पोखरा, पोखरा महानगरपालिकाको वडा न. २, ३. ४ र ९का विभिन्न स्थानमा सुन र चाँदीको अबैध तरिकाले कारोबार भैरहेको भन्ने सूचनाका आधारमा प्रहरीले शुरु गरेको अनुसन्धानपछि करिब साढे ६ किलो सुन, करिब ४ सय ४५ तोला चांदी र ५ लाख रुपैया भन्दा बढी नगद सहित ११ जनालाई पक्राउ गरिएको छ। बरामद गरिएको सुन चांदी र बजार मूल्य ११ करोड रुपैया भन्दा बढी रहेको छ ।
प्रहरीले पाएको सूचना अनुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयहरूबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेका ११ जनाबाट सुन ५४९ तोला ४० लाल (६ किलो ४०० ग्राम), चाँदी ४४४ तोला ७३.९ लाल र नगद ५ लाख १४ हजार ६६५ रुपैया बरामद गरेको शनिबार आयोजित पत्रकार सम्मेलनमा कास्कीका प्रहरी प्रमुख एबम प्रहरी उपरिक्षक श्यामबाबु ओलियाले जानकारी दिए। पक्राउ परेका ११ जनालाई बरामद गरिएको सामान सहित आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइने भएको प्रहरीको भनाई छ ।
शुक्रबार बेलुका प्रहरीले शुरु गरेको अपरेसनका क्रममा पक्राउ पर्नेहरुमा पोखरा -२ मोहरियाटोलमा बसेर बिगत १६ बर्षदेखी कालिगढ़को रुपमा कार्यरत भारत महाराष्ट्रका ४१ बर्षीय राजेन्द्र रामचन्द्र जगताप, पोखरा -२ मा रहेर बिगत २० बर्षदेखी कलिगढ़को रुपमा कार्यरत भारत कलकत्ताका ४५ बर्षीय मनिकलाल आदक, पोखराको बिन्दबासिनीमा रहेर कलिगढ़कै काम गर्ने भारत पश्चिम बंगालका ३५ बर्षीय सन्दिप ढाव, पोखराको मोहरियाटोलमा रहेर सुन चाँदीको डिजाइनको काम गर्ने भारत पश्चिम बंगालका ४१ बर्षीय सोमनाथ पल रहेको प्रहरीले जनाएको छ।
यसैगरी पोखरा -४ तेर्सापट्टिमा बसेर बिगत २० बर्षदेखी सुनचाँदीको काम गर्ने भारत कलकत्ताका दिपक सामन्त, पोखरा -३ मा बसेर २८ बर्ष देखि सुनचाँदीको काम गर्ने ४७ बर्षीय गोविन्दा दिण्डा, पोखराको चिप्लेढुंगा बसेर २० बर्षदेखी कलिगढ़को रुपमा कार्यरत ३५ बर्षीय असित वर,पोखरा मोहरियाटोल बसेर २४ बर्षदेखी सुनचांदीको काम गर्ने तापस सामन्त, पोखराको भैरवटोलमा बसेर बिगत १२ बर्षदेखी कलिगढ़को रुपमा काम गर्ने ३८ बर्षीय उज्वल भोमिक, पोखरा -८ सभागृहचोक बसेर १२ बर्षदेखी सुनचाँदीको काम गर्ने ४० बर्षीय सुनिता पावर र पोखराको मोहरियाटोल बसेर सुनचाँदीको काम गर्ने ४९ बर्षीय प्रोभास माझि रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका राजेन्द्र रामचन्द जगतापबाट सुन ११ तोला २०.६ लाल, चाँदी २९६ तोला ३३ लाल र नगद १ लाख ६० हजार ५ सय मनिकलाल आदकबाट सुन १३ तोला १७ लाल, चाँदी १० तोला ५५ लाल, सन्दिप ढावबाट सुन ३ तोला ८ लाल, सोमनाथ पालबाट सुन १२ तोला १२.७ लाल, चाँदी ९ तोला ५९.४ लाल, दिपक सामन्तबाट सुन ३८ तोला ५ लाल, चाँदी ३० तोला ११ लाल, गोविन्द दिण्डाबाट सुन २१० तोला ८९ लाल बरामद भएको थियो।
यसैगरी असित वरबाट सुन ८६ तोला ८७.१ लाल र चाँदी ३१.५ लाल, तापस सामन्तबाट सुन २४ तोला १५ लाल, उज्वल भोमिकबाट सुन ५ तोला ४६.९ लाल, सुनिता पवारबाट सुन २ तोला ५० लाल र चाँदी ९३ तोला ६१ लाल, प्रोभास माझीबाट सुन ८८ तोला ३१ लाल र नगद १ लाख ८५ हजार र सन्जय ढावबाट सुन १३ तोला ५८ लाल,चाँदी ४ तोला २३ लाल र नगद.१ लाख ६९ हजार १५५ रुपैया बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।