Play

पोखराको प्रस्यांगमा चक्कु प्रहार गरि अनिल पराजुलीको हत्या, हत्यामा संलग्न किशोर तिमिल्सिना पक्राउ

गुरुकुल खबर


पोखरा,  पोखरा महानगरपालिका- ५ प्रस्यांग निवासी ४५ बर्षीय अनिल पराजुलीको अकल्पनीय किसिमले हत्या भएको छ। शुक्रबार राति संगै बसेर खानपिन गरेका र संगै तास खेलेका स्थानीय २४ बर्षीय किशोर तिमिल्सिनाले चक्कु प्रहार गरेर पराजुलीको हत्या गरेको हुन् सामान्य बिबादलाई लिएर उनले चक्कु प्रहार गरेर हत्या गरेकोम खुल्न आएको छ ।

शुक्रबार राति फिर्केखोला नजिक चितेपानी रेस्टुरेन्टमा बसेर उनीहरुले खानपिन गरेको र तास खेल्ने क्रममा सामान्य बिबाद भएपछि अनिलले किशोरलाई दुई झापड हानेको बुझिएको छ। उनीहरुबिचको झगडालाई संगै बसेका अन्य साथीहरुको रोहबरमा तत्कालै मिलाइएको भएपनि त्यसको केहीबेरमा किशोरले अनिलमाथि चक्कु प्रहार गरेका थिए।

( चक्कु प्रहार गरेर हत्या गरिएका अनिल पराजुली )

रेस्टुरेन्टबाट बिहान तिन बजेतिर निस्केर प्रस्यांग चिल्ड्रेनपार्क नजिक आंफ्नो घरमा हिंडेका अनिललाई उनकै घर नजिक सडकमा कुरेर बसेका किशोरले एक्कासी चक्कु प्रहार गरेको थिए । खानपिन गर्न बसेको रेस्टुरेन्टबाट नै छुरा लिएर निस्केका किशोरले अनिलको घर नजिक सडकमा पुगेर अनिललाई कुरेर बसेको र भेट्ने बित्तिकै  शरीरको बिभिन्न भागमा चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै स्थानीय बसिन्दाले गुरुकुल खबरलाई जानकारी दिए ।

तिमिल्सिनाले होटलमै राखिएको चक्कु लिएर पराजुलीको घाँटीमुनिबाट पछाडिपट्टि प्रहार गरे। अनिलको पछाडीबाट चक्कु प्रहार गर्दा अनिलको घांटी, मुटु र फोक्सोमा गम्भीर चोट लागेकोअनि घटनास्थलमै अनिलको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। रेस्टुरेन्टबाट  करिब १ सय मिटर टाढा  र मृतक अनिलको घरबाट करिब ५० मिटर मात्र टाढा पर्ने सडकमै उक्त घटना भएको थियो।

चक्कु प्रहारका कारण गम्भीर घाइते भएका अनिललाई अचेत अबस्थामा अस्पताल लागिएकोमा बिहान पौने चार बजे नै उनलाई मृत घोषणा गरिएको थियो। कास्की प्रहरीका सूचना अधिकारी एबम प्रहरी नायब उपरिक्षक हरिबहादुर बस्नेतका अनुसार चक्कु प्रहार गर्ने युवा किशोरलाई अनिलको हत्यामा प्रयोग गरिएको चक्कु सहित पक्राउ गरि कर्तब्य ज्यान सम्बन्धि मुद्धामा अनुसन्धान र कारबाही प्रक्रिया अगाडी बढाईएको छ ।

निज किशोर तिमिल्सिना महानगरपालिका -१८ सरांगकोटका पुराना बासिन्दा भएपनि पछिल्लो समय उनि पोखरा -५ मालेपाटन स्थित रेडियो नेपालको प्रादेशिक प्रशारण कार्यालय नजिक घर बनाएर आंफ्नो परिवारसंगै बस्दै आएका छन ।

चक्कु प्रहारपछि निज किशोर तिमिल्सिना इनड्राइभ एपमार्फत मोटरसाइकल बोलाएर घटनास्थलबाट भागेर पोखरा–६, लेकसाइड क्षेत्रमा लुकेर बसेका थिए। प्रहरीले तिमिल्सिनाको आफन्तको मोबाइल नम्बरबाट सम्पर्क गरी बोलाएपछि बिहान सवा ४ बजेतिर नै उनलाई घर नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी बस्नेतले जानकारी दिएका छन।

