पोखरा, पोखराको न्युरोडको दायाँ बायाँ ब्यबसाय संचालन गर्ने ब्यवसायीहरुले उक्त सडकमा एकतर्फी पार्किङका कारण ब्यबसायिक कारोबार घटेर ब्यबसायीहरु पलायन हुने क्रम बढेको भन्दै नयाँसडक क्षेत्रको पश्चिम पट्टिको सडक किनारमा पनि पार्किंग गर्न दिनुपर्ने माग गरेका छन ।
पोखराको सभागृहचोक देखि बिपीचोकसम्म पश्चिम साइडमा करिब दुई सय व्यवसायीहरुले बिभिन्न किसिमको ब्यबसाय गर्दै आएका छन। त्यस क्षेत्रमा सवारी साधन पार्किन गर्न नपाउंदा व्यवसाय सञ्चालनमा समस्या उत्पन्न् भई ब्यबसायी पलायन हुनुपर्ने अबस्था सृजना भएको भन्दै उनीहरुले जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका वडा नं ८ र ९ का कार्यालयमा पुगेर ध्यानाकर्षण गर्दै ज्ञापन पत्र बुझाएका छन ।

ब्यबसायीहरुले न्युरोडको पश्चिमपट्टि ब्यबसाय संचालन गरिरहेका पोखरा उद्योग बाणिज्य संघका सदस्य समेत रहेका प्रदिपराज भण्डारीको संयोजकत्वमा न्युरोड व्यवसायी समिति नै गठन गरेका छन। सोहि समितिको पहलमा हालै भएको एक भेलाले पोखराको न्युरोडमा एकतर्फी पार्किङका कारण व्यवसायीहरु पलायन हुने र सटर खाली रहने अवस्थालाई रोक्न न्युरोडको पश्चिमपट्टिको किनारमा पनि पार्किंगको ब्यबस्था गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

भुकम्प, नाकाबन्दी, कोरोना महामारी पश्चातको आर्थिक मन्दीको चपेटामा परेका न्युरोडका व्यवसायीहरुलाई आफ्नो ब्यबसाय संचालन भैरहेको ठाउँमा सवारी साधन पार्किंग गर्न नदिने ब्यबस्थाको कारण अर्को समस्या थपिएको उनीहरुको भनाई छ।
सभागृहचोकदेखि बिपिचोकसम्मका पश्चिम तर्फका घरबेटी र व्यवसायीको भेलाले दुवै साइड पार्किङका लागि सहज बातावरण बनाइदिन कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजित कुमार देवकोटा, पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बराल र पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानीलाई ज्ञापन पत्र बुझाएको संयोजक राजभण्डारीले गुरुकुल खबरलाई जानकारी दिए । उनका अनुसार पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई समेत यस बिषयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।




















