पोखरा, नेपाल राष्ट्र बैङ्कले सुनको कोटा बढाएर २५ केजी पुर्याएको छ । यसअघि दैनिक २० केजी सुन आयात गर्न सकिने परिमाणबाट पाँच केजी बढाएर २५ केजी पुर्याएको हो ।
नेपाल राष्ट्र बैङ्कले एकीकृत परिपत्र २०८१ लाई संशोधन गर्दै सुनको कोटा बढाउने निर्णय गरेको हो । आयातको परिपत्रसहित शुक्रबार बैङ्क तथा वित्तीय संस्थालाई परिपत्र गरेको राष्ट्र बैङ्कले जनाएको छ । विभिन्न वाणिज्य बैङ्कले सुनको आयात गर्दै आएका छन् ।
सुनचाँदी व्यवसायी भने केन्द्रीय बैङ्कको यो निर्णयबाट उत्साहित छैनन् । मूल्य बढेर बजारमा सुनको माग कम भएका बेला सुनको कोटा बढाउन आवश्यक नभएको व्यवसायीको भनाइ छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले बजारमा सुनको ९० प्रतिशतले माग घटेका बेला सुनको कोटा वृद्धि गर्नु उपयुक्त नभएको बताए।
पछिल्लो समय बजारमा सुनको मूल्य बढेकाले कारोबार बढ्न सकेको छैन । उपभोक्ताले सुनका गहना मात्र खरिद गर्न पाउने व्यवस्था रहेकोमा ढिकासमेत बिक्री गर्न पाउने व्यवस्था गर्नुपर्ने शाक्यको भनाइ छ । बजारमा ढिका सुनको माग बढी रहेकाले बढाएको कोटाको सुन ढिका बनाएर बिक्री गर्ने व्यवस्था गर्नुपर्ने उनले बताए । तिहार नजिकिँदै गर्दा बजारमा सुन र चाँदीको असर्फी बढी बिक्री हुने गर्छ ।
सुनको मूल्य चार हजारले घट्यो
यो साताको अन्तिम दिन शुक्रबार स्थानीय बजारमा सुनको मूल्य चार हजार दुई सय रुपियाँले घटेको छ । बिहीबार प्रतितोला दुई लाख ३९ हजार दुई सय रुपियाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार घटेर दुई लाख ३५ हजार रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । दसैँपछि निरन्तर बढ्दै गएको सुनको मूल्य शुक्रबार घटेको हो । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य तीन हजार ९३१ अमेरिकी डलरमा झरेको छ । त्यस्तै चाँदीको मूल्य भने प्रतितोला ६० रुपियाँले बढेर तीन हजार ८५ रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।




















