पोखरा, रोटरी क्लब अफ पोखरा भ्यालीले कास्कीको अन्नपूर्ण गाउँपालिका-२ स्थित श्री दुर्गाभवानी आदर्श सामुदायिक विद्यालयमा १२ वटा कक्षाकोठाका लागि पंखा वितरण गरेको छ। बिद्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच विद्यालयलाई पंखा हस्तान्तरण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि एवम् अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला अधिकारीले रोटरी क्लबको यस सामाजिक कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै सहयोग उपलब्ध गराउन आग्रह गरिन।
अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष युवराज कुँवरले यस किसिमको सहयोगले विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा फाइदा पुग्ने बताए।
अन्नपूर्ण-२ का वडा अध्यक्ष पिताम्बर भण्डारीले विद्यालयलाई गरिएको सहयोगका लागि रोटरी क्लबप्रति वडाको तर्फबाट आभार प्रकट गरे।
रोटरी क्लब अफ पोखरा भ्यालीका अध्यक्ष कृष्णहरी पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माया अधिकारी, चार्टर प्रेसिडेन्ट जनपुकार मुनाकर्मी, रोटरी क्लबका डिस्ट्रिक्ट अफिसर डिल्ली अधिकारी, अध्यक्ष इलेक्टेड नवीन बरालले रोटरी क्लबको बारेमा चर्चा गरेका थिए।
कार्यक्रम संयोजक वेदहरी तिमिल्सिनाले विद्यालयको सहयोगमा रोटरी क्लबको भूमिकाबारे प्रकाश पार्दै यस किसिमको सहयोगले विद्यार्थीहरूलाई पढ्न सहज हुने विश्वास व्यक्त गरे।
विद्यालयका प्रधानाध्यापक होमनाथ अधिकारीले विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रमको सञ्चालन रोट्री क्लब अफ पोखराका सहसचिव रिना पौडेलले गरेकी थिइन्।