काठमाडौँ, शहीदको रगत खेर नजाओस् भन्दै जेनजी युनाइटेडको नाममा शुक्रबार काठमाडौँमा प्रदर्शन गरिएको छ। परिवर्तनको माग गर्दै आन्दोलित भएका युवाहरूले शहीदको बलिदानलाई बिर्सन नहुने भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। युवा पुस्ताले देशमा सकारात्मक परिवर्तन ल्याउनका लागि शहीदको योगदानको स्मरण गर्दै दबाब सिर्जना गर्ने भन्दै दिनहुँ जसो प्रदर्शन गरिरहेका छन् ।

यसैक्रममा ‘जेनजी’ युवाहरुले गरेको प्रदर्शन मार्फत भदौ २३ र २४ गते सम्पन्न आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरिएको छ। ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आयोजना गरेको खबरदारी सभामा बोल्दै अभियान्ताहरुले देशभरको जेनजीलाई एकताबद्ध बनाउन सरकारले नै पहल गर्नुपर्नेमा जोड दिए ।
उनीहरुले सरकार जेनजी आन्दोलनको भावनाअनुसार अघि बढ्न नसकेको, सम्पूर्ण जेनजी युवालाई एकताबद्ध बनाउनुको सट्टा बेग्लाबेग्लै समूहमा विभाजित गर्न भूमिका खेलेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनीहरुले जेनजी युवालाई एकताबद्ध गराउन सरकारले तत्काल ७७ वटै जिल्लामा ‘जेनजी सम्मेलन’ आयोजना गर्नुपर्ने धारणा राखेका थिए ।

जेनजी आन्दोलनको घाइते मदन कार्कीले सरकारले आफूहरुको माग सुनुवाइ नगरी निर्वाचनमा सहभागी हुन दबाब दिएको जनाउँदै माग पूरा गराउन सम्पूर्ण जेनजी एक हुनुपर्ने आवश्यकता औँल्याए । ‘जेनजी युवा सडकमा विजयी र वार्तामा पराजित भए पनि अब एकताबद्ध भएर सङ्घर्ष गर्नुपर्छ’, उनले भने– ‘जात, भाषा, पार्टी बिर्सेर सम्पूर्ण जेनजी एकताबद्ध हुनुपर्छ, अहिले हाम्रो राष्ट्र भन्दा ठूलो केही छैन ।’
घाइते कार्कीले २०८४ को निर्वाचनलाई २०८२ मा सार्नका लागि मात्रै वर्तमान सरकार नबनेको भन्दै आन्दोलनको भावना र माग पूरा गर्न सरकार प्रतिबद्ध हुनुपर्ने बताए ।जेनजी एकताको माग गर्दै माइतीघरमा खबरदारी सभा गर्दै आएको सो संस्थाले आफूहरुको माग पूरा नभएसम्म विरोध जारी रहने जनाएको छ । जेनजी एकता अभियान्ता ज्योतिका राईले सरकारले नै सम्पूर्ण जेनजी युवालाई एकताबद्ध हुन पहल र आह्वान गर्नुपर्ने आफूहरुको माग रहेको र सो माग पूरा नभएसम्म विरोध जारी रहने बताएको राससले जनाएको छ ।





















