पोखरा, अपांगता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने उद्देश्यले बनेको विधेयक गण्डकी प्रदेश सभाले मंगलबार पारित गरेको छ। बिधेयक पारित भएको खुसियालीमा मंगलबार साँझ पोखराको शहिदचोकमा दिप प्रज्वलन समेत गरिएको थियो गण्डकी प्रदेश सभामा अपाङ्गता भएकी प्रदेश सभा सदस्य सुनीता थापाले पारित भएको विधेयकलाई गण्डकी प्रदेशको समावेशी भविष्यको ज्योतिको रुपमा ब्याख्या गरेकी छन ।
“अब अपाङ्गतालाई दया वा सहानुभूतिका आधारमा होइन, अधिकार र समानताका आधारमा हेर्ने बाटो अझ फराकिलो भएको छ।” थापाले गुरुकुल खबरसंग भनिन। बिधेयक पारित हुनु अगाडी गण्डकी प्रदेश सभामा विधेयकमाथि भएको छलफलमा सांसदहरू सुनिता थापा, डिल्लीराम सुवेदी, भक्तबहादुर कुँवर, सुशिला सिंखडा र पञ्चराम गुरुङले आआफ्नो राय सहित सुझाब दिएका थिए।
उक्त विधेयकमा शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक यातायातमा पहुँच, सहायक प्रविधिको उपयोग तथा आत्मनिर्भर जीवनशैली विकासका लागि आवश्यक व्यवस्था समेटिएका छ । विधेयक कार्यान्वयनमा आएपछि अपांगता भएका व्यक्तिहरूलाई थप सुविधा र समान अवसरको सुनिश्चितता हुने जनाइएको छ ।
यसैगरि पारित भएको विधेयकका कारण अपांगता भएका व्यक्ति विरुद्ध हुने वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक र लैंगिक भेदभाव लगायत सबै प्रकारका असमानता तथा उत्पीडनको अन्त्य गर्ने, नागरिकहरुको लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सम्मान हुने, अपांग भएका व्यक्तिहरुको सशक्तिकरण गर्ने, समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्त अवलम्ब गर्ने बिश्वास गरिएको छ ।
विधेयकमा अपांगताको वर्गीकरण तथा पहिचान संघीय ऐनअनुसार हुने व्यवस्था गरिनुको साथै झुटा विवरण दिई परिचयपत्र लिने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने प्रावधान पनि राखिएको छ । यस ऐनमार्फत अपांगता भएका व्यक्तिलाई सामुदायिक जीवन, संरक्षण, सहभागिता, सूचना तथा संचार, आवतजावत, संस्था स्थापना, गोपनीयता, निशुल्क शिक्षा, तालिम, रोजगारी र स्वरोजगार, निशुल्क स्वास्थ्य सेवा, सामुदायिक पुनस्र्थापना, खेलकुद, कला, संस्कृति तथा मनोरञ्जनमा सहभागी हुने अधिकार सुनिश्चित गरिएको छ । सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले प्रस्तुत गरेको प्रस्तावलाई प्रदेश सभाले सर्वसम्मत रूपमा पारित गरेको हो ।