पोखरा, गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा आगजानी गरिएको जिल्ला मालपोत कार्यालय कास्कीले जग्गाधनि श्रेस्ता कायम गर्ने प्रक्रियाको लागि बिभिन्न कागजपत्र आबश्यक रहेको भन्दै सार्बजनिक गरेको सुचना परिमार्जन गरि सहज बनाउन नीतिगत सुधारका लागि नागरिक अभियानले माग गरेको छ ।
सूचनामा भनिए अनुसारको प्रक्रिया कतिपय सर्वसाधारणले पुरा गर्न नसक्ने, नजान्ने वा धेरै दुःख कष्ट पाउन सक्ने भएकोले नागरिक आंफ्नो सम्पत्तिको अधिकारबाट पनि बन्चित हुनसक्ने अवस्था रहने भन्दै अभियानको तर्फबाट मालपोत कार्यालय कास्कीका निमित्त प्रमुख शोभाखर पौडेललाई एक ज्ञापनपत्र समेत बुझाइएको छ। बिहिबार बुझाइएको ज्ञापनपत्रमा उक्त सूचना अनुसारको प्रक्रिया पुरा गर्न झन्झटिलो लामो समय लाग्ने मात्र नभएर पैसा पनि अनाबश्यक रुपमा खर्च हुने र बदनियत राख्ने कर्मचारीलाई भ्रष्टाचार गर्ने माध्यम हुने कुरा उल्लेख गरिएको छ।
जिल्ला बाहिर रहेका वा पुस्ता हस्तान्तरण हुदै आएका कतिपय जग्गा निर्देशिकामा भनिएका प्रमाण जुटाउन नसक्दा जिल्लाबासीहरु थप समस्यामा पर्नसक्ने ज्ञापनपत्रमा उल्लेख छ । मालापोत कार्यालयमा अधिकांश व्यक्तिका जग्ग्गा धनि लाजपुर्जा लगायत अन्य सम्बन्धित कागजातहरु डिजिटलाईज भईसकेको र त्यस किसिमका अभिलेखहरू सर्भरमा सुरक्षित रहिरहेको अवस्थामा बिभिन्न कागजपत्र माग गरेर नागरिकलाई अनाबश्यक तनावमा पार्नु न्यायोचित नहुने उल्लेख गरिएको छ।
जलेका कागजातहरुको अभिलेख कायम गर्ने नाममा मालपोत कार्यालय आँफैले दिएका कागजपत्र सहितको प्रमाणलाई स्वीकार नगरिकन नयाँ कागजपत्र बनाउन लगाउनुले कार्यालयले यस अगाडी गरेको काममा आफैलाई विश्वास नगरेको भन्ने किसिमको बुझाई हुने ज्ञापनपत्रमा उल्लेख छ । श्रेस्ता कायम गर्नुपर्ने आबश्यकता रहेको भन्दैमा सरकारको एक कार्यालयले नागरिकहरुलाई थप पिडा दिने र झन्झटमा फसाउने काम गर्न नहुनेमा अभियानले जोड दिएको संयोजक गणेशबहादुर थापाले गुरुकुल खबरलाई जानकारी दिए ।
समस्याको बर्गिकरण गरि सरल प्रक्रिया अपनाएर नागरिकसंग न्यूनतम कागजातको माग गरि समस्या समाधान गर्नका लागि नीतिगत सुधारका लागि नागरिक अभियानले सम्बन्धित कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाउन अभियानका संयोजक थापा सहित नेपाली काँग्रेस पोखरा महानगरसमितिका उपसभापति भवसागर बराल, नेपाली काँग्रेस मादी गाउँपालिकाका सभापति यमबहादुर गुरुङ, अभियानकी सदस्य बिष्णु कार्की लगायतको टोलि कास्की जिल्ला मालपोत कार्यालय पुगेको थियो ।
सम्बन्धित समाचार..




















