पोखरा, तिहारको आगमनसंगै जुवातास खेल्ने प्रचलन बढ्दै जाने भएपनि जुवातास खेल्नमा प्रतिबन्ध भएको कारण देशका बिभिन्न भागमा जुवातास खेलेको अभियोगमा पक्राउ पर्ने क्रम पनि बढेको छ। यसैक्रममा कास्की जिल्लाको पोखरामा पनि जुवातास खेल्दै गरेको अबस्थामा २० जनालाई पक्राउ गरिएको छ उनीहरुको साथबाट लाखौं रुपैया नगद सहित अन्य जुवाजन्य सामग्री बरामद भएको प्रहरीले जनाएको छ।
कास्की जिल्ला प्रहरी कार्यालय र मातहतका अन्य प्रहरी कार्यालयको टोलीले शनिबार देखि शुरु गरेको अभियान अन्तर्गत आइतबार करिब ५ बजेतिर पोखरा -९ नयाँबजारस्थित एउटा घरमा जुवातास खेलिरहेका र खेलाउने गरि ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुको साथबाट २ लाख ५१ हजार ४ सय ५५ रुपैया नगद र २ सय १२ पत्ती तास बरामद गरिएको थियो ।
यसैगरी सोमबार बिहान १० बजे पोखरा महानगरपालिका-२६ विजयपुरस्थित लप्सिबोट सामुदायिक जंगलमा कौडा खेलिरहेका र खेलाउने गरि ७ जनालाई प्रहरीले पक्राउ गरि ७७ हजार २ सय ५ रुपैया नगद र १४ थान कौडाको गोटी बरामद गरेको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक हरिबहादुर बस्नेतले गुरुकुल खबरलाई जानकारी दिए ।
यसैगरी सोमबार राति करिब साढे ११ बजेको समयमा कास्कीको पोखरा महानगरपालिका- २ मोहरिया टोलस्थित एक घरबाट जुवातास खेलिरहेका र खेलाउने गरि ८ जना मानिसहरुलाई २ लाख ७३ हजार ४ सय ४५ रुपैया नगदको साथै ६ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरुको नाम र ठेगाना भने प्रहरीले सार्बजनिक गरेको छैन उनीहरुलाई आबश्यक अनुसन्धान सहित कारबाहीको प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।





















