- शिखा श्रेष्ठ
कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको अन्नपूर्ण आधार शिविर (एबीसी)मा पदयात्राका लागि गएका चितवनका सुरजमान श्रेष्ठले ३४ वर्षमै संसार छाडे। एक्लै पदयात्रामा निस्किएका श्रेष्ठलाई माछापुच्छ्रे आधार शिविरमा लेक लागेको थियो। स्थानीय होटल व्यवसायी भीम गुरुङका अनुसार बाटैमा ढलेका उनलाई अन्य भरियाले बोकेर देउरालीसम्म ल्याएका थिए। राति त्यही होटलमा सुतेका श्रेष्ठले बिहान ११ बजेतिर घाम ताप्ने भनेपछि घाममा सुताइएको थियो। तर, केही समयमै उनी अचेत भए। कास्कीका प्रहरी प्रवक्ता हरि बस्नेतका अनुसार ८ कात्तिक दिउँसो १ बजे प्रहरी पुग्दा उनको मृत्यु भइसकेको थियो।
११ कात्तिकको अचानकको वर्षा र हिमपातले चिसो बढेका कारण एबीसी पदयात्राकै गएकी एक युवतीलाई माछापुच्छ्रे आधार शिविरबाटै फर्किने क्रममा सास फेर्न गाह्रो हुन थाल्यो। साँझ ७ बजेतिर उनी बाटोमै अचेत भइन्। अत्तालिएकी साथीले स्थानीयहरूसँग गुहार मागेपछि एक होटलका कर्मचारी उत्तम श्रेष्ठले रातभर बोकेर सिनुवासम्म ल्याए। “सिनुवासम्म बोकेर ल्याउन रातभर नै लाग्यो। लेक लाग्न कम भएकाले अहिले सामान्य हुनुहुन्छ। आराम गरिरहनुभएको छ,” उत्तमले भने।
कात्तिकको दोस्रो साता हिमालपारिको जिल्ला मनाङमा लेक लागेर पाँच जनाले ज्यान गुमाए। जिल्ला प्रहरी कार्यालय, मनाङका प्रमुख प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलका अनुसार मृत्यु हुनेमा नुवाकोटका ४९ वर्षीय साम्बा घले, लमजुङका ४८ वर्षीय डिलबहादुर गुरुङ, तनहुँका ४४ वर्षीय राम थापामगर र हिमलुङ हिमाल आरोहणबाट फर्किएका अस्ट्रेलियन आरोही चान चिन टार्क छन्। उनका अनुसार मंगलबार पनि भारतीय नागरिक पिन्टु मुखर्जी मृत फेला परेका छन्।
आइतबार दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित यलुङ री हिमाल आरोहणका लागि गएको टोलीमाथि बिहान साढे १० बजे हिमपहिरो खस्दा सातजनाको मृत्यु भयो। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार १५ जनाको आरोहण टोलीका सातजनाको मृत्यु भएको छ भने चारजना बेपत्ता र चारजना घाइते छन्। मृत्यु हुनेमा पाँचजना विदेशी नागरिक र दुईजना नेपाली छन्। विदेशी मृतकमध्ये तीन अमेरिकी, एक क्यानडेली र एक इटालियन नागरिक रहेको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।
गोरखास्थित पाङबारी हिमालमा पाँच दिनदेखि बेपत्ता दुई इटालियन ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव हिउँले पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। त्यस्तै, गोरखाकै चुमनुब्री गाउँपालिका-३ न्याफेदीमा पहिरोमा पुरिएर बेपत्ता भएकी चेक रिपब्लिककी एक महिला अझै फेला परेकी छैनन्।

पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव हेलिकोप्टरमार्फत लगिँदै। तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय गोरखा
हिमाली क्षेत्रमा उचाइका कारण अक्सिजनको कमी भई लेक लाग्नु सम्भावित जोखिम नै मानिन्छ। तर, यहाँ अकालमै ज्यान गुमाएका अधिकांशको मृत्युको कारक नै लेक लाग्नु हो। यसबाट के पुष्टि हुन्छ भने, पदयात्रामा जानुअघि यात्रीले यो जोखिमलाई कि बेवास्ता गरिरहेका छन् कि सामान्य ठानेर पूर्वतयारीमा ठूलै कमजोरी गरिरहेका छन्।
