काठमाडौ, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको स्वास्थ्य उपचारको जिम्मा गन्तव्य मुलुक वा रोजगारदाताले लिनुपर्ने बताएका छन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस, युवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पौडेलले उक्त कुरा बताएका हुन् ।
विश्व स्वास्थ्य संगठन ( डब्लु.एच.ओ.) मा वैदेशिक रोजगारीमा गएका श्रमिकको स्वास्थ्य उपचार सम्बन्धित देशका रोजगारदाताले गर्नुपर्ने विषय उठाएको स्मरण गराउंदै उनले डब्लुएचओको आगामी सभामा नेपालले यो विषय प्रस्ताव गर्ने बताए । उनले साढे १३ हजारले डयालसिस गर्दा ८ हजार वैदेशिक रोजगारीबाट फर्केका श्रमिक हुनेगरेको र अनौपचारिक तथ्यांक अनुसार ३० हजार जना डयालसिस गर्नेको संख्या रहेको जानकारी दिए ।
मन्त्री पौडेलले विगतको तुलनामा नागरिकको स्वास्थ्य समस्या बढ्दै गएको तर राज्यले स्वास्थ्यलाई प्राथमिकता नदिएको समेत आरोप लगाए । स्वास्थ्य बिमामा २९ अर्ब आवश्यक रहे पनि सरकारले १० अर्ब मात्र छुट्याइएको बताउंदै उनले योगदानमा आधारित स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनुपर्ने विचार राखे ।
नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवरले रक्तदान केवल समाजप्रतिको जिम्मेवारी मात्र होइन, यो जीवन बचाउने महान कार्य हो भन्दै युवाहरूले यस प्रकारका सामाजिक कार्यमा अग्रसर हुनुपर्नेमा जोड दिए ।
वरिष्ठ उपाध्यक्ष तेजेन्द्र कार्की र महासचिव अजय राइले अन्तर्राष्ट्रिय युवा दिवस केवल उत्सव मात्र नभएर युवाहरूलाई समाज सेवामा सक्रिय बनाउने र युवाको सामाजिक उत्तरदायित्वलाई थप सशक्त बनाउने उद्धेश्यले गरिएको बताए ।
कार्यक्रममा ५० जना भन्दा बढिले रक्तदान गरेका छन् रक्तदान कार्यक्रम नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा समितिका अध्यक्ष दिपेन्द्र सुनारको अध्यक्षतामा भएको थियो । युवा समितिले देशैभरी विभिन्न कार्यक्रम आयोजना गरि मनाएको ट्रेड युनियन कांग्रेस युवा समितिका अध्यक्ष दिपेन्द्र सुनारले जानकारी दिए ।