पोखरा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले नेपाल सरकारले प्रदान गरेको सहुलियतपूर्ण कर्जाको दुरुपयोग रोक्न प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् । सरकारले कृषिसहित विभिन्न क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने गरेको भएपनि दुरुपयोग हुनेगरेको भन्दै उनले चिन्ता ब्यक्त गरे ।
मुल्मीका अनुसार सहुलियतपूर्ण कर्जामध्ये २२ प्रतिशत नियमविपरीतको क्षेत्रमा प्रवाह भएको छ भने त्यस्तो खाले कर्जामध्ये १६ प्रतिशत दोहोरिएको, ११ प्रतिशतमात्र लक्षित बर्गमा पुगेको र त्यसमा पनि ९ प्रतिशत दुरुपयोग भएको छ । ‘राज्यले सहुलियतपूर्ण कर्जामा अनुदान प्रदान गरेको छ, त्यो राज्यकोषबाट जान्छ र जनताले तिरेको करको हिस्सा हो,’उनले भने,‘राज्यकोषको दोहन हुँदा राज्य र नियमनकारी निकाय टुलुटुलु हेरेर बस्न मिल्दैन ।’
मुल्मी पोखरा उद्योग वाणिज्य संघ तथा पृथ्वीनारायण क्याम्पसको अर्थशास्त्र विभागले मंगलबार पोखरामा आयोजना गरेको ‘शैक्षिक संस्था–उद्योग संवाद’ श्रृंखलाअन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिबारेको अन्तक्र्रियामा बोल्दै थिए । उनले मौद्रिक नीति आफैमा गलत नहुने र योपटकको नीति केही उदारपूर्ण रहेको उनको भनाइ थियो । उनले ५ प्रतिशतभित्र नै मुद्रास्फिति कायम गर्नु चाहिँ चुनौतीपूर्ण नै भएको बताए ।
अर्थशास्त्रका ज्ञाता मुल्मीले बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएकाहरु कालोसूचीमा पर्दै जानु राम्रो संकेत नभएको पनि बताए । गत आर्थिक वर्षको असार मसान्तसम्म करिब ५३ हजार ८ सय जना कालोसूचीमा परेका छन् र त्यसमध्ये गण्डकी प्रदेशका करिब ११ प्रतिशत रहेका छन् ।
‘कालोसूचीमा परेकामध्ये केही कर्जा तिर्न सक्ने तर अन्यत्रै लगानी गर्ने छन्, मध्यम र साना व्यवसायी पनि यो सूचीमा रहेकै छन् । अर्थतन्त्रको आधार मानिने साना र मझौला व्यवसायीको संख्या बढ्न् राम्रो हुँदैन,’उनले भने,‘ कालोसूचीमा पर्नेमध्ये १३ हजार ८ सय त बैंकिङ कसूरकै छन्। त्यसमा पनि ८ हजार जना काठमाडौं उपत्यकाभित्र बस्ने छन् । गण्डकीको संख्या चाहिँ २ सय ९४ को वरपर रहेको छ ।’
उनले देशका बैंक तथा वित्तीय संस्थामा जम्मा हुने निक्षेपमध्ये ८ प्रतिशत गण्डकीबाट प्राप्त हुने गरेको तर लगानीको दृष्टिले चाहिँ गण्डकी पछि नै रहनुलाई पनि निको मान्न नहुने बताए । ‘यहाँ जम्माजम्मी ७.२५ प्रतिशत कर्जा प्रवाह भएको छ । हामीले किन कर्जा लिन सकेनौँ ? कर्जा प्रवाह हुनु भनेको उत्पादकत्व बढ्नु र रोजगारी सिर्जना हुनु् हो, यो विषयमा बहस गर्ने कि नगर्ने ?,उनले प्रश्न गरे । उनले कर्णाली र काठमाडौंमा प्रवाह गरिने कर्जामा एउटै खालको ब्याजदर उचित हो कि हैन भन्नेबारे बहस गर्ने बेला भएको पनि बताए ।