होटल व्यवसायी भीम गुरुङका अनुसार सुरजमान श्रेष्ठ अन्नपूर्ण आधार शिविरअन्तर्गतको छोमरुङबाट सिधै माछापुच्छ्रे आधार शिविर पुगेका थिए। छोमरुङ समुद्री सतहबाट दुई हजार १८० मिटर उचाइमा छ भने माछापुच्छ्रे तीन हजार ७०० मिटरको उचाइमा। एकैदिन एक हजार ५२० मिटर उचाइमा गएकैले उनको स्वास्थ्यमा गम्भीर समस्या आएको र मृत्यु स्थानीयको ठम्याइ छ।
अन्नपूर्ण आधार शिविरका होटल व्यवसायी आकाश गुरुङ अधिकांश नेपालीले पदयात्राका लागि पूर्वतयारी नै नगर्ने पाइएको बताउँछन्। “आफू जाने बाटो, मौसमबारे समेत जानकारी नलिई हिँडेकाले पदयात्रीले दु:ख पाइरहेका छन्,” उनी भन्छन्, “लेक लाग्ने समस्या पनि तुलनात्मक रूपमा नेपालीमा नै बढी देखिएको छ।”
अन्नपूर्ण आधार शिविरमा रहेको हिमालय होटल सञ्चालक अशोक तामाङका अनुसार कतिपय नेपाली पदयात्रीमा त यतिसम्म लापरवाह हुन्छन् कि पानीको बोतलसमेत बोक्दैनन्। “मौसम, गन्तव्य र रुटबारे जानकारी नहुने त छँदै छ, राम्रो किसिमको ग्रिप भएको जुत्ता, रेनकोट, हिउँमा हिंड्नुपरेमा क्र्याम्पन्स बोक्नुपर्छ भन्ने पनि थाहा हुँदैन,” उनी भन्छन्।
ट्रेकिङ गाइड रामचन्द्र बुढाथोकी मौसम र रुटको अवस्थाबारे गुगल र सञ्चारमाध्यममा हेरेर नै आफ्ना पाहुनालाई मौसमबारे जानकारी दिने गरेको बताउँछन्। उनका अनुसार हिमाली क्षेत्रमा पदयात्रामा निस्कँदा डाउन ज्याकेट, टोपी, पन्जा, थर्मस, सनग्लास, लौरो र बाटोमा खान स्वास्थ्यवर्द्धक सुक्खा खानेकुरा बोक्नु सामान्य नै हो।
डा. बुढाथोकी प्राथमिक उपचारका लागि सिटामोल, जीवनजल, ब्यान्डेज, ह्यान्डीप्लास्ट, अल्टिच्युड सिकनेस ट्याबलेट, खुट्टा दुख्दा लगाउने मलमजस्ता सामग्री भए यात्रा सहज हुने सुझाउँछन्। होटल व्यवसायी तामाङ घरको भान्सामै पाइने लसुन, टिमुर, ल्वाङ, सुकुमेल, बिरे नुन, कागतीलगायत सामग्रीको सेवनले पनि चिसोमा रक्तसञ्चार राम्रो हुने र लेक लाग्ने समस्यामा सुधार हुने बताउँछन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सामान्यतया दुई हजार ५०० मिटरभन्दा माथि गइसकेपछि लेक लाग्ने समस्या देखिन्छ। “दुई हजार ५०० मिटरदेखि चार हजार मिटरसम्म जाने हो भने दिनमा ३०० मिटर चढ्नु उपयुक्त हुन्छ। चार हजार मिटरभन्दा माथि जाँदा दिनमा १५० मिटरभन्दा बढी उचाइ चढ्नु हुँदैन,” डा. बुढाथोकी भन्छन्।
बुढाथोकीका अनुसार छिटो छिटो हिँडेमा, समथर ठाउँबाट उचाइमा ल्यान्ड गरेमा र अन्य स्वास्थ्य समस्या भएका मानिसमा लेक लाग्ने जोखिम हुन्छ। शरीरमा अक्सिजनको कमी भएपछि सुरुआतमा श्वासप्रश्वास बढ्ने, टाउको दुख्ने, थकान महसुस हुने र रिँगटा लाग्ने, बान्ता हुनेजस्ता लक्षणहरू देखिन थाल्छन्। “लेक लागिहालेमा सोही स्थानमा आराम गर्ने वा ३०० मिटरदेखि एक हजार मिटर तल झर्नुपर्छ, यसो गर्दा पनि बिसेक नभएमा तत्काल उपचार आवश्यक हुन्छ,” बुढाथोकी भन्छन्।

अन्नपूर्ण आधार शिविरबाट फर्किरहेका पर्यटक
