Play

दलका नेतासंग प्रम कार्कीको पहिलो पटक चुनाब केन्द्रित छलफल, सम्बादमा ढिलाई भएको कार्कीको स्विकारोक्ती

दलका नेताहरुले ब्यक्त गरेको चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ, अब सबै निर्बाचनमा जुटौं - प्रम कार्की


गुरुकुल खबर


काठमाडौँ,  जेनजी पुस्ताको नाममा भएको आन्दोलन पश्चात बनेको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र बिभिन्न राजनीतिक दलका नेताहरूको बिचमा पहिलो पटक छलफल भएको छ । यस अगाडी राष्ट्रपति रामचन्द्र पौडेलले दलका नेता र प्रधानमन्त्री सहित सरकारका मन्त्रीहरुलाई बोलाएर फागुन २१ गते हुने भनिएको चुनाबको बारेमा छलफल गरेको भएपनि प्रधानमन्त्री कार्कीले पहिलो पटक प्रमुख दलका नेताहरुलाई बोलाएर छलफल गरेकी हुन् ।

मङ्गलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब ५ घण्टा भएको छलफलमा दलका नेताहरुसंग निर्वाचन र शान्ति सुरक्षाका सन्दर्भमा छलफल भएको हो ।त्यसक्रममा राजनीतिक दलका नेताहरूले निर्वाचनका लागि शान्ति सुरक्षाको विषयलाई प्रमुख हुने भन्दै सरकारले त्यसमा ध्यान दिन नसकेको विषय बैठकमा उठाएका छन् । बैठकमा सहभागी दलका नेताहरूले आफ्नो आफ्नो दलको तर्फबाट निर्वाचनका सम्बन्धमा पार्टीको औपचारिक धारणा समेत राखेका थिए।

छलफलमा सहभागी बिभिन्न दलका नेताहरूले अहिलेकै अवस्थामा स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन नसक्ने भन्दै त्यसका लागि सरकारले वातावरण बनाउनुपर्ने कुरामा जोड दिएका थिए।  शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म चुनावको वातावरण बन्न नसक्नेमा उनीहरुको समान धारणा प्रकट भएको थियो ।  छलफलमा सहभागी नेपाली कांग्रेसका प्रबक्ता एबम नेता डा. प्रकाशशरण महतले बिभिन्न दलका नेताहरूले शान्ति सुरक्षाको प्रत्याभूति नभएको र सुरक्षा निकायको पनि मनोबल खस्किएको अबस्थामा सरकारले शान्ति सुरक्षाको अबस्था मजबुत बनाउनुपर्ने कुरामा जोड दिएको बताए।  सरकारका मन्त्री एबम जिम्मेवार व्यक्तिहरुको अभिव्यक्तिले नै चुनावबारे विश्वस्त हुन सक्ने अवस्था नरहेको नेताहरुले बताएको उनले जानकारी दिए ।

छलफलमा सहभागी भएका प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले दलका नेताहरू सबैले आ–आफ्नो तर्फबाट खुलेर कुरा राखेको बताए । उनले भने, ‘सवैबाट चासोहरू व्यक्त भएका छन् । मुख्यतः सुरक्षा चासोमा घनीभूत छलफल भएको छ । प्रधानमन्त्रीज्यूले सरकारको मुख्य ध्येय निर्वाचन रहेको र दलहरूको सहयोगबिना त्यो सम्भव हुँदैन भन्नुभएको छ।’

छलफलमा बोल्दै डा. महतले आफ्नो पार्टी नेपाली कांग्रेस निर्वाचनमा जान तयार रहेको तर सरकारले सुरक्षाको प्रत्याभूति दिन नसकेको र ध्वंसात्मक गतिबिधि सहित आगजनी र लुटपाटको घटनामा संलग्नलाई कारबाही गर्न सरकारले चासो नदेखाएको बताएका थिए ।  ‘छलफलमा गृहमन्त्रीले पनि बोल्नुभयो तर सुरक्षा दिन सक्छौ भनेर आत्मविश्वास दिलाउन सक्नुभएन, बरु कठिनाइका कुरा गर्नुभयो’, महतले केहि संचारकर्मीसंग भने। ‘गृहमन्त्रीले जेनजीको आफ्नै किसिमको दबाब रहेको र दलका नेताहरुको आफ्नै कुरा रहेको भन्दै गुनासो गर्नुभयो ।’ डा. महतले भने

राप्रपाबाट छलफलमा सहभागी नेता राजेन्द्र गुरुङले अहिलेको समय संविधान र व्यवस्थाको चिन्ता भन्दा पनि देश जोगाउनुपर्ने खाँचो रहेको कुरा आंफुले राखेको बताए। ‘अब हुने चुनाब मुलुकलाई निकास दिने गरी हुनुपर्छ र त्यसको लागि उपयुक्त वातावरण सरकारले बनाउनुपर्छ भन्ने धारणा मैले बैठकमा राखे’ गुरुङले भने ।

