पोखरा, गण्डकी प्रदेश सरकारले सवारी कर, दस्तुर र शुल्क तिर्न बाँकी रहेका सवारीधनीहरूले पुरानो कर कार्तिक मसान्तभित्र तिर्न चाहेमा कुनै पनि जरिवाना वा अतिरिक्त शुल्क नलिने भएको छ । गण्डकी प्रदेश सरकारले जारी गरेको राजपत्रमा उल्लेख भए अनुसार आर्थिक ऐन २०८२ को दफा ३ बमोजिम सवारी कर अन्तर्गत उपदफा (१) अनुसार भाद्र २३ देखि असोज मसान्तसम्म तिर्नुपर्ने कर, दस्तुर वा शुल्क नतिरेका सवारीधनीहरूले कार्तिक मसान्तभित्र भुक्तानी गरेमा जरिवाना तिर्नु पर्नेछैन।
राजपत्रमा भनिएको छ, “मिति २०८२ साल कार्तिक मसान्तभित्र सवारी कर, दस्तुर तथा शुल्क तिर्न आएमा कुनै पनि जरिवाना वा अतिरिक्त शुल्क लाग्ने छैन।” यस निर्णयले लामो समयदेखि कर तिर्न ढिलाइ भएका सवारीधनीहरूलाई अस्थायी राहत प्रदान गर्ने लक्ष्य लिएको प्रदेश सरकारले जनाएको छ।
यसबाहेक, सवारी तथा यातायात व्यवस्थापनसम्बन्धी अन्य कुनै कर, दस्तुर वा शुल्क तिर्न बाँकी रहेकाहरूले पनि कार्तिक मसान्तभित्र तिर्न आएमा सोही अवधि भित्र जरिवाना वा अतिरिक्त शुल्क तिर्नु नपर्ने भएको छ।
गण्डकी प्रदेश सरकारका अनुसार यो व्यवस्था एकमुष्ट राजस्व संकलनलाई सहज बनाउने र सवारी कर तिर्न बाँकी रहेका नागरिकलाई अवसर प्रदान गर्ने उद्देश्यले गरिएको हो।
यस निर्णयपछि कर नतिरी रहेका सवारीसाधन धनीहरूले अब कार्तिक मसान्तभित्र राजस्व कार्यालय वा सम्बन्धित यातायात कार्यालयमार्फत आफ्नो बक्यौता कर तिरे सजिलै जरिवाना मुक्त हुन सक्नेछन्। प्रदेश सरकारले यसलाई “राजस्व सहुलियतको विशेष व्यवस्था” भन्दै सबै सवारीधनीलाई समयमै कर भुक्तानी गर्न आग्रह गरेको छ।





