कसैलाई लेक लागिहाले १११५ नम्बरको हटलाइनमा फोन गर्ने वा अन्य प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र र मन्त्रालयै सम्पर्क गरेर पनि उपचारमा सहयोग लिन सकिने उनी बताउँछन्। लेकसँगै पदयात्रीले मौसम पूर्वानुमानबारे आधारभूत जानकारी पनि नलिने गरेको देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १० कात्तिकमा हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनु अघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानबारे आवश्यक जानकारी लिन आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानुपूर्व पूर्वसूचना एवं ‘अलर्ट’ बारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी लिन अनुरोध गरेको छ। यस्तै, पदयात्राका लागि आवश्यक पूर्वतयारी गर्न एवं लेक लागिहालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवं एक्लै यात्रामा ननिस्कनसमेत प्राधिकरणले अनुरोध गरेको छ।
गत साता बंगालको खाडीबाट नेपाल भित्रिएको मन्था चक्रवातका कारण हिमाली भेगमा भारी वर्षा तथा हिमपात भयो। चक्रवातसिर्जित मौसम बदलीले अधिकांश पदयात्री प्रभावित बने। विभिन्न ठाउँमा फसेका र स्वास्थ्यमा समस्या आएका पदयात्रीको उद्धारमा सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली नै खटिएको थियो। तिलिचो पदयात्रामा निस्किएका ११ जना आन्तरिक पर्यटकको पाँच दिनपछि मात्रै उद्धार सम्भव भयो। सशस्त्र प्रहरी बलको माउन्टेन रेस्क्यु ट्रेनिङ स्कुलबाट खटिएको टिमले नौ घण्टाको कठिन यात्रापछि उनीहरूको उद्धार गरेको थियो।
सशस्त्र प्रहरी बलका सूचना अधिकारी शैलेन्द्र थापाका अनुसार मन्था चक्रवातकै अवधिमा मनाङ, मुस्ताङ र म्याग्दीका विभिन्न रुटमा समस्यामा परेका ८१८ नेपाली र १२७ विदेशी गरी ९४५ पदयात्रीको उद्धार गरिएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले मनाङ र मुस्ताङका विभिन्न ठाउँबाट एक हजार ३१२ स्वदेशी र २०३ विदेशी गरी एक हजार ५१५ पर्यटकको उद्धार गरेको बताए।
भक्तपुरबाट लाङटाङ क्षेत्रको पदयात्रामा गएका १६ जनाको टोलीका चार जना भने अझै सम्पर्कविहीन छन्। पदयात्राकै क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४, बेरिङ खोल्सामा १८ असोज साँझ आएको बाढीले उनीहरूलाई बगाएको थियो। बाढीले बगाएकाहरूमा अन्दाजी २२ वर्षीय किसन श्रेष्ठ, २५ वर्षीया संस्कृति श्रेष्ठ, २५ वर्षीया संगीता श्रेष्ठ र २३ वर्षीय रवि श्रेष्ठ छन्। संस्कृति, किसन र संगीता एकै परिवारका सदस्य हुन्।
ट्रेकिङ एजेन्सीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डे पछिल्लो समय नेपालीहरूमा नयाँ वर्ष, दसैँतिहारसँगै बिदा मनाउन पदयात्रा जाने परम्परा बस्नु खुसीको विषय भए पनि जोखिम पनि उत्तिकै भएको बताउँछन्। यस्तो जोखिम कम गर्न सरकारले विदेशीलाई जस्तै नेपालीलाई पनि ट्रेकिङ एजेन्सीको समन्वयमा मात्र ट्रेकिङ जाने कानुनी व्यवस्था मिलाउनुपर्ने उनको तर्क छ। “विदेशी पदयात्री ट्रेकिङ एजेन्सीमार्फत गाइड लिएर मात्र पदयात्रामा जान्छन्, गाइडले पर्याप्त जानकारी र आवश्यक परामर्श दिन्छन्,” उनी थप्छन्, “नेपालीले पनि ट्रेकिङ एजेन्सीको समन्वयमा मात्र ट्रेकिङ जाने व्यवस्था गरे यात्रा सुरक्षित पनि हुन्छ, अर्थतन्त्र पनि चलायमान हुन्छ,” पाण्डे भन्छन्।
- नेपाल न्युजबाट साभार




















