पोखरा, पोखरा महानगरपालिका–२३, माझथुमस्थित सिद्ध बराह माध्यमिक विद्यालय परिसरमा दश हजार लिटर क्षमताको पानि ट्यांकी निर्माण गरिएको छ । सेन्ट एडवार्ड स्कुल, अक्सफोर्ड युकेको २ लाख रुपैयाँ आर्थिक सहयोगमा लायन्स क्लब पोखरा समृद्धिले उक्त ट्यांकी निर्माण गरेको हो । ट्यांकी निर्माण भएसँगै विद्यालयमा अध्ययनरत २२५ जना विद्यार्थीलाई खानेपानी सुबिधा उपलब्ध भएको छ ।
नवनिर्मित ट्यांकीको उद्घाटन लायन्स डिस्ट्रिक ३२५ के का डिस्ट्रिक गभर्नर दुर्गाप्रसाद हुमागाईंले गरे । डिस्ट्रिक गभर्नर हुमागाईंले लायन्स क्लब पोखरा समृद्धिले विद्यार्थीका लागि शुद्ध खानेपानीको व्यवस्था गरेर महत्वपूर्ण मानवीय सेवा गरेको बताए । उनले लायन्स क्लब निस्वार्थ सेवा गर्ने संस्था भएकोले ‘जहाँ आवश्यकता त्यहाँ लायन्सको उपस्थिति रहने’ धारणा व्यक्त गरे ।
लायन्स क्लब पोखरा अन्नपूर्णका पूर्वअध्यक्ष तथा खानेपानी परियोजनाका निर्देशक सोनम साङ्पोले यस वर्ष ८ वटा विद्यालयलाई खानेपानी ट्यांकीका लागि सहयोग गरिएको र सिद्ध बराह सहयोग पाउने ४९ औं विद्यालय रहेको जानकारी दिए । उनले एउटा लायन्स क्लबले अर्को लायन्स क्लबमार्फत सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुदत्त पराजुलीले खानेपानी जस्तो अति महत्त्वपूर्ण क्षेत्रमा सहयोग गरेकोमा लायन्स क्लबलाई धन्यवाद दिए । विद्यालयका प्रधानाध्यापक बद्रीनाथ पराजुलीले अब पानीकै कारण विद्यार्थीको पठनपाठनमा कुनै अवरोध नआउने बताए । कार्यक्रममा वडा प्रतिनिधि चेत बहादुर क्षेत्रीले पनि क्लबको सहयोगप्रति आभार प्रकट गरे ।
सोही अवसरमा डिस्ट्रिक एडमिनिस्ट्रेटर कल्पना श्रेष्ठले लायन्स क्लब अति पिछडिएको स्थानमा आएर काम गर्न पाएकोमा खुसी व्यक्त गरिन् । कार्यक्रममा ग्लोबल चिफ कुस्मा राणा र जोन चियरपर्सन शान्ति श्रेष्ठको पनि उपस्थिति थियो । लायन्स क्लब पोखरा समृद्धिकी अध्यक्ष सन्ध्या लिगल बानियाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक राधिका थापाले दिएकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव रोजिना कुँवरले गरेकी थिइन् ।