उक्त छलफलमा सहभागी नेकपा एमालेका नेताहरू शंकर पोखरेल र प्रदिप ज्ञवालीले यहीँ अवस्थामा निर्वाचन कसरि सम्भव हुनसक्छ  ? भन्दै सरकारको जवाफ माग गरेका थिए । उनीहरुले सरकारमा बस्नेहरुको गैरजिम्मेवार अभिव्यक्तिको कारण द्वन्द बढ्नसक्ने भएकोले सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए।

बिभिन्न दलका नेताहरुले सरकारले सुरक्षाको बाताबरण बनाउन नसकेको र सरकारमा बस्नेहरुको अभिव्यक्तिको कारण नै मुलुकमा शान्ति सुरक्षाको स्थिति बिग्रिनसक्ने भन्दै सरकार जिम्मेवार बन्नुपर्ने बताएपछि प्रधानमन्त्री कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध रहेको बताएकी थिईन ।चुनाबको निमित्त मन्त्रीहरू र सुरक्षा निकायलगायत सिंगो सरकार अहोरात्र खटिएर काम गरिरहेको उनको भनाई थियो ।

राजनीतिक दलका नेताहरुले सरकारले दल एबम स्टेकहोल्डरसंगको सम्बादमा ढिलाई गरेको बताएपछि प्रधानमन्त्री कार्कीले घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भएकाले दलहरूसँगको संवादमा ढिलाइ हुन पुगेको भन्दै स्पस्टिकरण दिएकी थिईन । उनले सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै नरुचाएको भन्दै राष्ट्रपतिबाट संवादको ढोका खोलिदिने काम भएको पनि त्यस अबसरमा स्मरण गराएकी छन् ।

‘अब जेनजी र दलहरू बसौँ । जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ’, प्रधानमन्त्री कार्कीले छलफलमा भनिन्, ‘चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेलौँ । यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ ।’ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी रहेका थिए ।

बालुवाटारमा प्रमुख राजनीतिक दलहरूसँग भएको संयुक्त छलफलपछि प्रधानमन्त्री कार्कीले सबै दल, नागरिक र राज्यका अङ्गहरूलाई आआफ्नो जिम्मेवारीका साथ आगामी निर्वाचनमा जुट्न समेत आह्वान गरेकी छन। सामाजिक संजालमा कार्कीले भनेकी छन “आगामी निर्वाचनको वातावरण बनाउने प्रयासस्वरूप दलहरूसँग सौहार्दपूर्ण संवाद सम्पन्न भएको छ। निर्वाचनको आवश्यकतामा कसैको विमति छैन। सबै पक्षका चासो र चिन्ता सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध छ। आआफ्नो ठाउँबाट निर्वाचनमा जुटौँ।”

राजनीतिक दलहरूबिच विश्वास र सहकार्यको वातावरण निर्माण गर्न संवादलाई पहिलो र महत्त्वपूर्ण कदमका रूपमा लिएको उल्लेख गर्दै उनले भनेकी छन “हाम्रो आमन्त्रणलाई स्वीकार गरी संवादमा उपस्थित सबै नेतागण तथा पर्यवेक्षकप्रति आभार व्यक्त गर्न चाहन्छु। कार्यक्रमलाई महत्त्वका साथ जनतासम्म पुर्‍याउन भूमिका खेल्ने सञ्चारकर्मी मित्रहरूलाई पनि धन्यवाद।”

छलफलमा सहभागी भएका सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले सरकार र दलहरूबिचको छलफल सकारात्मक रहेको भन्दै सबै दलले निर्वाचनमा भाग लिने कुरा गरेको तथा सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने र सरकार उत्साहित भएको समेत बताए । उनले सुरक्षाको वातावरण बनाउन सरकार, जेनजी र दलहरूले समेत सघाउने विश्वास बढेको बताए ।

छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी थिए । यसैगरी पर्यवक्षकको रुपमा डा. केदारभक्त माथेमा र विधाधर मल्लिकलाई समेत बैठकमा सहभागी गराइएको थियो ।

 

छलफलमा राजनीतिक दलहरूका तर्फबाट नेपाली कांग्रेसका गगनकुमार थापा र प्रकाशशरण महत, नेकपा (एमाले)का शङ्कर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र)का वर्षमान पुन र पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव र प्रकाश अधिकारी, नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र पाण्डे र प्रकाश ज्वालालगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिबालयले जनाएको छ ।

४ कार्तिक २०८२, मंगलवार २३:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा