पोखरा, पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको वार्षिक कार्यक्रम अनुसार स्पोर्टस् फेस्ट- २०८२ शुरु भएको छ । दुई साता चल्ने स्पोर्टस् फेस्टमा हरियो, रातो, पहेंलो र निलो गरी सदनात्मक रुपमा विद्यार्थीले प्रतिष्पर्धामा भाग लिनेछन् । विद्यालयका पूर्व प्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न खेलहरुमा प्रतिष्पर्धा गर्नेछन् ।
स्पोर्टस् मीटको प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले बुधबार उद्घाटन गरेक हुन । उनले खेलकुदले विद्यार्थीलाई सामूहिक भावनाको विकास, प्रतिस्पर्धात्मक क्षमताको विकास, अनुशासन पालना गर्न सघाउने बताए । अध्यक्ष गौतमले प्रतिभा माविले शिक्षासँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा गरेको प्रगतिको प्रशंसासमेत व्यक्त गरे ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले गुणस्तरीय शिक्षामा मुलुककै अग्रणी विद्यालयमा स्थापित प्रतिभाले खेलकुद तथा रचनात्मक गतिविधिमा पनि आफूलाई अग्रपंक्तिमा उभ्याएको बताए । ‘खेलकुदले अनुशासन पक्षलाई बलियो बनाउँछ । खेलकुद स्वस्थ जीवन बनाउने आधार हो,’ पौडेलले भने, ‘खेलकुदबाटै जीवनलाई अघि बढाउने अवसर पनि छ । त्यसैले खेलकुदलाई विद्यालय तहमै प्राथमिकता दिने गरिएको छ ।’
विद्यालयका प्राचार्य किरण सापकोटाले गुणस्तरीय शिक्षामा प्रतिभा मुलुककै अग्रणी विद्यालयमा स्थापित भइसकेको बताउँदै यहाँको खेलकुदमा पनि विद्यालयको स्थान अगाडि रहेको बताए । ‘प्रतिभाले खेलकुद तथा रचनात्मक गतिविधिमा पनि अग्रपंक्तिमा उभ्याएको छ । मानव स्वास्थ्यका लागि महत्वपूर्ण खेलकुद क्षेत्रलाई पनि विद्यालयले उत्तिकै प्राथमिकता दिएको छ ।’ सापकोटाले भने ।
विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले सञ्चालन गरेको कार्यक्रममा सहप्राचार्य प्रदीप खनालले हाउस क्याप्टेनहरूलाई सपथ खुवाएका थिए । स्पोर्टस् मिटमा व्यक्तिगत स्पर्धातर्फ कक्षागत रुपमा दौडलगायतका प्रतिष्पर्धा तथा सामूहिक स्पर्धातर्फ अन्तरसदनात्मक रुपमा बास्केटबल, भलिबल, फुटबल, रिले दौडलगायतका प्रतिस्ष्पर्धा हुने विद्यालयले जनाएको छ ।
विद्यार्थी तथा खेलाडीहरुको मनोबल उच्च बनाउनका साथै बालबालिकाका प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले आर्थिक सहयोग समेत गर्दै आएको छ । सन्दिप लामिछाने, अरुणा शाही, ज्ञानेन्द्र मल्ल जस्ता खेलप्रतिभालाई विद्यालयले ठूलो समारोहबीच जनही एक लाखले सम्मान गरिसकेको छ ।



















