काठमाडौँ, मिडिया काउन्सिलमा अनलाइन टिभी पत्रकारहरुको प्रतिनिधित्व सूनिश्चित गर्न अनलाइन टिभी पत्रकार संघ, नेपालले माग गरेको छ । काउन्सिल सम्वन्धी विधेयकमा छलफल चलाईरहेको संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिका सभापति अम्मर वहादुर थापालाई सुझावपत्र बुझाउदै संघले प्रतिनिधित्वको माग गरेको हो ।
विधेयकको दफा ६ घ मा छापा, अनलाईन, रेडियो र टेलिभिजनका प्रकाशक, सम्पादक, श्रमजीवी पत्रकारहरुको प्रतिनिधित्व हुने व्यवस्था गरिएपनि अनलाइन टिभीलाई भने वेवस्ता गरिएको भन्दै संघले समितिको ध्यानाकर्षण गराएको हो ।
संघको तर्फबाट अध्यक्ष जीवन भण्डारी नेतृत्वको टोलीले सभापति थापालाई सिंहदरवारस्थीत कार्यकक्षमै भेटेर पछिल्लो समयमा सबैभन्दा बढी प्रभावकारी भएका र संख्याको हिसावले पनि सबैभन्दा धेरै रहेका अनलाइन टिभीहरुको प्रतिनिधित्व काउन्सिलमा हुनुपर्ने माग राखेको हो ।
अहिलेको प्रेस काउन्सिलमा पनि सबैभन्दा धेरै विवाद र उजुरी अनलाइन टिभीकै बारेमा पर्ने गरेकाले पनि त्यसको सम्वोधन गर्न र न्यूनीकरण गर्न काउन्सिलमा अनलाइन टिभीको प्रतिनिधित्व हुनु पर्ने अध्यक्ष भण्डारीको भनाई थियो ।