पोखरा, संविधानको रक्षा र लोकतन्त्रको जर्गेनाका लागि नेकपा एमालेले तल्लो तहसम्म जनप्रदर्शन र जनपरिचालन कार्यक्रम सञ्चालन गर्ने भएको छ। भक्तपुरको गुन्डुमा बसेको नेकपा एमालेको सचिवालय बैठकले जनप्रदर्शन कार्यक्रम गर्नको लागि कार्यतालिका समेत सार्बजनिक गरेको छ। जस अनुसार यही कात्तिक २२ गते प्रत्येक वडाहरुमा जनभेला र त्यसको तीन दिनपछि कार्तिक २५ गते प्रत्येक पालिकामा प्रदर्शन गर्ने निर्णय गरिएको छ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार कात्तिक २९ गते ७७ वटै जिल्लाहरूमा जनसभा गर्ने निर्णय गरिएको र मंसिर ६ गते काठमाडौंमा बृहत जनसभा गर्ने निर्णय पनि बैठकले छ। प्रतिनिधिसभा पुनर्स्थापनाका निम्ति दबाब दिने उद्देश्यले जनप्रदर्शन र जनपरिचालन कार्यक्रम तय गरिएको एमालेले जनाएको छ।

पार्टीको महाधिबेशन भने आउँदो मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने भएको छ। यस अगाडी नेकपा (एमाले) को महाधिवेशन पोखरामा गर्ने निर्णय गरिएको थियो। पार्टीको १० औं केन्द्रीय समितिको बैठकले पोखरामा महाधिबेशन गर्ने भनेकोमा ११ औं बैठकले स्थान परिबर्तन गरि काठमाडौँमा महाधिबेशन गर्ने निर्णय गरेको छ।
नेकपा एमाले, कास्कीले शनिबार पोखरामा बृहत मोटरसाइकल र्याली सम्पन्न गरेको छ । जेनजी आन्दोलनपछि दाङ लगायत देशका विभिन्न स्थानमा गरिएको यस्तै र्यालीको निरन्तरता स्वरूप कास्कीमा पनि यो कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ। नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार, संविधानको रक्षा, प्रतिगामी षड्यन्त्र र अराजकताको साथै जेनजी प्रदर्शनको क्रममा भएको आगजनी, तोडफोड र लुटपाटको विरुद्धमा विरुद्ध मोटरसाइकल र्याली निकालिएको हो।
पोखरा सभागृहबाट सुरु भएको र्याली न्युरोड, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, मुस्ताङचोक, राष्ट्र बैंकचोक, सहिदचोक, लेकसाइडको हल्लनचोक, जिरो किमी, सिर्जनाचोक हुँदै पुनः सभागृहमा पुगेर टुंगिएको थियो । एमालेका जिल्ला नेताहरूका साथै युवा संघ नेपाल, अनेरास्ववियु र अखिल नेपाल महिला संघका कार्यकर्ताहरूको सहभागिता रहेको पोखराको मोटर साइकल र्यालीमा सहभागी बन्न नेकपा एमालेका पोलिटब्युरो सदस्य एबम युवा संघका पुर्व अध्यक्ष महेश बस्नेत पनि पोखरा आएका थिए।



















