कर्मचारी सहित क्याम्पसमा बिभिन्न किसिमबाट योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिएको थियो यसका साथै क्याम्पसमा अक्षयकोषको स्थापनाको लागि चेक हस्तान्तरण गरिएको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष एबम गण्डकी प्रदेशका सांसद जितप्रकाश आलेले उनीसहित परिवारले बुवा पदम बहादुर आलेको स्मृतिमा क्याम्पसमा स्थापना गरिएको पदम बहादुर आले स्मृति अक्षयकोषमा रू. ५ लाख ५ हजार ५ सय ५५ रुपैयाको चेक क्याम्पस प्रमुख केशवराज काफ्लेलाई हस्तान्तरण गरेका थिए । उक्त कोषबाट प्राप्त ब्याज कमजोर आर्थिक अवस्थाका कारण क्याम्पसमा भर्ना समेत हुन नसक्ने विपन्न विद्यार्थीहरूका लागि खर्च गरिने बताइएको छ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् गण्डकी प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री माननीय जीतप्रकाश आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी पुण्यशील सुवेदी प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथिको रुपमा भिमाद नगरपालिका नगर प्रमुख दधिराज सुवेदी, भिमाद नगरपालिका उपप्रमुख शारदा खनाल लगायत रहेका थिए ।
समारोहमा भिमाद नगरपालिका प्रमुख दधिराज सुवेदी, उपप्रमुख शारदा खनाल, म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं क्याम्पस आजीवन सदस्य पुष्पराज पराजुली, क्याम्पस सल्लाहकार एवम् पूर्व उपाध्यक्ष काजीमान श्रेष्ठ, पब्लिक क्याम्पस संघका केन्द्रीय सल्लाहकार एवं कालिका बहुमुखी क्याम्पस पोखराका क्याम्पस प्रमुख वीरन्जी गौतम, पब्लिक क्याम्पस संघ गण्डकी प्रदेश अध्यक्ष तथा जनप्रकाश बहुमुखी क्याम्पस भण्डारढिक कास्कीका क्याम्पस प्रमुख ऋषिराम बुढाथोकी, नेकपा एमाले भिमाद नगर कमिटी अध्यक्ष इमानबहादुर थापा, नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष अमृत सिग्देल, भिमाद नगरपालिका वडा नं ५ र ७ का वडा अध्यक्ष क्रमश: पदमबहादुर थापा र प्रकाश श्रेष्ठ, स्वतन्त्र विद्यार्थी युनियन सभापति विप्लव भण्डारी, पूर्व विद्यार्थी संघ अध्यक्ष सुनिल श्रेष्ठ लगायतले आआफ्नो भनाई राखेका थिए ।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष उमाकान्त श्रेष्ठ, क्याम्पस प्रमुख केशवराज काफ्लेले क्याम्पसको बिबिध गतिविधिबारेमा प्रकाश पार्नुको बार्षिक प्रतिबेदन प्रस्तुत गरेको उक्त कार्यक्रमको संचालन सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंले गरेका थिए । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो जसअनुसार स्नातक तह उत्तीर्ण हुने ३० जना विद्यार्थीहरू स्नातक उपाधिबाट विभूषित भएका थिए भने विभिन्न खेलकुद कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो । सोही कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांगीतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरेका थिए ।
प्राध्यापक-कर्मचारी सहित अन्यलाई सम्मान

उक्त समारोहमा उत्कृष्ट शैक्षिक एवं प्राज्ञिक कार्य गरेबापत नर्मदा-नीलकण्ठ पराजुली स्मृति अक्षयकोषबाट प्राध्यापक-कर्मचारी प्रोत्साहन अन्तर्गत क्याम्पस प्रमुख सह-प्राध्यापक केशवराज काफ्ले, उप-प्राध्यापक दीपक भट्टराई र लेखापाल कमला पौडेललाई सम्मान गरिएको थियो भने त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षामा उच्च औषत अङ्क प्राप्त गरेबापत शिक्षाशास्त्र संकायका उप-प्राध्यापक सितादेवी भट्टराई र व्यवस्थापन संकायका सहायक प्राध्यापक जनकराज श्रेष्ठलाई सम्मान गरिएको थियो ।
यसैगरी जनज्योति क्याम्पसको स्थापनामा महत्त्वपूर्ण योगदान गर्ने संस्थापकहरू तथा सर्वाधिक राशिको चन्दादाता एवं अक्षयकोष दाताहरूलाई पनि समारोहमा सम्मान गरिएको थियो । जसअनुसार सञ्चालक समितिका संस्थापक उपाध्यक्ष देवीभक्त पालिखे र सदस्यहरू रमेशचन्द्र सुवेदी, धुर्वराज सुवेदी, धर्मराज खनाल, क्याप्टेन मनबहादुर राना, हुद्धबहादुर थापा, मिठू सुनार, संस्थापक क्याम्पस प्रमुख खिमाकान्त पराजुली र मरणोपरान्त सम्मान स्व. पुष्पराज गैह्रेलाई सम्मानपत्र प्रदान गरिएको थियो सर्वाधिक राशिको चन्दादाताहरू मध्येबाट स्वर्गीय पदमबहादुर आलेको परिवार तथा सर्वाधिक राशिको अक्षयकोष दाताहरू मध्येबाट पदमराज सुवेदी सम्मानित भएका थिए ।
यसैगरी, क्याम्पस परिसरमा रहेको फूलबारी तथा बगैंचाको संरक्षण र सरसफाइमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा शहिदपार्क टोल विकास संस्था, नवनिर्मित आमा समुह, अग्रसर आमा समुह, मातृशिशु आमा समुह र एकता टोल भविष्य निर्माण महिला समूहलाई प्रशंसा-पत्र प्रदान गरिएको थियो ।

