कार्यक्रमका विशेष अतिथि नेपाल राष्ट्र बैंक पोखराका निर्देशक दीपकराज लामिछानेले अहिलेको मौद्रिक नीति उदार र अर्थतन्त्र चलायमान बनाउने उद्देश्यसहित आएको बताउँदै दिल खोलेर लगानी गर्न उद्योगी व्यवसायीसँग आग्रह गरे । ‘अहिले अर्थतन्त्रका सवै सूचक राम्रा छन्, सस्तो ब्याजमा कर्जा प्रवाह भएको छ । यो लगानीको लागि पर्ख र हेरको समय हैन, तत्काल लगानी गर्ने बेला हो,’उनले भने,‘हामीले जनतालाई केन्द्रमा राखेर नै मौद्रिक नीति ल्याएका हौँ ।’
उनले घरजग्गा कारोबार र शेयर बजारलाई केही सहुलियत दिइए पनि त्यसले अर्थतन्त्र नडग्मगाउने जिकिर पनि गरे । ‘यो सजगतापूर्वक ल्याइएको लचिलो मौद्रिक नीति हो र न्यून–मध्यम आय भएका नागरिकको जीवनस्तर उकास्ने पनि यसको लक्ष्य छ ।’
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले मौद्रिक नीति उत्साहहीन निजी क्षेत्रलाई उत्साहित बनाउन तथा सुस्ताएको आन्तरिक बजारलाई चलायमान बनाउनेतर्फ केन्द्रीत भए पनि बजार चलायमान हुन नसकेकोमा भने चिन्ता जाहेर गरे । ‘बजार किन सुस्ताएको छ भन्नेतर्फ आँखा लगाउँदा सहकारी र लघुवित्त क्षेत्रमा देखिएको अनियमितता र यसले खल्बल्याएको सानो पूँजी निर्माण तथा परिचालन प्रक्रियालाई अद्यावधिक गरिनुपर्छ भन्ने हाम्रो मान्यता छ,’उनले भने,‘अर्थतन्त्रलाई बाह्य क्षेत्रले भरथेग गरिरहेको अवस्थामा आन्तरिक बजार किन कमजोर छ भन्ने तथ्यमा टेकेर बजार चलायनमा तुल्याउने, उत्पादन र उपभोग दुवै बढाउने नीति अख्तियार नगर्दासम्म अर्थतन्त्रमा तात्विक सुधार आउँदैन।’
उनले ब्याजदर न्यून बिन्दुमा हुँदा पनि किन कर्जा प्रवाह भएन भन्ने तथ्यप्रति नेपाल राष्ट्र बैंकले नजर लगाउनुपर्ने,घरजग्गा कारोबार किन माथि उठेन भन्नेबारे नयाँ ढंगले अध्ययन गर्नुपर्ने र बचतको पनि ब्याज घट्दा सो रकम अनौपचारिक अर्थतन्त्रतर्फ सोहोरिन्छ कि भन्नेबारे पनि सचेत हुनुपर्नेमा जोड दिए । अध्यक्ष कार्कीले कृषि, लघु, घरेलु, साना र मझौला व्यवसायमा कर्जा सहजीकरण गर्न ल्याइएको नीति कार्यान्वयनमा बैंक तथा वित्तीय संस्थाहरुलाई बाध्यकारी व्यवस्था अनुरुप निर्देशन दिनुपर्ने धारणा पनि राखे ।
टिप्पणीकर्ताको रुपमा बोल्दै पृथ्वीनारायण क्याम्पस, अर्थशास्त्र विभागका पूर्वप्रमुख प्रा.डा.लेखनाथ भट्टराईले नेपालको अर्थतन्त्र जोगाउने काम मौद्रिक नीतिले गर्दै आइरहेको बताउँदै अहिलेको मौद्रिक नीति उत्साह बढाउने खालको नै भएको बताए । तर, बढ्दो महंगी नियन्त्रणमा भने नीति सफल हुन्छ कि हुँदैन भन्ने आशंका रहेको उनको भनाइ थियो ।
पृथ्वीनारायण क्याम्पस, अर्थशास्त्र विभागका प्रम्ुख सह प्राध्यापक कमल ढकालले ज्ञान निर्माणका माध्यमबाट राज्यका नीतिहरु जनमुखी बन्नुपर्ने बताउँदै त्यही प्रयोजनको लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए ।
पोखरा उद्योग वािणज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य र महासचिव शोभा गौतमले पनि संघको गतिबिधिबारेमा जानकारी गराएको उक्त कार्यक्रममा बोल्दै नेपाल व्यवस्थापन संघ कास्कीका अध्यक्ष वीरबहादुर कार्कीले उत्पादनमा जोड दिने मौद्रिक नीति आए पनि किन उखु र दूग्धकिसानले भुक्तानी पाउन सकेका छैनन् भन्ने प्रश्न गरे । घरजग्गामा कर्जा प्रवाह बढ्दा खराब कर्जाको आकार बढ्नेतर्फ सचेत हुनुपर्ने उनको भनाइ थियो ।
प्राध्यापक कुञ्जराज थापाले दुई ठूला अर्थतन्त्रको बीचमा रहेको नेपालले सवै कुरा खुल्ला छाड्नुभन्दा केही कुरामा नियन्त्रण पनि गर्नुपर्ने सुझाव दिए ।
पृथ्वीनारायण क्याम्पस पोखराका पूर्वक्याम्पस प्रमुख गेहेन्देश्वर कोइरालाले नेपालमा पनि चल्तिमा रहेको क्रिप्टो कारोबारलाई नियमन गर्नुपर्नेमा जोड दिए ।
बैंकर्स एसोसियसन गण्डकीका संयोजक हरी ढकालले कर्जा प्रवाह घटेको र आउनेमध्ये अधिकांश शैक्षिक कर्जाको लागि भएको बताए ।
पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य पृथ्वीराज तिमिल्सिनाले युवा पलायन बढेको बेला यहीँ केही गरौँ भन्ने उत्साह कसरी बढाउनेतर्फ नीतिगत रुपले नै विचार गर्नुपर्नेमा जोड दिए ।
पोखरा च्याम्बर अफ कमर्सका कोषाध्यक्ष जीवन ढुंगानाले घरजग्गामा कर्जा दिँदा खेतीयोग्यभन्दा अन्यत्र बन्ने घरहरुलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
प्राध्यापक बुद्धिसागर बरालले मौद्रिक नीति सवैलाई खुसी बनाउने खालको आएको र बजारमा पैसा बढी हुँदा त्यसले उपभोगवादी संस्कृतिलाई नै बल पुग्ने हो कि भन्ने तर्क गरे ।
बीमा कम्पनीहरुको तर्फबाट धारणा राख्दै सुरज रेग्मीले यो मौद्रिक नीतिले बीमा क्षेत्रमा उत्साह छाएको बताए ।
पोखरा चेम्बर अफ कमर्सका सदस्य श्रीराम गौतमले साना व्यवसायीहरुलाई प्रोत्साहित गर्नुपर्ने नीति अंगिकार गर्नुपर्नेमा जोड दिए ।
हार्डवयेर व्यवसायी टंक बरालले सुस्ताएको बजारलाई माथि उकास्नेतर्फ अझ बढी ध्यान दिनुपर्ने बताए ।
युवा उद्यमी मञ्च नेपालका पूर्वअध्यक्ष प्रकाशदेव पालिखेले यो देशमा केही हुँदैन भन्ने मनोवृृित्त तोड्न र रोजगारी सिर्जनागर्ने गरी काम गर्नुपर्ने बताए ।
पुस्तक तथा स्टेसनरी व्यवसायी प्रकाश पौडेलले घरजग्गा धितो राखेर ऋण दिने प्रवृत्तिका कारण सीप हुने र केही गर्छु भन्नेले ऋण पाउन नसकेको बताए ।
आइटी व्यवसायी नविन श्रेष्ठले सूचना प्रविधि क्षेत्रमा लगानी बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।
पृथ्वीनारायण क्याम्पसकी अर्थशास्त्रकी विद्यार्थी अन्जु गिरीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति कसरी उत्पादन गर्ने भन्नेबारे राज्यले सोच्नुपर्ने बताइन् ।