विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष स्वर्गीय हेम बहादुर प्रधानले १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेर त्यसबाट प्राप्त हुने ब्याज रकमबाट प्रदान गर्ने गरि १ लाख १ हजार रुपैया राशीको पुरस्कार संचालन गरिएको छ ।उक्त पुरस्कार यस बर्षमानवसेवा आश्रम नेपाललाई संस्थागत रुपमा प्रदान गरिएको हो।
पुरस्कारको रकम र सम्मानपत्र प्रदेश प्रमुख भट्ट, समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले संयुक्त रुपमा आश्रमका सञ्चालक राम्जी अधिकारीलाई प्रदान गरेका थिए । प्रदेश प्रमुख भट्टले मानवसेवा आश्रमले सुरु गरेको मानवता प्रबर्द्दनको महाअभियानलाई सबैले साथ दिनुपर्ने बताउनुभयो ।
उनले पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरको विकास, संरक्षण, पूर्वाधार निर्माण तथा व्यवस्थापनमा क्रियाशील समितिको निरन्तर सेवाको पनि प्रशंसा गरे ।
उक्त पुरस्कार यसअघि राष्ट्रपतिको समुपस्थितिमा विशिष्ट संस्कृतिसाधक स्वर्गीय सत्यमोहन जोशी, स्वामी आत्मानन्द गिरीजी महाराज, समाजसेवी दुर्गा घिमिरे, संस्कृतिविद् साहित्यकार तुलसी दिवस र स्वामी कमलनयन आचार्य मुक्तिनाथ बाबालाई अर्पण गरिसकिएको समितिका सचिब तीर्थ श्रेष्ठले गुरुकुल खबरलाई जानकारी दिए ।




















