स्याङ्जा, जर्मनी प्रविधिमा आधारित तथ्याङ्क विज्ञान (डेटा साइन्स) र कृत्रिम बुद्धिमत्ता (एआई) विषयक २१ दिने तालिम तथा प्रशिक्षण कार्यक्रम स्याङ्जाको वालिङ्ममा संचालन भैरहेको छ । डिजिटल सीप, साइबर सुरक्षा, र वित्तीय साक्षरता मार्फत विशेष गरी किशोरीहरूलाई सशक्त बनाउन प्रशिक्षण संचालन गरिएको हो । वालिङ नगरपालिकाको सहकार्यमा २४ अक्टोबरदेखि शुरु भएको तालिम तथा प्रशिक्षण कार्यक्रम १४ नोभेम्बरसम्म सञ्चालन हुनेछ ।
तालिम तथा प्रशिक्षणमा डिजिटल साक्षरता, इन्टरनेट सुरक्षा, पासवर्ड तथा डाटा संरक्षण, वित्तीय योजना, कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर सिकाइ र उत्पादकत्व बढाउने जस्ता महत्वपूर्ण विषयहरू तालिममा प्रशिक्षण दिईने छ । डिजिटल क्षेत्रमा देखिएको अन्तर घटाउने र भविष्यका नवप्रवर्तकलाई प्रेरित गर्ने उद्देश्य सहित वालिङका विभिन्न संस्थाहरूमा कार्यक्रम गरिने जर्मनी प्रविधिमा आधारित डेटा साइन्स र कृत्रिम बुद्धिमत्ताका विशेषज्ञ तथा मुख्य प्रशिक्षक गौरव तिवारीले जनाए ।
व्यावहारिक अभ्यास मार्फत विद्यार्थीलाई विशेषगरी युवतीहरूलाई आत्मविश्वासी र प्रविधिमा सक्षम बनाउनमा तालिम तथा प्रशिक्षण केन्द्रित रहने तिवारीले जानकारी दिए । तालिम तथा प्रशिक्षण भविष्यमा सफ्टवेयर इन्जिनियर र डेटा साइन्समा करियर बनाउन चाहने विद्यार्थी तथा युवतीहरूको लागि लाभदायी हुने उनले बताए ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नं १४ मा स्थायी घर भएका तिवारी विगत लामो समयदेखि जर्मनीमा सोही विषयमा अध्ययनसँगै आफ्नो पेशा र काम गर्दै आएका छन् । विश्वका शक्तिशाली राष्ट्रहरु प्रविधिका क्षेत्रमा अग्रपंक्तिमा रहेको अवस्थामा नेपालका ग्रामीण क्षेत्रमा रहेका युवा युवतीहरुलाई तालिम तथा प्रशिक्षणले नयाँअवसर सिर्जना गर्ने आयोजकको बिश्वास छ ।
तालिम तथा प्रशक्षिण कार्यक्रममा वालिङ नगर आसपासका विद्यालायका शिक्षक, विद्यार्थी, सरकारी कर्मचारी लगायतको सहभागिता रहेको छ। कार्यक्रम अवधिमा समूहगत छलफल, अन्तरक्रिया, र व्यावहारिक सत्रहरूका संचालन गरिने छ । सहभागीहरूले डिजिटल समावेशीकरण र महिलाको सशक्तीकरणलाई निरन्तर प्रबर्द्दन गर्ने आयोजकले जनाएको छ । पहिलो चरणको तालिम वालिङ नगर क्षेत्रभित्र मात्रै संचालन गरिने बताइएको छ ।-
- प्रकाश डोटेल



















