Play

जेनजी आन्दोलन: पोखराका आधा दर्जन होटलमा आगलागी हुँदा कम्तिमा तिन अर्ब र देशभर २५ अर्ब बढीको क्षती

होटलको मर्मत गरि संचालनमा ल्याउन महिनौं लाग्ने, पर्यटक आगमन र रोजगारीमा असर पर्ने


गुरुकुल खबर


  • गंगाधर पराजुली /पोखरा

जेनजी आन्दोलनका नाममा मुलुकभर भएको आन्दोलनमा सहभागी अराजक समूहले गरेको तोडफोड र आगजनीका कारण  पोखरामा पनि आधा दर्जनजति पर्यटकीयस्तरका वा ठुलो लगानीका होटलहरुमा तोडफोड, लुटपाट र आगजनी भएको छ। पोखराका होटलमा भएको तोडफोड र आगजनीका कारण तिन अर्ब रुपैयाभन्दा बढी क्षती पुगेको प्रारम्भिक अनुमान गरिएको छ।

पोखराको लेकसाइडमा संचालित होटल सरोवर, बगैंचा रिसोर्ट, पोखरा गुडविल होटल, होटल एडम र बरपिपल रिसोर्टमा तोडफोड र आगजनी सहित लुटपाट गरिएको थियो। यसका साथै होटल बाराहीमा पनि आन्दोलनकारीहरुले ढुंगा प्रहार गरि सामान्य क्षति पुर्याएका छन।

आन्दोलनमा अराजक समुहले गरेको तोडफोड र आगजनीका कारण देशभर दुई दर्जन बढी होटलमा ठुलो क्षति पुगेको बताइएको छ । होटल सङ्घ नेपालले मुलुकका विभिन्न शहरमा संचालित होटलहरुमा गरिएको लुटपाट, तोडफोड र आगजनीका कारण २५ अर्ब भन्दा बढीको क्षती भएको प्रारम्भिक अनुमान गरेको छ।

होटल संघ नेपालले गरेको प्रारम्भिक अनुमान अनुसार काठमाडौँको हिल्टन होटलमा मात्रै ८ अर्बभन्दा बढीको क्षति भएको छभने तोडफोड, आगजनी र लुटपाट गरिएका अन्य होटलहरूमा पनि ठुलो क्षति पुगेको होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले जानकारी दिए ।

आन्दोलनकारीहरुको आक्रमणका कारण काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुर लगायतका क्षेत्रमा सञ्चालित होटलहरु सहित स्वदेशी तथा विदेशी ब्राण्डका ब्यबसायिक प्रतिष्ठानहरूमा तदाफोद र आगजनी गरेका थिए।

लेकसाइडका  ई. पहारीको होटल सरोवरमा ठुलो क्षति 

पोखरामा आन्दोलनकारीहरुको निशानामा परेका होटलहरुमध्ये लेकसाइडको सरोबर होटलमा सबैभन्दा बढी क्षति पुगेको बुझिएको छ। भूमिगत दुईवटा तला सहित १२ तलाको उक्त होटलको माथिको तीनवटा तला ध्वस्त हुन पुगेको र अन्य तलामा पनि ठुलो क्षति पुगेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले गुरुकुल खबरलाई जानकारी दिए।

उक्त होटेल इन्जिनीयर भरतराज पहारीको परिवारले संचालनमा ल्याएको हो।  पहारी नेकपा एमालेसंग नजिक भएपनि राजनीतिक रुपमा कुनै लाभको पदमा बसेका व्यक्ति हैनन तर पनि आन्दोलनकारीहरुले उनको होटललाई समेत आक्रमणको निशाना बनाए र ठुलो क्षति गराइदिए। उक्त होटल लेकसाइडको नयाँ र सुबिधा सम्पन्न होटल मध्येको एक हो।

होटलमा गरिएको तोडफोड र आगजनीको बास्तबिक क्षतिको आंकलन हुन बांकी रहेपनि होटलको बिधुत, इन्टरनेट, झ्यालढोका, बिभिन्न मेसिन र उपकरण, सोलार, कम्प्युटर, बेड बिस्तारा, फर्निचर सहित बिभिन्न खालका संरचनामा तोडफोड र आगजनी हुँदा सबै सामान जलेर वा बिग्रेर नष्ट भएको छ।

उनले होटलको विभिन्न कक्षमा रहेका १५/२० वटा ल्यापटप समेत आन्दोलनकारीहरुले लागेको जानकारी दिंदै होटलमा १ अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताए। उनले होटललाई पूर्ण रुपमा मर्मत गरेर संचालन गर्न कम्तिमा एक बर्ष लाग्ने भएपनि आंशिक रुपमा भएपनि संचालन गर्ने आंफ्नो सोचाई रहेको गुरुकुल खबरलाई जानकारी दिए।

ब्यबसायी एबम मन्त्री थापाको होटल बगैंचा सहित अन्य ब्यबसायिक भवनमा आगलागी 

लेकसाइडमा संचालित अर्को होटल बगैंचा वेलनेस रिसोर्ट पनि ठुलो क्षति पुगेको अर्को होटल हो। पोखराका ब्यबसायी समेत रहेका गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री बिन्दुकुमार थापाको परिवारले उक्त होटल संचालनमा ल्याएको हो। परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवाले उक्त होटलको अघिल्लो महिना उद्घाटन गरेकी थिईन।

मन्त्री बिन्दु थापाका छोरा सौगात थापाले उक्त होटल सहित परिवारले संचालन गरेका बिभिन्न ब्यबसायिक प्रतिष्ठानहरुको जिम्मेवारी सम्हाल्ने गरेका छन। उनको होटलमा पनि तोडफोड र आगजनीबाट ठुलो क्षती पुगेको भएपनि अझैसम्म एकिन हुन नसकेको बुझिएको छ।

उक्त होटल सहित थापाको नयाँबजारस्थित आंफ्नो निवास र लेकसाइडस्थित अरु दुईवटा ब्यबसायिक भवनमा तोडफोड र आगजनी गरेको घटनापछि थापाले भनेका छन। “मेरो घर, व्यावसायिक प्रतिष्ठानहरुमा लुटपाट, तोडफोड गरियो र आगो लगाइयो । दशकौँको मिहिनेतले, आफ्ना आँसु र पसिनाले जोडेको सम्पत्ति एकै झड्कामा धुलोमा मिलाइयो।”

ब्यबसायी थापाले आन्दोलनमा घुसपैठ गरेर अराजक समूहले ध्वंस मच्चाएको कारण देशमा ठूलो आर्थिक तथा ऐतिहासिक अभिलेख, दस्तावेज नष्ट गरिएको र आँफुमाथि ठूलो अपमान र दुश्मनी साधिएको भन्दै आन्दोलनलाई आपराधिक समूहहरूले अपहरण गरेको र त्यसैको बहानामा आंफ्नो घर, पसिना र सपनामा नियोजित रूपमा लुटपाट, तोडफोड गरिएको अनि आगोले खरानी पारिदिएको प्रतिक्रिया दिएको छन ।

थापाले प्रश्न गरेका छन “सोही दिन मेरो भाइ ध्रुव थापाको घर समेत जलाइयो । सानो उमेरदेखि आफ्नै परिश्रमले सम्पत्ति आर्जन गरेका उनको घर पनि खरानी बनाइयो । त्यसमाथि घरमै रोजगारीको क्रममा बसिरहेका एक बहिनी र लेकसाइडस्थित अंशुभरा स्क्वायरमा काम गर्ने अर्को बहिनीलाई जिउँदै जलाइयो । निर्दोष आत्माहरूलाई यति अमानवीय तरिकाले मार्दा मेरो हृदय टुट्छ—तिनीहरूको के दोष थियो ? के म राजनीति गरेको र मेरो परिवार मेरो नामसँग जोडिएको कारणले उनीहरुले पनि यति कठोर सजाय पाइरहनुपर्ने हो ?

प्रदेश सांसद एबम पर्यटन ब्यबसायी गुरुंगको होटल गुडविलमा पनि आगजनी 

यसैगरी तोडफोड र आगजनीमा परेर ठुलो क्षति पुगेको अर्को होटल पोखरा गुडविल पनि हो उक्त होटलको संचालक पर्यटन ब्यबसायी एबम होटल ब्यबसायी समेत रहेका गण्डकी प्रदेशका सांसद गणेशमान गुरुंगले केहि बर्ष अगाडी मात्र किनेका हुन। होटलको नाममा भएको ऋण समेत तिर्न बाँकी रहेकोले बैंकले ऋण तिर्न सार्बजनिक सूचना जारी गरेको बेला होटलमा आन्दोलकारीहरुको समुहले तोडफोड र आगजनी गरि ठुलो क्षति पुर्याएको छ ।

गुरुङ लामो समयदेखि ब्यबसाय र राजनीतिमा सक्रिय रहँदै आएको भएपनि नेकपा एमालेबाट पहिलो पटक प्रदेश सांसदमा निर्बाचित भएका हुन। उनको अर्को होटल कास्कीको अन्नपुर्ण गाउँपालिका नाउडांडा नजिक रहेको छ।

पर्यटन ब्यबसायी त्रिपाठीको होटल एडमम पनि आक्रमणकारीको निशानामा 

यसका साथै पोखराको लेकसाइड स्थित होटल एडम तथा एडम टुर्स एण्ड ट्राभल्समा पनि आन्दोलनकारीहरुले तोडफोड र आगजनी गरिदिएका छन । उक्त होटल लामो समयदेखि पोखरामा पर्यटन व्यवसायीको रुपमा परिचित बासु त्रिपाठीको हो लेकसाइडको सेन्टर पोइन्ट नजिक रहेको उनको होटलमा पनि आगजनीको कारण ठुलो क्षती भएको छ।

होटल रहेकै भवनमा रहेको बेलुन नेपाल प्याराग्लाइडिंगको अफिसमा तोडफोड र सामान जलाउने काम समेत आन्दोलनकारीहरुले गरेका थिए। त्रिपाठीकी श्रीमती देवका पहारी हाल नेकपा एमालेको तर्फबाट गण्डकी प्रदेशको सांसद छन एमाले सांसदको समेत घर भएकै आधारमा उनको घरमा आगजनी र तोडफोड गरिएको अनुमान गरिएको छ।

आन्दोलनकारीहरुले पोखराको बरपीपल रिसोर्टमा पनि पुगेर पार्किंगमा राखिएका केहि गाडीहरु जलाइदिएका थिए। उनीहरु रिसेप्सनमा पुगी तोडफोड गरेको भएपनि होटलमा थप क्षति भने हुन पाएन । बरपीपल रिसोर्टलाई माओबादी नेताहरुको लगानीको होटल भनेर कहिले बाहिर प्रचार समेत गर्ने गरेको छन ।

आन्दोलनकारीहरुले लेकसाइडको होटल बाराहीमा समेत तोडफोडको प्रयास गरेको थिए तर केहि कर्मचारी र स्थानीयको प्रतिरोधका कारण उनीहरु भित्र पस्न नपाएको र बाहिरबाट ढुंगा प्रहार गर्दा होटलमा केहि क्षति पुगेको छ ।

पोखरामा तोडफोड र आगजनीमा परेका होटल सरोवर, बगैंचा रिसोर्ट गुडविल होटल र होटल एडम संचालनमा ल्याउन मर्मत एबम पुननिर्माण जरुरी छ त्यसको लागि पनि सहज बाताबरण आबश्यक रहेको उनीहरुको भनाई छ।  नेपालमा देखिएको अहिलेको समस्याका कारण कम्तीमा शरदकालीन सिजनको व्यापार ठप्प हुने अबस्था सिर्जना भएको छ ।

पोखरा जस्तो अन्तराष्ट्रिय स्तरको पर्यटकीय नगरमा समेत यस वर्ष विदेशी पर्यटक आउने सम्भावना अब कम भएको छ । पर्यटकहरुको आगमन कम हुँदा पर्यटकीय होटलमा काम गर्ने जनशक्तिले पाउने पारिश्रमिक कम हुने वा समयमा नपाउने अबस्था समेत आउनसक्ने भएकोले क्षतिग्रस्त होटल लगायतका अन्य संरचनाको पुननिर्माण वा मर्मतमा सरकारको समेत ध्यान पुग्न आबश्यक रहेको ब्यबसायीहरुको भनाई छ।

  • तोडफोड र आगजनीको छानबिनमा न्यायिक समितिको माग

होटल संघ नेपालले सुशासन, विकास र जनताले खोजेको परिवर्तनका लागि युवाहरूको बलिदान र योद्धाहरूको त्याग प्रशंसनीय भए पनि तोडफोड र आगजनीका कारण निजी क्षेत्र तथा सरकारको ठुलो लगानी र सम्पत्तिमा भएको यो पीडादायी क्षतिप्रति गम्भीर विषय भएको बताएको छ ।

यसका लागि यथाशीघ्र शक्तिशाली अधिकारप्राप्त न्यायिक समिति गठन गरेर घटनाको जाँचबुझ गरी अपराधीलाई उचित क्षतिपूर्तिसहितको दण्ड दिन सङ्घले गरेको छ। साथै, मर्मतसम्भार र पुनर्निर्माणका लागि राज्यबाट आर्थिक प्याकेज उपलब्ध गराएर लगानीकर्ताको मनोबल कायम राख्न तथा आर्थिक स्थायित्व र समृद्धि हासिल गर्दै परिवर्तनकारी नयाँ युगमा पर्यटन विकासको कार्यमा सँगसँगै अघि बढ्नुपर्ने सङ्घले जनाएको छ ।

२८ भाद्र २०८२, शनिबार ००:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा