काठमाडौँ, जेनजी आन्दोलनको उपजको रुपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुख अर्थात मन्त्रिपरिषदको अध्यक्षमा नियुक्त भएसँगै उनको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने भएको छ । यससँगै पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचिसकेकी कार्कीले पहिलो महिला सरकार प्रमुखको रुपमा पनि अर्को इतिहास बनाउन सफल भएकी छन् । उनको सपथ सुक्रबार राति ९.१५ तिर हुने श्रोतले जनाएको छ ।
शुक्रबार साँझ भएको सहमति अनुसार सरकार प्रमुखमा कार्कीलाई नियुक्त गर्ने र उनको नेतृत्वमा बन्ने मन्त्रिपरिषदको निर्णयका आधारमा संसद बिघटन गर्नको लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिने भएको छ । अहिले बनेको अन्तरिम सरकारको प्रमुख अर्थात् प्रधानमन्त्रीमा नियुक्त कार्कीले शुक्रबार तिन सदस्यीय मन्त्रीमण्डल बनाउने चर्चा छ ।
राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक किरण पोखरेलले पनि कार्कीकाे नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने करिब निश्चित भएको बताए। मन्त्री बन्नेहरूकाे नाम फाइनल हुँदै गरेको भनिएपनि कुलमान घिसिंग र ओमप्रकाश अर्याल कार्की नेतृत्वको सरकारमा मन्त्री बन्ने करिब निश्चित भएको समेत चर्चा छ ।
जेनजी पुस्ताका युवाहरूले गत सोमबार र मंगलबार भ्रष्टाचार,सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगायत विरुद्ध देशभर प्रदर्शन गरेका थिए । गत भदौ २३ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर कम्तीमा १९ जना युवाको मृत्यु भएपछि २४ गते आक्रोशित समूहले देशभर प्रदर्शनसहित आगजनी र तोडफोड गरेको थियो ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । ओलीको राजीनामापछि अन्तरिम सरकार गठनबारे सरोकारवाला पक्षबिच भएको छलफलमा संसद् विघटन र जेनजीका माग सम्बोधन गर्नेगरी कार्कीको नेतृत्वमा सरकार गठन गर्ने सहमति जुटेको थियो ।