पोखरा, कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार कैलाशबाबु श्रेष्ठ (सुशिल) सम्मानित भएका छन् । पोखराका व्यवसायी बिमलमान गुभाजू तथा उनको परिवारद्धारा आमा स्व.नेत्रकुमारी गुभाजू तथा बाबा स्व.वेदमान गुभाजूको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले मंगलबार पत्रकार गुरुङ र श्रेष्ठलाई प्रदान गरेको हो ।
पुरस्कृत पत्रकारहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पुरस्कारदाता बिमलमान गुभाजु र उनको परिवार, फोनिज गण्डकी अध्यक्ष खिमा कुमारी गुरुङ लगायतले दोसल्ला, सम्मान पत्र र नगद २५ हजार रुपैयाँसहित सम्मान गरेका हुन् ।
फोनिज स्थापना दिवसका अवसरमा पत्रकारितामा क्रियाशील रहेर काम गरिरहेका दुईजनालाई हरेक यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । सोही अनुसार २६ औं स्थापना दिवसका अवसरमा यो वर्ष पोखराका फोटोपत्रकार गुरुङ र गोरखाका पत्रकार श्रेष्ठ सम्मानित भएका हुन् ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख आचार्यले २६ वर्ष अगाडि स्थापना भएको संस्थाले आदिवासी जनजाति पत्रकारहरुलाई उत्प्रेरणा प्रदान गर्ने काम गरिरहेका बताए । फोनिजमा आवद्ध पत्रकारहरुले पत्रकारिता क्षेत्रको विकास गर्दै आदिवासी जनजाति समुदायका लागि सकारात्मक परिवर्तनको सन्देश दिने सामाचार सामाग्री तयार गर्नुपर्ने उनको सुझाव थियो ।
प्रमुख आचार्यले पुरस्कृत पत्रकारहरुलाई बधाई दिदै पुरस्कार प्राप्त गर्नु कुनै एकदिनको कर्मको फल नभएको बताए । निरन्तरको मेहनतले मात्र पुरस्कार र सम्मान प्राप्त गर्न सकिने उनको भनाई थियो । ‘पुरस्कार प्राप्त गर्नु चुनौती हो, फोनिजले यसलाई निरन्तरता प्रदान गरेको छ र पुरस्कृत व्यक्तिलाई प्रोत्साहन हो,’ उनले भने, ‘यस्ता पुरस्कारले पत्रकारिता क्षेत्रमा निरन्तरता दिन अझै हौसला मिल्छ ।’
सम्मानित पत्रकार श्रेष्ठले कार्यक्रममा आफ्नो भनाई व्यक्त गर्दै पहिले र अहिलेको पत्रकारिता पेसामा धेरै परिर्वतन आइसकेको बताए । आफूहरुको पुरानो अनुभव हालका नयाँ पुस्तालाई कथा जस्तो लाग्न सक्ने समेत उनको भनाई छ । अर्का सम्मानित फोटो पत्रकार गुरुङले पुरस्कारले पत्रकारिता क्षेत्रमा निरन्तर लाग्न प्रोत्साहन मिलेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा महानगरपालिका वडा नम्बर २५ का अध्यक्ष तथा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिना, नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश परिषदका उपाध्यक्ष खीम छन्त्याल, फोनिज गण्डकीका इन्चार्ज तथा छनौट समितिका सदस्य रुद्र श्रीष मगर, फोनिज गण्डकी प्रदेशका अध्यक्ष खीमा गुरुङ, फोनिज गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङ (सुमन) र महासचिव सुरज थापा मगर लगायतले आआफ्नो भनाई राखेका थिए ।




















