काठमाडौं, अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा अघोषित प्रतिबन्ध लगाएर समस्याको समाधान नहुने बताएका छन् । आइतबार कालीकास्थानस्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै महानिर्देशक तिवारीले श्रम आप्रवासनको धरातलीय यथार्थका स्वीकार गरेर सुरक्षित नबनाएसम्म अध्यागमनदेखि भिजिट भिसाको समस्याहरू समाधान नहुने बताए ।
उनले मानव तस्करी र स्वेच्छिक रूपमा विदेश जान चाहने व्यक्तिलाई एउटै नजरले हेर्न नहुने पनि बताए । भिजिट भिसा दुरुपयोगका सम्बन्धमा भएको अनियमिततालाई मानव तस्करी भन्न नमिल्ने उल्लेख गरे । भिजिट भिसासम्बन्धी समस्या अध्यागमनका कर्मचारीको कमजोरी र नियतले नभई प्रणालीगत समस्याको कारण सिर्जित भएको उनको जिकिर छ ।
उनले भिजिट भिसामा देखिएको समस्या र त्यसको अन्त्यका लागि विभिन्न निकायहरू उत्तिकै जिम्मेवार हुने भन्दै अब संयुक्त रूपमा काम गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘‘अब शंस्कापद रूपमा भिजिट भिसामा विदेश जान खोज्नेहरूलाई हामी घर मात्रै फर्काउँदैनौँ । त्यस्तो देखिए अनुसन्धानका लागि प्रहरीलाई बुझाउँछौँ । त्यसका लागि हामी प्रहरीसित समेत मिलेर काम गर्ने योजना बनाउँदैछौँ ।’’
उनले अध्यागमन कार्यालयको पुनःसंरचना र कानुनी सुधार गर्नसके मात्र भिजिट भिसा दुरुपयोग रोक्न सकिने बताए ।