पोखरा, आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको पच्चीसौँ संस्करण आगामी माघ महिनाको २७ देखि फागुन ९ गतेसम्म हुने भएको छ । प्रतियोगिता सञ्चालनका लागि अखिल नेपाल फुटबल संघले उक्त मितिअनुसारको समय तालिका दिएकोले सोहि मितिमा प्रतियोगिता संचालन हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
प्रतियोगितामा राष्ट्रिय एबम अन्तरराष्ट्रियस्तरका फुटबल क्लबहरुको सहभागिता रहने उक्त प्रतियोगिताको लागि तयारी अगाडि बढाइएको क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए । प्रतियोगितामा विदेशी केही टोलीसहित नेपालका राष्ट्रियस्तरका क्लबले भाग लिने उनको भनाइ छ । प्रतियोगितामा सहभागी हुने टोलीको सङ्ख्या टुंगिना भने बाँकी छ ।

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसीले आहा रारा पोखरा गोल्ड कपसँगको सहकार्य निरन्तर रहने बताए । कार्यक्रममा पोखरा महानगरपालिका -९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी लगायतले आआफ्नो भनाई राखेका थिए ।
प्रतियोगिताको संरक्षकमा पोखरा महानगरपालिका, विशेष सहयोगीमा राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, अखिल नेपाल फुटबल सङ्घ, कास्की जिल्ला फुटबल सङ्घ र उप–प्रायोजकमा पोखरा महानगरपालिका–९ कार्यालय रहेको छ ।
गत वर्ष भएको २४औँ संस्करणको उक्त प्रतियोगिताको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको थियो । नेपाल पुलिस क्लब उपविजेता बनेको थियो ।
पत्रकार सम्मेलनमा क्लबले गत कात्तिक १४ गते आयोजना गरेको ‘सहारा च्यारेटी डिनर नाइट’ कार्यक्रमको आयव्ययसमेत सार्वजनिक गरेको थियो । उक्त कार्यक्रमबाट रु २४ लाख १९ हजार सङ्कलन भएकामा रु छ लाख ७७ हजार खर्च भई रु १७ लाख ४१ हजार बचत भएको क्लबले जनाएको छ ।
बचत भएको रकम क्लबद्वारा सञ्चालित ‘सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी’ सञ्चालनमा खर्च हुने क्लबका महासचिव गङ्गाराम पौडेलले जानकारी दिए । ऐकेडेमीमा १६ जिल्लाका ३० किशोरले आवासीय सुविधासहित फुटबलको प्रशिक्षण लिईरहेका छन ।



