मृतक अनिलको शव पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रहेको र पोस्टमार्टम गरिसकेपछि शनिबार नै अन्त्येष्टी गरिने पारिबारिक श्रोतले जानकारी दिएको छ ।

उक्त घटनाको जानकारी पाएलगत्तै निकै पिडामा देखिएका मृतक अनिलका बुवा भोलानाथ पराजुली घटना लगत्तै अर्धचेत अबस्थामा पुगेको भएपनि घटनाको अनुसन्धानको प्रक्रियालाई अगाडी बढाउन आफन्तहरुसंगै प्रहरी कार्यालय र अस्पताल धाउन बाध्य भएका छन।

घरमा मुर्छित अबस्थामा रहेकी अनिलकी आमा रामकली पराजुलीलाई आफन्तहरुले सम्हाल्ने कोसिस गरिरहेको छन। यसैगरी, अनिलको अकल्पनीय हत्या गरिएको घटनाको कारण उनकी धर्मपत्नी बिन्दु पोखरेल पराजुली र अन्य आफन्तहरुको पनि घरमा रुवाबासी चलिरहेको छ।

को हुन् मृतक अनिल पराजुली ?

प्रस्यांगको पराजुली परिवारमा जन्मिएका अनिल पराजुली स्थानीय भोलानाथ पराजुली र रामकली पराजुलीका दुई छोरी पछिका एक मात्र छोरा हुन। अनिलका बुवा भोलानाथ पराजुली नेपाली काँग्रेस पोखरा महानगरपालिका -५ वडा कार्यसमितिका उपसभापति एबम स्थानीय सामाजिक कार्यकर्ताको रुपमा पनि चिनिन्छन।

परिवारको एक्लो छोरा अनिलको पनि ६/७ बर्ष उमेरकी एक छोरी छन। अनिलकी श्रीमती बिन्दु पोखरेल पराजुली घर नजिकैको हिमालयन बोर्डिंग स्कुलमा कार्यरत छिन।

( आफ्नो एक मात्र छोरीसंग अनिल पराजुली )

तिहारको भोलिपल्ट राति भएको उक्त घटनाका कारण अनिलका दुई दिदी गंगा र गीता समेत बिक्षिप्त बनेका छन। भाइटिकाको दिन भाईलाई टिका लगाएर दिर्घायुको कामना गरेका दुई दिदिहरुले त्यसको भोलिपल्ट नै भाईलाई सदाको लागि गुमाउनु परेको भन्दै मन सम्हाल्न सकिरहेका छैनन।

अनिललाई टिका लगाएर काठमाडौँ पुगेकी कान्छी दिदि गीता पनि शनिबार बिहान सबेरै घटनाको जानकारी पाएपछि करिब १० बजे नै जहाजबाट पोखरा आईपुगेको कांग्रेस नेतृसमेत रहेकी स्थानीय पार्वती कोइरालाले गुरुकुल खबरलाई जानकारी दिईन।

अनिलको हृदयविदारक किसिमले हत्या भए लगत्तै उनको घरमा स्थानीय पराजुली परिवार सहित आफन्त र शुभचिन्तकहरुको उपस्थिति ठुलो संख्यामा भएपनि सबै शोकमा डुबेका छन्। नेपाली काँग्रेसका नेता समेत रहेका स्थानीय युवा ब्यबसायी पुरुषोत्तम पराजुलीले निडर र सहयोगी स्वभावको उर्जावान युवालाई अकल्पनिय ढंगबाट गुमाउनु परेको भन्दै दुख प्रकट गरे।

यसैबीच, नेपाली काँग्रेस पोखरा महानगरपालिका -वडा न. ५ कार्यसमितिले समितिका उपसभापति भोलानाथ पराजुलीका सुपुत्र एवं नेपाली कांग्रेसका क्रियाशील सदस्य अनील पराजुलीको अल्पायूमै भएको हृदयविदारक निधन भएको भन्दै गहिरो दुख प्रकट गरेको जनाएको छ । वडा कार्यसमितिका सभापति प्रकाश कोइराला र सचिब हरी पन्तले जारी गरेको शोक बिज्ञप्तीमा अनिलको हत्या गर्ने आपराधिक कार्यमा संलग्न व्यक्ति माथि कडाभन्दा कडा कार्वाही गर्न समेत माग गरिएको छ ।

८ कार्तिक २०८२, शनिबार १३:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा