पोखरा, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको स्याङ्जाको पुतलीबजारमा सम्पन्न छैठौं विश्व सम्मेलनले बेल्जियम निवासी मिनबहादुर क्षेत्रीलाई आगामी कार्यकालका लागि नबनिबाचित कार्यसमितिको अध्यक्षमा निर्वाचित गरेको छ । स्याङ्जा सहयोग समाज विश्वका विभिन्न मुलुकमा बिभिन्न पेशा र ब्यबसाय गर्नको लागि बसोबास गर्ने स्याङ्जालीहरूको छाता संस्थाको रुपमा रहेको छ ।
समाजको अन्तराष्ट्रिय अध्यक्षमा निर्बाचित मिनबहादुर क्षत्री स्याङ्जाको आँधीखोला गाउँपालिकामा २०३१ सालमा जन्मिएका हुन । २०४६ सालमा एसएलसी पास गरेपछि उनले पोखराको पृथ्वीनारायण क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र समाजशास्त्रमा समेत स्नातकोत्तर तह उत्तीर्ण गरेका छन । उनले पोखरामा रहंदा कानुन ब्यबसायी, शिक्षक र संचारकर्मीको रुपमा समेत काम गरेका थिए ।
सन २०११ मा बेल्जियम पुगेका क्षत्रीले २०१९ मा बेल्जियममा स्याङ्जा समाज बेल्जियम स्थापना गरेर नेतृत्व लिएका थिए । उनले २०२१ मा स्याङ्जा समाज अन्तराष्ट्रिय समन्वय समितिको यूरोप संयोजक र त्यसपछि समितिको सचिब रहेर काम गरेका थिए । उनकै पहलमा र युरोप क्षेत्रमा रहेका स्याङ्जालीहरुको सहयोगमा एक करोड रुपैयाको अक्षयकोष स्थापना गरिएको जनाइएको छ । उक्त कोषबाट प्राप्त हुने ब्याजको रकमबाट जिल्लाको सामाजिक, समुदायिक क्षेत्रमा रचनात्मक काम हुँदै आएका छन ।

सन् २०२३ मा अन्तराष्ट्रिय समितिको उपाध्यक्ष बनेर काम गरेका उनी अहिले स्याङ्जामा सम्पन्न विश्व सम्मेलनबाट स्याङ्जा सहयोग समाजको अध्यक्षका रूपमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्बाचित क्षत्रीले संस्थाको आफ्नै कार्यालय भवन निर्माण गर्ने, प्रशासनिक प्रणाली सुदृढ बनाउने, विश्वव्यापी संरचना विस्तार गर्ने, युवाहरूलाई नेतृत्वमा ल्याउने र समाजको अक्षयकोष लाई दीर्घकालीन स्रोतको रुपमा रूपान्तरण गर्ने जस्ता योजना अगाडी सार्ने बताएका छन । ‘यदि म बिहान–साँझ खानको लागि कमाउँछु भने, त्यो कमाइको केही हिस्सा समाजको लागि खर्च गर्नुपर्छ, क्षेत्रीले आफ्नो योजना सुनाए ।
आगामी दुई बर्षे कार्यकालको लागि निर्बाचित अन्तराष्ट्रिय समितिको बरिष्ठ उपाध्यक्षमा दक्षिण कोरियाका राजेश पाण्डेय, उपाध्यक्षमा पोर्चुगलका एम.पी. अर्याल र अर्जुन अर्याल, जापानका ध्रुब ज्ञवाली, युएईका पिताम्बर अर्याल, अमेरिकाका शोभाकान्त पाण्डेय र महिला उपाध्यक्षमा बेल्जियमकी इन्दिरा खनाल निर्बाचित भएका छन ।

समितिको महासचिवको क्रोसियाका ओमप्रकाश पोखरेल, सचिवमा नेपालका गुप्त प्रसाद गैह्रे र अमेरिकाका दिनदयाल भण्डारी निर्वाचित भएका हुन् । यसैगरी कोषाध्यक्षमा नेपालकै चिरञ्जीवी ढकाल, सह–कोषाध्यक्षमा तारा प्रसाद गौडेल, प्रवक्तामा धर्मागत पराजुली र युवा संयोजकमा बिदुर कोइराला निर्वाचित भएको बताइएको छ । समितिको क्षेत्रीय संयोजकमा अमेरिकाबाट ज्ञानबहादुर क्षेत्री, मध्यपूर्वबाट गोपाल पंगेनी र एसिया–प्यासिफिक क्षेत्रबाट चित्र गुरुङ चयन भएका छन् ।
निर्वाचन समितिका संयोजक खेम काफ्लेका अनुसार समितिको सदस्यहरूमा साउदी अरबका विष्णु भट्टराई, जापानका तुलसीराम गौडेल, पोर्चुगलका राजेन्द्र प्रसाद डुम्रे र जापानकै अर्मान गुरुङ निर्वाचित भएका हुन् । देश र विदेशमा रहेका स्याङ्जालीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनलाई स्याङ्जाको स्थानीय समुदायले पनि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बुझिएको छ।



















