पोखरा, जेनजी पुस्ताको नाममा भएको आन्दोलन पछि देशका प्रमुख राजनीतिक दलहरुमा नेतृत्व परिबर्तन र रुपान्तरणको बिषयले चर्चा पाइरहेको भएपनि नेकपा एमालेको केन्द्रीय नेतृत्वमा भने परिबर्तनको सम्भावना कमै देखिएको छ। तर, नेकपा एमालेको केन्द्रीय समितिको जारी बैठकमा पनि केहि नेताहरुले नेतृत्व परिवर्तनको सवाललाई गम्भीरतापुर्बक उठाउनेहरुको संख्या पनि कम छैन।
यसैक्रममा जिल्ल्स्तरका नेताहरुले पनि पार्टीमा नेतृत्व परिवर्तन र रुपान्तरणको बिषयमा बोल्न थालेका छन। नेकपा एमाले कास्कीका युवा नेता दर्शन लामाले पार्टीको जमिन र नेतृत्वको बिचमा अत्यधिक गहिरो दुरी भैसकेको उल्लेख गर्दै आवको बाटो नयाँ पुस्ताको लागि खुल्ला गर्नुपर्ने बताएका छन।
लामाले नेकपा एमालेको तर्फबाट अघिल्लो स्थानीय तहको निर्बाचनमा पोखरा महानगरपालिका -१३ को वडाध्यक्ष निर्बाचित भएर काम गरेका र नेकपा एमाले कास्कीको पदाधिकारी समेत रहेर काम गरेको छन।
उनले सामाजिक संजाल फेसबुकमा ‘पार्टीमा नेतृत्व परिबर्तन प्रतीकात्मक रुपमा मात्र नभएर निश्चित उद्देश्यप्रति समर्पित नेतृत्व आबश्यक रहेको पार्टीभित्र अझै पनि ऊर्जा, दृष्टि, र जरा टेक्ने प्रतिबद्धता भएको पुस्ता रहेको’ समेत स्पष्ट पारेका छन। उनले लेखेका छन-
प्रिय केन्द्रीय कमिटी सदस्य कमरेडहरू
पार्टीको वर्तमान केन्द्रीय कमिटीको बहसले एउटा कटु यथार्थ देखाएको छ — जमिन र नेतृत्वबीच दूरी अत्यधिक गहिरो भइसकेको छ। आन्दोलन र संघर्षको स्मरण त भइरहेछ, तर त्यसको चेत र संकल्प नेतृत्वको रगतबाट हराउँदै गएको जस्तो देखिन्छ ।
यो समय प्रतीकात्मक अनुहार होइन, उद्देश्यप्रति समर्पित नेतृत्वको खोजीको समय हो। परिवर्तनको विकल्पको नाममा पुराना अनुहारहरूको फेरबदल मात्रै हुनु भनेको बुढेसकालको ठुटा दाँत फेरेर नक्कली दाँत हाल्नु जस्तै हो — न चपाउने क्षमता हुन्छ, न मुस्कान नै फर्किन्छ।
अब बहस यो हुनुपर्छ — हामीले कस्तो भविष्य चाहेका छौं ? कुन पुस्तालाई जिम्मा दिने ? पार्टीभित्र अझै पनि ऊर्जा, दृष्टि, र जरा टेक्ने प्रतिबद्धता भएको पुस्ता छ — जुन पुस्ता नारा होइन, परिवर्तनमा विश्वास गर्छ।
त्यसैले आजको आवश्यकता भनेको
नेतृत्व सिङ्गार्नु होइन, पुनःनिर्माण गर्नु ।
अवसरको खोजी होइन, जिम्मेवारीको बहन गर्नु।
नेतृत्वलाई विनम्र आग्रह
अब बाटो नयाँ पुस्ताका लागि खुला गर्नुहोस्।
अब समय छ—निर्णयको, नवप्रवेशको र नवीकरणको।




















