पोखरा, पोखरा महानगर पालिका वडा न. १३ का वडाध्यक्ष किरण बरालले वडा कार्यालयमा भएको आगजनी, सरकारी कागजातहरू र सार्वजनिक तथा निजि सम्पत्ति ध्वस्त पार्ने काम अत्यन्तै दुःखद र निन्दनीय भएको बताएका छन। नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्बाचित बराल पोखरा बाहिर रहंदा जेनजी आन्दोलन चर्किएर उनको वडा कार्यालयमा समेत आगजनी भएको हो ।
जेनजी समुहको आन्दोलनको क्रममा उनि वडाध्यक्ष रहेको कार्यालयमा समय तोडफोड र आगजनी गरेको घटनालाइ लिएर उनले भनेका छन।”दिनरातको परिश्रमले उभिएको त्यो एउटा भवन मात्र थिएन । हाम्रो लागि एउटा मन्दिर बनिसकेको थियौ । हामी सबैको नित्यकर्म त्यहीँबाट सुरु हुन्थ्यो । जहाँबाट वडाबासी सबैले नागरिक हुन पाएका थियौँ।”
उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन ..

“यहीँ भदौ २३ र २४ गतेको “जेन जेड आन्दोलन” युवा पुस्ताको आवाज थियो । अधिकार र असमानताको विरुद्धमा उठेको ऐतिहासिक स्वर थियो। म, जेन जेड समूहले उठाएका यथार्थ र समयसापेक्ष मुद्दाहरूप्रति पूर्ण समर्थन प्रकट गर्छु। तर, आन्दोलनको क्रममा भएको केही घटनाहरूले हामी सबैलाई स्तब्ध र चिन्तित बनाएको छ।
विशेष गरी, केही नियोजित घुसपैठ वा अराजक समूहद्वारा जनताको वडा कार्यालयमा आगजनी, सरकारी कागजातहरूको नष्टिकरण, सार्वजनिक सम्पत्ति ध्वस्त पारिनु र निजी तथा मानवीय क्षेत्रमा समेत क्षति पुग्नु अत्यन्तै दुःखद र निन्दनीय विषय हो। यी घटना स्वतस्फूर्त आन्दोलन भन्दा बाहिरको नियोजित काम जस्तो लाग्दछ, जुन मेरो व्यक्तिगत बुझाइ हो। आन्दोलनको मूल भावना र उद्देश्य सशक्त थियो, तर त्यस क्रममा भएको हिंसा र तोडफोडले आन्दोलनको गरिमा र सारमा आघात पुर्याएको छ।
घाइते भएका, आहत भएका र कुनै न कुनै रूपमा पीडित भएका सम्पूर्ण नागरिकहरूप्रति म हार्दिक सहानुभूति प्रकट गर्दछु। तर अब, हाम्रो साझा कर्तव्य — हाम्रो वडालाई फेरि उठाउनु हो। हिजो कार्यालय जलेर खरानी भयो, तर हाम्रो हौसला खरानी भएको छैन। कागज जले, संरचना गयो, तर सेवाको भावना अझ बलियो भएर फर्किएको छ। आज सबैभन्दा बढी हाम्रो आस्था जलेको छ । जहाँ वडाबासीको अभिलेख, मेहनत तथा सपना थियो । दिनरातको परिश्रमले उभिएको त्यो एउटा भवन मात्र थिएन । एउटा हाम्रो लागि मन्दिर बनिसकेको थियौ । हामी सबैको नित्यकर्म त्यहीँबाट सुरु हुन्थ्यो । जहाँबाट वडाबासी सबैले नागरिक हुन पाएका थियौँ।
आजको आवश्यकता दोषारोपण होइन, पुनःनिर्माण हो। वडालाई जोगाउन, आगो निभाउन र शान्तिपूर्ण समाधान खोज्न हरपल तत्पर रहनु भएका वडाबासी सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनीप्रति म हृदयदेखि आभार व्यक्त गर्दछु। तपाइहरूको साथले हामी छौ भन्न पाएका छौ। तपाईंहरूको साथ, सहयोग र संयमले नै मलाई फेरि उठ्न हिम्मत दिएको छ। अब समय आएको छ — गुनासो होइन, सहभागिताको। एकता र पुनःस्थापनाको बाटो अवलम्बन गर्दै “आफ्नो वडा, आफैं बनाउने” अभियानमा जुट्ने घडी को ।
एउटा ईँटा तपाईंको, अर्को मेरो — हामी सबै मिलेर फेरि वडाको नयाँ ढोका खोल्नेछौं। जलेका कागजहरूलाई ज्ञानका नयाँ पानाले बदल्नेछौं। हामी एउटा विरुवा थियौँ । पात झर्छ पुनः पलाउँछ । हामी पनि त्यस्तै हौ । विरुवाले पालुवा पलाउन नबिर्से जस्तै हामी पुनः उठ्नेछौ । दुःखलाई शक्तिमा, पीडालाई प्रेरणामा रूपान्तरण गर्नेछौं। हामी फेरि उठ्नेछौं — अझ सशक्त भएर, अझ संगठित भएर।”
हाम्रो वडा, हाम्रो इज्जत — यसलाई अब हामी सबै मिलेर पुनः निर्माण गर्छौं।
किरण बराल
जय वडा नं १३, जय पोखरा महानगर।
२७ भाद्र २०८२, शुक्रबार २३:२९ मा प्रकाशित