काठमाडौँ, जेनजी पुस्ताको नाममा भएको आन्दोलनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफूले कार्यभार सम्हालेपछि पहिलो पटक मुलुकका प्रमुख राजनीतिक दलका नेताहरुलाई छलफलको लागि आमत्रण गरेकी छन । सरकारले आगामी फागुन २१ गतेको लागि निर्बाचनको मिति तोकिसकेको भएपनि अझैसम्म निर्बाचनको सहज बाताबरण बन्न नसकेको कारण उनले छलफलमा बोलाएको हुन।
निर्बाचनको बाताबरण तयार गर्ने लक्षका साथ प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा राष्ट्रिय मान्यताप्राप्त दलका अतिरिक्त विघटित संसद्मा प्रतिनिधित्व गर्ने बिभिन्न दलका नेताहरुलाई बोलाइएको प्रधानमन्त्री कार्कीको सचिबालयले जनाएको छ । छलफल अहिले भर्खरै शुरु भएको बुझिएको छ ।
उनको सचिवालयले पठाएको नामावलीमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १४ दलमध्ये १० दलका नेताका नाम मात्रै उल्लेख गरिएको छ । छलफलमा जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीको प्रतिनिधिहरु बाहेक अन्य दलका नेताहरुलाई आमन्त्रण गरिएको बताइएको छ।
सचिवालयका अनुसार छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत सहभागी हुँदैछन् भने नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी बन्दै छन ।
प्रधानमन्त्रीको सचिवालयले नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठलाई आमन्त्रण गरेको जनाएको छ
यसैगरी समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी हुने छन् । त्यस्तै जनमत पार्टीबाट चन्दनकुमार सिंह उक्त छलफलमा सहभागी हुनेछन् । एकीकृत समाजवादी पार्टीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपमहासचिव प्रकाश ज्वालालाई छलफलमा बाेलाइएकाे छ ।
विघटित प्रतिनिधिसभामा जनता समाजवादी पार्टीको ७ जना, जनमोर्चा र आम जनता पार्टीको एक/एकजना सांसद रहेका थिए ।




















