Play

मुस्तांगमा यो सिजनमा पहिलो पटक बर्षासहितको हिमपात, मुक्तिनाथ जाने दर्शनार्थी कागबेनीमा रोकिए

मुक्तिनाथ मन्दिर नजान मुस्तांग प्रशासनको र पदयात्रामा सतर्कता अपनाउन कास्की प्रशासनको आग्रह


गुरुकुल खबर


जोमसोम, हिमाली जिल्ला मुस्ताङमा यस बर्षको यो मौसममा पहिलो पटक हिमपात भएको छ । उपल्लो मुस्ताङको कोरलानाका, लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रमा आज बिहानदेखि हिमपात भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मुस्तांगका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ–२ छोसर, कोरलानाका र मुक्तिनाथ क्षेत्रसहित उपल्लो मुस्ताङ र तल्लो मुस्ताङका उच्च लेकहरूमा वर्षासहित हिमपात भएको छ ।

त्यसैगरी, मुक्तिनाथ क्षेत्रमा हिउँ परेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए । मुक्तिनाथमा बिहानैबाट निरन्तर हिउँ परिरहेकाले मन्दिरमा पुग्ने दर्शनार्थीलाई समस्या परेको जानकारी दिए । “मुक्तिनाथ क्षेत्रमा बाक्लो हिउँ पर्ने क्रम जारी छ, हिउँ पाँच–छ इन्च जति जमेको अवस्था छ”, उनले भने, “जमिन तातो भएकाले जम्न सकेको छैन, यही रफ्तारमा हिउँ पर्ने क्रम केही भएमा दुई फिटसम्म हिउँ जम्छ ।”

मुक्तिनाथ दर्शन गर्न साथीहरुसहित पोखराबाट गएका दिपक प्रसाद पराजुलीका अनुसार मुक्तिनाथ क्षेत्रमा बिहानैदेखि हिउँ परिरहेकाले मन्दिरमा पुग्ने दर्शनार्थीहरूलाई समस्या परेको छ। “मुक्तिनाथ मन्दिर आसपास पांच–छ इन्च जति हिउँ जमेको बताउंदै उनले यही दरमा हिउँ परिरहे दुई फिटसम्म जम्न सक्छ।”

पराजुलीले स्थानीय बासिन्दालाई उदृत गर्दै गुरुकुल खबरलाई दिएको जानकारी अनुसार यस पटक मुक्तिनाथ र जोमसोम क्षेत्रमा भएको हिमपात बिगत चार बर्ष यताको सबैभन्दा ठुलो हो। हिमपातका कारण त्यहाँ पुग्नेहरुले निकै रमाइलो मानेर हिउँ खेल्ने अवसर समेत पाएको भएपनि हिमपातको कारण जोखिम समेत बढेको छ ।

पराजुलीका अनुसार त्यस क्षेत्रमा घुम्न गएका पर्यटक र दर्शनार्थीहरु फर्किन नसक्दा होटलको निकै अभाव देखिएको छ कतिपयले होटल नपाएर भान्सा कोठा वा गोठमा समेत बास बस्ने ब्यबस्था गर्नुपरेको छ। सडकमा हिमपात भएको कारण दुर्घटनाको सम्भावना बढेपछी सवारी साधन रोकिन पुग्दा पर्यटक र तिर्थयात्रुहरुको भिड निकै बढेको छ। सम्भावित जोखिम र दुर्घटनालाई ख्याल गरेर मुक्तिनाथ तर्फ जाने दर्शनार्थीहरुलाई कागबेनीमा बस्न प्रशासनले आग्रह गरेको छ । 

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनसार लोघेकर दामोदरकुण्डको उच्चलेकमा हिमपात भइरहेको र बस्ती नजिक वर्षासँगै आंशिक हिमपात भएको बताए । “यस वर्ष कात्तिकमै हिउँ पर्यो, यहाँ दुई–तीनवर्षसम्म हिउँ पर्न सकिरहेको थिएन”, अध्यक्ष विष्टले भने, “हिउँ पर्नु किसानका लागि निकै राम्रो पक्ष हो, यसले किसानले लगाएका अन्नबाली उत्पादनमा महत्त्वपूर्ण टेवा पुर्याउँदछ ।”

यसैगरी वारागुङ मुक्तिक्षेत्रको खिङ्गा, झोङ, छेङ्गुर, फल्याकलगायत उच्च स्थानका गाउँमा पनि बाक्लो हिउँ परेको वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । हिउँ परेसँगै चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवनमा चिसोको प्रभाव पर्ने बताए । यो यामको कात्तिकमै हिउँ परेकाले स्याउलगायत अन्नबालीलाई फाइदा पुगेको वडाध्यक्ष गुरुङले बताए । हिउँले खेतीयोग्य जमिनको भित्री तहसम्म सिञ्चित गर्ने भएकाले हिउँदयामको किसानका लागि बरदान सावित हुने वडाध्यक्ष उनको भनाइ छ ।

कागबेनीदेखि मुक्तिनाथतर्फ नजान मुस्तांग प्रशासनको आग्रह 

यसैबीच जिल्ला प्रशासन कार्यालय मुस्तांगले वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीदेखि माथि मुक्तिनाथसम्मको यात्रामा नजान सर्बसाधारणलाई अनुरोध गरेको छ । उक्त सडकमा बाक्लो हिमपात भएका कारण सडक दुर्घटनाको जोखिम रहेको उल्लेख गर्दै मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीहरूलाई यस्तो आग्रह गरिएको हो ।

जोमसोम–मुक्तिनाथ सडकखण्डअन्तर्गत कागबेनीदेखी साँघुरो र घुम्ती मोड भएको कालोपत्र सडकमा बाक्लो हिउँ जमेका कारण सवारीसाधन लिएर मुक्तिनाथको यात्रा नगर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । कागबेनी–मुक्तिनाथ सडकखण्डको कालोभिर, खिङ्गा, झारकोटलगायत स्थानका सडकमा बाक्लो हिउँ जमेकाले सवारीसाधन नलैजान यात्रा वर्गलाई अनुरोध गरिएको उनले बताए ।

पदयात्रामा सतर्कता अपनाउन कास्की प्रशासनको आग्रह 

यसैगरी गण्डकी प्रदेशका उच्च हिमाली तथा पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय, कास्कीले पनि पदयात्रामा जाने पर्यटकहरुलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार भाेली (बुधबार )सम्म हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी क्षेत्रमा भारी हिमपात हुन सक्ने भएकोले पदयात्रा र पर्यटनसम्बन्धी गतिविधिमा सावधानी अपनाउन प्रशासनले आग्रह गरेको हो।

प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा ‘ मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनाको पालना गरी मात्र यात्रा गर्ने। अन्नपूर्ण बेसक्याम्प, मर्दी हिमाल, खुमै डाँडा, कोरी लगायत हिमाली पदयात्रा मार्गहरूमा मौसम सफा नभएसम्म यात्रा नगर्ने। पर्याप्त तयारी, सूचना र अग्रिम बुकिङसहित मात्र पदयात्रामा जाने। समूहमा यात्रा गर्ने र विस्तारै उचाइ लिंदै जाने । न्यानो कपडा, तातोपानी, औषधि लगायत आवश्यक सामग्री बोक्ने। धुम्रपान र मद्यपान नगर्ने, तातोपानी र झोलिलो खाना खाने। ‘लेक लाग्ने’ लक्षण देखिएमा तुरुन्त तल्लो उचाइतर्फ झर्ने। स्थानीय तह, पर्यटन व्यवसायी, होटल तथा ट्रेकिङ एजेन्सीहरूले पूर्वतयारी र सहयोगी भूमिका निर्वाह गर्ने।’ भन्दै सार्बजनिक अपिल गरिएको छ।

सम्बन्धित समाचार ..

पर्यटकीय नगर पोखरासहित घान्द्रुक र मुस्तांगमा पर्यटकको संख्या ह्वात्तै बढ्यो, पाहुना ब्यबस्थापनमा कठिनाई

११ कार्तिक २०८२, मंगलवार १३:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा