Play

ओलीले गरेको राजनीतिक अबरोधलाई चुनौती दिंदै पुर्ब राष्ट्रपति भण्डारीले खोलिन सम्पर्क कार्यालय

गुरुकुल खबर


काठमाडौँ, पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टीको राजनीतिमा आउन नदिन एमाले अध्यक्ष एबम प्रधानमन्त्री केपी ओली समुहले विभिन्न प्रयास गरेपनि भण्डारीले आँफु एमालेको राजनीतिमा क्रियाशील रहने स्पष्ट पारेकी छन। आंफ्नो राजनीतिक अभियान अगाडी बढाउने सन्दर्भमा उनले बिहीबार नयाँ बानेश्वरको थापागाउँस्थित लाखेचौर मार्गमा आफ्नो सम्पर्क कार्यालय समेत उद्घाटन गरेकी छन ।

साउनको पहिलो साता बसेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले भण्डारीको पार्टी सदस्यता निष्क्रिय बनाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई भदौ २० देखि २२ सम्म हुने पार्टीको दोस्रो विधान महाधिवेशनले आधिकारिकता दिने अभियानमा एमाले अध्यक्ष केपी ओली सहित उनको समूह सक्रिय भएर लागेको छ । ओली समर्थकहरुको यहि अभियानलाई बुझेर जननेता ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय मार्फत विद्याले आफ्नो राजनीतिक गतिविधि अघि बढाउने प्रयास थालेकी हुन् ।

सम्पर्क कार्यालयको उद्घाटनमा बरिष्ठ उपाध्यक्ष पोखरेल सहित तिन पदाधिकारी 

सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा भण्डारीमात्रै नभएर नेकपा एमालेका ३ जना उपाध्यक्षहरू पनि सहभागी भए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्का उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे अतिथिका रूपमा सहभागी भएकोमा बरिष्ठ उपाध्यक्ष पोखरेलले भने कार्यक्रममा सहभागि पार्टीका नेता कार्यकर्ताहरुलाई सम्बोधन समेत गरेका थिए  सम्बोधन भने गरेनन् ।  उनीहरुको उपस्थितिले  पोखरेल, ज्ञवाली र पाण्डे विद्याको पक्षमा रहेको स्पष्ट सन्देश दिएको छ ।

कार्यक्रममा बोल्ने क्रममा एमालेकी पुर्ब उपाध्यक्ष रहेकी भण्डारीले नेकपा एमाले र सरकार दुवैको नेतृत्व गरिरहेका केपी ओलीलाई चुनौती समेत दिईन यसै सन्दर्भमा उनले भनिन, ‘त्यो च्यासलले मेरो सदस्यतामाथि नै प्रश्न उठायो’ भन्दै अध्यक्ष ओली र एमालेको केन्द्रीय कमिटीको नवौं पूर्ण बैठकको निर्णयलाई चुनौती दिएकी भण्डारीले संसदको भूमिका र संवैधानिक अंगहरूको कार्यसम्पादनप्रति पनि असहमति राखिन्।

‘अब के गर्नुहुन्छ भन्ने तपाईंहरूलाई लागिराखेको होला, म निरन्तर काम गरिरहन्छु। हुन त मेरो सदस्यताबारे प्रश्न उठेको छ। साथीहरू नेता भन्छन्, आफ्नो त यहाँ संगठित सदस्यतामै प्रश्न उठाएको छ यो च्यासलले,’ उनले आक्रोश मिश्रित स्वरमा भनिन्, ‘म नेकपा एमाले तत्कालिन माले हुँदाको कालदेखि नै सदस्य हुँ। म निरन्तर नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्न चाहन्छु। मलाई पार्टीले कुनै जिम्मेवारी दियोस् कि नदियोस्, त्योसँग मतलब छैन। म एमालेको सदस्य हो। मैले जुन सिद्धान्त धारण गरेकी छु, त्यही अनुसार चल्ने हो। पार्टीहरूभित्र विकृति, विसंगति फैलिएको छ भने, त्यसविरूद्ध पनि म लडिरहन्छु।’

भण्डारीको राजनीतिक बाटो  बन्द गर्ने ओलीको प्रयासलाई चुनौती 

पूर्वराष्ट्रपति भण्डारीले एमालेमा फर्किने गरी सक्रियता बढाएपछि उनको सम्पर्कमा पुग्नेहरू बढ्न थालेका थिए। एमालेभित्र बाक्लिँदो उकुसमुकुसले त्राण पनि पाउँदै थियो। ओलीको कठोर पार्टी सत्ता सञ्चालनबाट ताडित बनेकाहरूले गुनासो राख्ने ठाउँ पाउँदै थिए। र, ओलीको सर्वस्वीकार्यता कमजोर पनि बन्दै गइरहेको थियो। आफ्नो स्वीकार्यतामाथि प्रश्न उठेपछि ओली थप निर्मम बने। भण्डारीको नवीकरण भइसकेको सदस्यता रोके। केन्द्रीय कमिटीबाटै निर्णय गराएर राजनीतिमा फर्किने बाटोसमेत बन्द गरिदिए। त्यसैले भण्डारीको पक्षमा खुलिसकेकाहरू बिलखबन्दमा छन्। किनभने, आसन्न विधान महाधिवेशन या अब बस्ने केन्द्रीय कमिटी या अरू तहको कमिटीको बैठकबाट त्यो निर्णय उल्ट्याउन सम्भव छैन। भण्डारी पार्टी राजनीतिमा फर्कने अर्को बाटो पनि छैन।
राज्यका संयन्त्रहरु प्रभावकारी ढंगले चल्न सकेनन 

‘राजनीतिक दलहरूभित्र विकृति, विसंगतिहरू फस्टाएका छन्। त्यो समाधान गर्न पार्टीहरूले सकिरहेका छैनन्। पार्टीहरूले देशमा सुशासन प्रवर्द्धन गर्नुपर्ने थियो। राजनीतिक दलहरू संस्थागत हिसाबले चल्नुपर्ने थियो, प्रणालीमा चल्नुपर्ने थियो। तर त्यसमा जान सकिरहेका छैनन्,’ उनले भनिन्। त्यसो त गणतान्त्रिक व्यवस्थापछि पनि राज्यका संयन्त्रहरू प्रणाली सम्मत ढंगले चल्न नसकेको र त्यसले परिणाम पनि दिन नसकेको भन्दै असहमति राखिन्। त्यसमा ठूला दल कारक रहेको औंल्याइन्।

उनले संसदको भूमिकामाथि पनि प्रश्न उठाइन्। संसदहरू ठूला दलको छाया बनेको र सार्वभौम संसद पनि निरीह बनिरहेको टिप्पणी गरिन्। संसदले विधायिकी भूमिका निर्वाह गर्न नसकेको, कानुन तर्जुमा गर्ने, त्यसमा छलफल हुने असल परम्परा बस्न नसकेकोप्रति पनि चिन्ता व्यक्त गरिन्। ‘ठूला दलहरू आफैले अहिलेको संविधानमा प्रश्न उठाए र संविधान संशोधन गर्नुपर्छ भनेर सहमति समेत गरेका छन्। तर संविधानमा के अभाव रह्यो, के आवश्यकता छ, के गर्‍यो भने देशका समस्या समाधान हुन्छ भनेर छलफल गर्न सकिरहेका छैनन्,’ उनले प्रश्न गरिन्। कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएर गत बर्ष असारमा नयाँ गठबन्धन बन्दा संविधान संशोधन मुख्य विषय थियो। त्यो ओझेल परेकाप्रति उनले चासो राखिन्। उनले अहिलेसम्म संविधान संशोधनमा ठूला दलले बौद्धिक बहस–विमर्श चलाउन नसकेको र आफ्नै एजेन्डाप्रति उपेक्षा गरेको भन्दै प्रश्न गरिन्।

आरोप लाग्ने बित्तिकै जनप्रतिनिधिलाई निलम्बन गर्ने प्रवृति गलत 

भण्डारीले सांसदहरूलाई आरोप लाग्नेबित्तिकै निलम्बन हुने गरेको भन्दै त्यसबारे पनि टिप्पणी गरिन्। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले सचिव टोपबहादुर रायमाझी र कांग्रेस सांसद मोहन बस्नेत निलम्बनमा छन्। सभापति लामिछाने सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा छन्। उनीविरूद्ध सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान भइरहेकाले कानुनी प्रबन्ध अनुसार नै निलम्बनमा परेका हुन्। अध्यक्ष नेपाल र सांसद बस्नेतविरूद्ध भ्रष्टाचारको मुद्दा अदालतमा विचाराधीन छ। टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्।

तर भण्डारीले यसरी आरोप प्रमाणित नै नभई सांसद निलम्बन गरिनु नहुने धारणा राखिन्। ‘आरोप लागेको छ, पुष्टि भएको छैन। तर उसले बोल्न पाउँदैन निलम्बित भइहाल्छ! के संसारमा यही हो न्याय ? निर्वाचित भएर आएका छन्, जनप्रतिनिधिहरू, उनीहरूले आदर्श अनुसार काम गर्नुपर्छ। तर कसैले आरोप लगायो भन्दैमा एकै पटक निलम्बनमा परिहाल्ने व्यवस्था कत्तिको लोकतान्त्रिक हो ? जनप्रतिनिधिको हकमा म के भन्न चाहन्छु भने म कुनै पनि आरोप पुष्टि नहुञ्जेलसम्म त्यसरी निलम्बनमा पार्नु राम्रो होइन,’ उनको तर्क थियो।

‘संसदमा कानुन बन्न सकेको छैन। शिक्षा सम्बन्धी नेपालमा ठूलो समस्या छ। नेपालको शिक्षा प्रणालीलाई आमूल सुधार गर्नुपर्ने खाँचो छ। तर पनि हामीले शिक्षा सम्बन्धी राम्रो कानुन बनाउन सकिरहेका छैनौं। मुलुकको आवश्यकता के हो? युगको आवश्यकता के हो? नयाँ पुस्ताले के अपेक्षा गरिरहेका छन्? त्यो अनुसारको पाठ्यक्रम, शिक्षा सम्बन्धी नीति–प्रणाली हुनुपर्ने हो। कपी–पेस्ट (अर्काको नक्कल या अनुशरण) गरेको आधारमा शिक्षा चल्छ भने त्यसले पलायनतिर लैजान्छ,’ उनले भनिन्।

जबजको कार्यान्वयनको समिक्षा जरुरी 

पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी फाउन्डेसन ‘थिंक ट्यांक’ का रूपमा अघि बढाइएको भन्दै यसको अवधारणाको सान्दर्भिकता झन् बढेको बताइन्। उनले नेकपा एमालेको मूल नेतृत्व मदन भण्डारीले २०४९ सालको सातौं महाधिवेशनपछि पार्टीले अघि सारेको र अहिले मार्गदर्शक सिद्धान्त बनाइरहेको जनताको बहुदलीय जनवादको कार्यान्वयनको समीक्षा हुनुपर्ने खाँचो औंल्याइन्। २०४६ सालको परिवर्तनपछि अन्तरिम सरकारमा रहेको र २०५० सालपछि निरन्तरजस्तो सत्तामा रहेको एमाले जबजको मर्म, भावनाअनुरूप चल्न नसकेको भण्डारीको कथन थियो।

‘हामी धेरै परनिर्भरतातिर जानुभएन। आत्मनिर्भर अर्थतन्त्र निर्माणको उपायको खोजी हामीभित्रै (जनताको बहुदलीय जनवाद) बाट गर्नुपर्‍यो। युवा, नागरिकहरूमा ठूलो निराशा उत्पन्न हुन खोजिरहेको छ, त्यसको समाधान हामीले गर्नुपर्छ। मदन भण्डारीले प्रतिपादन गरेको जबजले सबै कुराको समाधान दिन्छ भनेर नै एमालेले मार्गदर्शक सिद्धान्त बनाएर हिँडेको हो। त्यो सिद्धान्त अनुसार काम भयो कि भएन, अहिले समीक्षा गर्ने बेला भइसकेको छ। सिद्धान्तको मर्म, भावना, मूल्य, मान्यता, भावना एकातिर छ। तर हामीले त्यो अनुसारको काम गर्न सकिराखेका छैनौं,’ उनले भनिन्।

उनले जबजलाई झन्डाका रूपमा प्रयोग गर्ने तर व्यवहारमा उतार्न नसक्ने हो भने नागरिकले ‘हरेक सिद्धान्त काम नलाग्ने’ भन्ने दिन आउन सक्नेतर्फ पनि नेतृत्वलाई सचेत गराइन्। जबजको सान्दर्भिकता अझै पनि जीवित रहेको र पार्टीलाई परिस्कृत र समृद्ध बनाउने हो भने जबजको मूल भाव समातेरै हिँड्नुपर्ने पनि उनले बताइन्।

त्यस अबसरमा बोल्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) को चर्चामात्रै गरेनन्, पार्टी लोकतान्त्रिकरणको प्रसङ्ग पनि निकाले । उनले बिहीबारको कार्यक्रम सानो भएपनि यसको अर्थ ठुलो लाग्ने भन्दै प्रशंसा गरे । ‘यो कार्यालय आउने दिनमा मदन भण्डारीका योगदान र भूमिका आम नेपाली जनता तथा विश्व रङ्गमञ्चमा पुर्‍याउने उद्देश्यले स्थापना गरेको मैले बुझेको छु’, पोखरेलले भने,‘झट्ट हेर्दा सानो तर महत्वका हिसाबले यो ठुलो कार्यक्रम हो ।’

नेता पोखरेलले ओली प्रति लक्षित गर्दै कतिपयलाई जनताको बहुदलीय जनवादको सूत्रीकरण मदन भण्डारीले गरेको हो कि होइन भन्ने पनि लागेको हुनसक्ने बताए। ‘यो विचारको सूत्रीकरण मदन भण्डारीले समग्र सन्दर्भ (राष्ट्रिय अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन) लाई ख्याल गर्दै गर्नुभएको हो,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘यो विचार तत्कालका लागि मौसमी हिसाबले ल्याइएको होइन। कुनै चटके हिसाबले ल्याइएको होइन। यसको ऐतिहासिक पृष्ठभूमि छ। यसप्रति हामी सचेत हुनुपर्छ

विचारकै टोपी लगाउनेले नै विचारलाई नै क्षतबिक्षत पार्न खोजेको आरोप 

‘साथीहरू आज पनि प्रश्नहरू उठ्न सक्छन्, यो विचारको विरूद्धमा। यो विचार समर्थन गरिरहेको आवाज क्षतिग्रस्त बनाउने गरी कुराहरू उठ्न सक्छन्। त्यस कारण यो कार्यालय, यो मदन जयन्ती समारोह समितिले गर्ने गतिविधिमा यो प्रसंग हेक्का राख्नुपर्छ। कहिलेकाहीँ विचारकै टोपी लगाउनेहरूले विचारलाई नै क्षतविक्षत बनाइरहेका हुन्छन्। टोपी लगाएर प्रस्तुत हुनेहरू मात्रै विचारको संवाहक हुन्छन् भन्ने ठान्ने भुल गर्न हुँदैन। त्यस्तो अवस्थामा विचारको रक्षा गर्न जरूरी छ।’

सम्पर्क कार्यालयको उद्घाटन समारोह व्यवस्थापन समितिका संयोजक पूर्वमुख्यमन्त्री डोरमणि पौडेल लगायतका एमालेका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको कार्यक्रममा पेसागत महासंघका अध्यक्ष पुण्य ढकाल, संविधानसभा सदस्य विकास लम्साल, कृष्णप्रसाद दाहाल, स्थायी कमिटी सदस्य कर्ण थापा लगायतका नेताहरु पनि सहभागी थिए ।

 

 

५ भाद्र २०८२, बिहीबार २०:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा