पोखरा, देशको प्रमुख पर्यटकीय नगर पोखरामा कृयाशिल पर्यटन सम्बद्ध सघसंस्थाहरूको छाता संगठन पोखरा पर्यटन परिषद्ले आफ्नो २५ औं वार्षिक साधारणसभा बिहिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन परिषद्का संस्थापक अध्यक्ष एवम् सल्लाहकार अशोक पालिखेले गरेका थिए ।
कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष पालिखेले परिषद् स्थापनाकालिन लक्षको बारेमा चर्चा गर्दै संस्थाको लक्ष अनुसारका काम गरेर संस्थाको गरिमा बढाउनुपर्नेमा जोड दिए । पोखरामा पर्यटन सम्बन्धि गतिबिधि लेकसाइडमा मात्रै सिमित नगरी अन्य क्षेत्रमा पनि फराकिलो बनाउँदै लैजानुपर्नेमा पालिखेको जोड थियो ।

आर्थिक गतिविधिको प्रमुख माध्यम पर्यटन भएकोले सुरक्षा चुनौती बिना ढुक्कसँग आफ्नो व्यवसाय गर्ने अबस्थाको सुनिश्चितता हुनुपर्ने खाँचो पनि पालिखेले औंल्याए ।
पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवम् सल्लाहकार डम्बरबहादुर केसीले परिषद् सम्बद्ध १४ वटा संस्थाहरू एकतावद्ध हुँदै अघि बढ्नुपर्ने बताए । फराकिलो सोचका साथ एकाकार बन्दै अघि बढेमा अपेक्षित उपलब्धि हासिल हुनसक्ने उनको भनाई थियो ।
परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन क्षेत्रका विभिन्न समस्यालाई समाधान गर्दै जान सबैको एकतावद्ध प्रयास आवश्यक हुनेमा जोड दिए । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट पहिलो व्यवसायिक चाटर्ड उडानसँगै नियमित अन्तराष्ट्रिय उडानको पहल, पर्यटन प्रबर्द्दनका विभिन्न कार्यक्रमहरु गर्न परिषदले पहल गरिरहेको उनले बताए परिषदका महासचिव जीवनराज सापकोटाले परिषद् निरन्तर पर्यटन प्रबर्द्दन र विकासका काममा सक्रियतापुर्बक लागिरहेको उनले बताए ।
परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेल, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक एवम् परिषद्का पूर्व अध्यक्ष गोपिबहादुर भट्टराई, परिषदका निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ, पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेल, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशका महाशाखा प्रमुख हेमा पोखरेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका लेखा अधिकृत सागर श्रेष्ठ लगायतले उक्त अबसरमा आआफ्नो भनाई राखेका थिए ।
साधारणसभाको बन्दसत्रले महासचिव जीवनराज सापकोटाले प्रस्तुत गरेको महासचिवको प्रतिवेदन र कोषाध्यक्ष बाबुराम पाण्डेले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । परिषद्का अध्यक्ष तारानाथ पहारीको अध्यक्षता एवम् सचिव नारायण सुवेदीले सञ्चालन गर्नुुभएको बन्दसत्रमा स्वागत द्वितीय उपाध्यक्ष चौबहादुर गुरुङले गरेका थिए ।
















