रुकुम, रूकुम पश्चिमको स्यालाखाँदीबाट मुसिकोटतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप शुक्रबार आज साँझ ०९करिब् ६ बजे दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ भने १० जना बढी घाइते भएका छन। दुर्घटनाग्रस्त जिप सडकबाट झन्डै ७०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरू त्रिवेणी गाउँपालिकाको सिमरूतस्थित चर्चको मण्डलीमा सहभागी भएर घर फर्किंदै गरेको अबस्थामा जीप दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका सात जनामध्ये ६ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ।
मृतकहरुमा आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला वली, आठबिसकोट–२ का १६ वर्षीय टेकजंग बुढा, आठबिसकोट–१५ की दिलमाया बुढा, आठबिसकोटकै १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक र २२ वर्षीय गोपाल वली छन्। एक मृतक महिलाको पहिचान भने खुल्न बाँकी छ।
आठबिसकोट नगरपालिका–२ का वडाध्यक्ष देवबहादुर ऐरीका अनुसार सबै जना मण्डलीमा गएर फर्किरहेका क्रिश्चियन धर्मावलम्बीहरू हुन् र उक्त घटनाको कारण वडाबासी नै स्तब्ध बनेका छन। उनका अनुसार अर्को जिपमा वडाका अन्य सर्बसाधारणहरु पनि मण्डलीमा सहभागी हुन गएका थिए।
दुर्घटनामा परेको जिपको भित्र १९ जना र छतमा ६ जनाजति सवार रहेको वडाध्यक्ष एरीले बताए। छतमा बसेकाहरुले भिरमा हाम फालेर ज्यान जोगाउन सफल भएको पनि उनले जानकारी दिए।
दुर्घटनामा परेको जिप स्थानीय प्रेम ऐरीको हो। उनकै अर्को जिपका चालक भुवन कुसारीका अनुसार उकालो उक्लिने क्रममा ढुंगामा ठोक्किएर जिपको मेनपट्टा भाँचिएपछि जिप पछाडि सरेर सडकबाट तल खसेको हो।
‘उकालो निकै ठाडो थियो। ढुंगामा पट्टा भाँचिएपछि जिप ब्याक भएर खस्यो,’ भुवनले भने, ‘दुर्घटनाको खबर पाउनासाथ हामी अर्को गाडी लिएर घटनास्थल पुग्यौं। पाँच जना घाइतेलाई मैले अस्पताल पुर्याएँ।’
जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक हरि पुनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।। उनले अहिले आफू अस्पतालतिर जाँदै गरेको र विस्तृत विवरण अनुसन्धानपछि खुल्ने बताए।
प्रहरी निरीक्षक पुनका अनुसार घाइते १० जनाको पनि परिचय खुल्न बाँकी छ। सबै घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल सल्ले पठाइएको छ।
तस्बिर – (रुकुममा यस अगाडी भएको जीप दुर्घटनाको तस्बिर)




















