पोखरा, मंगलवार बिहानदेखि निरन्तर हिमपात भैरहेको कारण गण्डकी प्रदेशको म्याग्दीदेखि धौलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धौलागिरि चक्रीय पदमार्गको हिडन भ्यालीमा आन्तरिक र बाह्य गरेर १५ जना पर्यटक रोकिएका छन। ती मध्ये तीनजना बेलायती महिला र १२ जना नेपाली पर्यटक रहेको बताइएको छ।
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको इटाली आधार शिविर हुँदै मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा आउने पदमार्ग हिमपातले पुरिएपछि उनीहरु हिडन भ्यालीमा रोकिन बाध्य भएका हुन् । उनीहरु ५ हजार १ सय मिटरको उचाईमा रहेको ठाउँमा बास बसेको र त्यहा उनीहरु हालसम्म सुरक्षित रहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिए ।
हिमपात रोकिएर मौसम सफा भएमा हेलिकप्टर त्यहाँ पुगेर उनीहरुको उद्वार गर्न सक्ने र हिउँ पग्लिएर बाटो पत्ता लगाउन सके पनि उनीहरु सुरक्षित स्थलतर्फ जान सक्ने अबस्था रहेको छ । उक्त स्थानमा होटल समेत नरहेको र मोबाइल र इन्टरनेट सेवाको पहुँच नहुँदा सम्पर्क गर्न समेत समस्या परेको बुझिएको छ।
उनीहरुको पथप्रदर्शकले स्याटेलाइट फोन मार्फत उद्धारको अनुरोध गरेको काठमाडौँको सेक्रेट हिमालय ट्रेड एन्ड एक्पिडिसन ट्राभल एजेन्सीलाई उदृत गर्दै प्रजिअ तिवारीले जानकारी दिए पदयात्रामा गएका बेलायती पर्यटकले आँफुहरु समस्यामा परेको भन्दै मङ्गलवार साँझ सम्बन्धित कम्पनी मार्फत हेलिकप्टरबाट उद्धारको व्यवस्था मिलाउन अनुरोध गरेका थिए,’ उनले भने, ‘बुधबार बिहानसम्म सम्पर्कमा रहेका उनीहरू सकुशल छन् ।’
म्याग्दी र मुस्ताङको जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकाय मार्फत उद्धार टोली पठाउने प्रयास गरे पनि हिउँ पर्न नरोकिएकाले समस्या भएको छ । हिउँ पर्न रोकिएर मौसम सफा भएपछि स्थल र हवाई मार्गबाट हिडन भ्याली पुग्न सकिन्छ । सेक्रेट हिमालय ट्रेड एन्ड एक्सपीडिसनका व्यवस्थापक विनय लामाका अनुसार बेलायती नागरिकहरु म्यारी रिप्पे,क्यारिराइन विल्सन र इमिल्ली क्याट्स हिडन भ्यालीमा छन् ।




















