पोखरा, पोखरा उद्योग वाणिज्य संघले जग्गाको श्रेस्ता कायम गर्नका लागि भन्दै जिल्ला मालपोत कार्यालय कास्कीले जारी गरेको सूचना सच्याउन माग गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्कीको नेतृत्वमा महासचिव शोभा गौतम तथा उपमहासचिव सुदीप प्रधानाङ्गसहितको टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी र मालपोत कार्यालय कास्कीका निमित्त प्रमुख शोभाखर पौडललाई ज्ञापनपत्र बुझाउँदै यस किसिमको आग्रह गरेको हो ।

मालपोत कार्यालय कास्कीले बुधबार जग्गाधनीले आफ्नो जग्गाको दर्ता स्रेस्ता पुनः कायम गर्नका लागि जग्गा रहेको स्थानीय तहबाट भोगसम्बन्धी किटानी सिफारिस, स्थायी ठेगाना भएको स्थानीय तहको जग्गाधनीको तीनपुस्ते खुलेको फोटो टाँससहितको किटानी सिफारिस, स्थलगत सर्जमिन मुचुल्का, नागरिकताको प्रमाणपत्र, जग्गाधनीसँग भएको सक्कल पुर्जा, पारित लिखत (जग्गा खरिदबिक्री वा बकसपत्र आदि) पेस गर्नुपर्ने भन्दै सार्बजनिक रुपमा सूचना जारी गरेको थियो ।
यस्तै, जग्गा रोक्का भएमा रोक्का राख्ने निकायको सहमतिपत्र, चालु आर्थिक वर्षमा मालपोत बुझाएको रसिद, प्लष्ट रजिष्टर, फिल्डबुक र नक्सा, ३५ दिने सार्वजनिक सूचना र गुठी जग्गाको हकमा गुठी संस्थानको सहमतिपत्र पनि पेस गर्नुपर्ने पनि सूचनामा उल्लेख थियो ।
उक्त सुचनाको कारण सर्वसाधारणमा त्रास सिजर्ना भएको तथा सूचनामा उल्लेखित ११ प्रकारका कागजात र प्रमाणहरु माग्नु अव्यवहारिक भएको संघका अध्यक्ष गोकर्ण कार्कीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ । पत्रमा सरोकारवालालाई झन्झटिलो तथा अव्यवहारिक देखिएको यस किसिमको व्यवस्थाको सट्टा गलत व्यक्तिले दुरुपयोग गर्न नमिल्ने गरी न्यूनतम् आधिकारिक प्रमाणहरुको आधारमा श्रेस्ता कायम गर्न माग गरिएको छ ।
निमित्त कार्यालय प्रमुख पौडेलले यसअघिको व्यवस्था अनुरुप नै सूचना जारी भएको तर लालपूर्जाको सक्कल प्रति हुनेको हकमा कुनै चिन्ता मान्नुनपर्ने र त्यो ३५ दिनभित्र नै कार्यालय आउनुपर्छ भन्ने पनि नरहेको उनले जानकारी गराए । संघको आग्रहपछि मालपोत कार्यालय कास्कीले अर्को सूचना जारी गर्दै अहिले मालपोत कार्यालय कास्कीमा भौतिक पूर्वाधार जलेको अवस्थामा रहेको तथा तत्काल सेवा प्रवाह गर्ने अवस्था नरहेकोले अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सेवा बन्द भएको जानकारी गराएको छ ।
प्रतिनिधिमण्डले ज्ञापनपज्ञको बोधार्थ कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई पनि हस्तान्तरण गरी सहजीकरणको लागि आग्रह गरिएको महासचिव शोभा गौतमले जानकारी दिइन् । यस अगाडी गुरुकुल खबरले यसै बिषयमा समाचार प्रकाशित गरेपछि सरोकारवालाले यसबारेमा निकै चासो लिएको र मालपोत कार्यालयमा ज्ञापनपत्र बुझाउन जाने सम्मको अबस्था सिर्जना भएको छ ।
सम्बन्धित समाचार ..
श्रेस्ता कायम गर्न भन्दै कास्की मालपोतको सुचना: जग्गा धनीको समय र पैसाको खर्च अनि झन्झटिलो

















