काठमाडौँ: नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले राष्ट्रिय वाणिज्य बैंकको एकै शाखाबाट मात्रै ३८ करोड रुपैयाँ बराबर लुटपाट भएको बताएका छन्। उनले नयाँ बानेश्वरस्थित संसद् भवनभित्र रहेको वाणिज्य बैंकको शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ किलो सुन गरेर करिब ३८ करोड रुपैयाँ बराबरको लुटपाट भएको बताएका हुन्।
प्रदर्शनकारीहरूले निशाना बनाएका सरकारी कार्यालय, निजी व्यवसायलगायत आसपास रहेका बैंक तथा एटीएममा आक्रमण भएको उनले बताएका हुन्। उनले तथ्यांक निकालेर अनुसन्धान भैरहेको बताएका छन्। सीसीटीभीबाट पनि लुटेर लैजानेको पहिचान गर्न थालिएको जानकारी उनले दिए।
‘संसद् भवनमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा सिरियस लुटपाट भएको छ। ५ करोड नगद र १८ किलो सुन लुटिएको छ। ३७/३८ करोड बराबरको लुटपाट भएको छ’, उनले भनेका छन्।
यसैगरी चाबहिलमा रहेको नबिल बैंकमा पनि तोडफोड एवं लुटपाट भएको उनले बताएका छन्।
उनकाअनुसार भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा विभिन्न बैंकका ६८ वटा शाखा र ६९ वटा एटीएममा तोडफोड एवं लुटपाट भएको छ। यद्यपि, एटीएम लुटपाट भए पनि त्यहाँबाट प्रदर्शनकारीले पैसा निकाल्न नजान्दा ठूलो क्षति भने हुन नपाएको उनले बताएका छन्। लुटपाट हुने एटीएम प्राय: भाटभटेनीसहित सरकारी कार्यालयभित्र रहेका बुथहरू भएको उनको भनाइ छ।
नेपाल राष्ट्र बैंकमा पनि आगजनीको प्रयास भए पनि खासै क्षति नभएको उनले बताए।
























