पोखरा, पोखरामा रहेर पत्रकारितामा क्रियाशील धनबहादुर गुरुङ ‘सुमन’ बुधबार पोखरामा आयोजित कार्यक्रममा मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङद्वारा स्थापित युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । २०६८ सालबाट पोखराका एफएमबाट संचारकर्ममा लागेका गुरुङ पछिल्लो समय छापा एबम विधुतीय संचार माध्यममा संलग्न छन।
उनी नेपाल पत्रकार महासंघ कास्कीमा सह–सचिव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीमा उपाध्यक्ष, नेपाल प्रेस युनियन कास्कीमा सचिव र नेपाल फोटो पत्रकार संघ कास्कीमा सचिव पदमा कार्यरत छन् ।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले आयोजना गरेको कार्यक्रममा फोनिजका संघीय सचिव एमबी आस्थामगरले उनलाई नगद र सम्मानपत्र सहित पुरस्कार हस्तान्तरण गरेका थिए ।
पुरस्कारदाता मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङको ५२ औं वैवाहिक वार्षिकोत्सवको अवसरमा पुरस्कार प्रदान गरिएको हो । पुरस्कार प्राप्त गरेपछि गुरुङले पत्रकारिता क्षेत्रमा लाग्नका लागि प्रेरणा मिलेको भन्दै आगामी दिनमा दृढताका साथ अघि बढ्न प्रेरित गरेको बताए ।
फोनिजका संघिय सचिव एमबी आस्थाले पुरस्कारले पत्रकारिता क्षेत्र धारासायी बन्दै गइरहेको अवस्थामा पुरस्कारले हौसला प्रदान गर्ने बताए । ‘पत्रकारिताको बाटो कता जाने हो भन्नेमा अन्योल भैरहेको अवस्थामा समाजका केही व्याक्तिहरु पत्रकारको हौसलामा हातेमालो गर्न आइदिनुहुँदा खुसी लाग्छ,’ उनले भने।
पुरस्कारको अक्षयकोषदाता मेजर लक्ष्मीप्रसाद गुरुङले धेरै अक्षयकोष स्थापना गरिसकेको अवस्थामा पछिल्लो समय पत्रकारहरुसँग पनि जोडिन पाउँदा खुसी लागेको बताए । आगामी दिनमा अक्षयकोष वृद्धि गर्दै पुरस्कार राशी बढाउने उनको प्रतिवद्धता थियो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने, फोनिजका संघिय सल्लाहकार शान्ति गुरुङलगायतले पुरस्कारदाता मेजर गुरुङ र सम्मानित व्याक्ति पत्रकार गुरुङको बारेमा चर्चा गरेका थिए । फोनिज गण्डकी र कास्कीका सल्लाहकार हुमबहादुर गुरुङले सम्मानित व्याक्ति परिचय गराएका थिए ।



















