- बाशुदेव मिश्र / पोखरा
वि. सं. २०१२ मंसिरमा वीरगन्जमा भएको महाधिवेशनबाट सुवर्णशमशेर सभापति बन्दा डा. तुलसी गिरी महामन्त्री र कृष्णप्रसाद भट्टराईदेखि गिरिजाप्रसाद कोइरालासम्म केन्द्रीय सदस्य थिए।
२००९ सालमा भएको पार्टी विभाजनपछिको महाधिवेशनमा बीपी कोइराला बाहिरै रहे। त्यही महाधिवेशनले तनहुँ सिम्पानीका श्रीभद्र शर्मा पनि केन्द्रीय सदस्य चुनेको थियो।
राणा शासनविरुद्धको ‘जयतु संस्कृतम्’ आन्दोलनमा संलग्न श्रीभद्र शर्मा गण्डकी प्रदेशका कांग्रेसका हस्ती थिए। कतिसम्म भने बीपी लमजुङको दुराडाँडा र तनहुँ आउँदा श्रीभद्रकै घरमा बास बसे। आफ्नो संस्मरणमा बीपीले श्रीभद्रको ठूलो घरबारे चर्चा पनि गरेका छन्।
नेपाली कांग्रेसका संस्थापकमध्येका एक श्रीभद्रले राणाविरुद्धको आन्दोलनमा तत्कालीन पश्चिम नेपालको नेतृत्व गरे। बन्दीपुर कब्जा गर्ने मुक्ति सेनाको कमान्डर उनै थिए।
गण्डकी वा पश्चिम नेपालमा कांग्रेसको संगठन विस्तारमा श्रीभद्रहरूको योगदान अतुलनीय छ। मृत्यु कि मुक्ति भन्ने नारासहित कांग्रेसमा होमिएका उनीजस्तै नेताहरूका कारण गण्डकी प्रदेश कांग्रेस जन्माउने ‘मेसिन’ बन्यो।
मुक्ति आन्दोलनका सहिद हरिप्रसाद गुरुङ, बन्दीपुर कब्जा अभियानमा आहुति दिएका धर्मध्वज गुरुङ, धर्मबहादुर श्रेष्ठ, सन्तबहादुर राना मगर, उत्तमकुमार श्रेष्ठ, चन्द्रबहादुर सार्की र खड्गबहादुर गोदारहरूको त्याग र रगतमा कांग्रेसको संगठन उभियो। शिवप्रसाद अधिकारी, वेदप्रकाश पनेरु, तारापति सुवेदीहरूले पनि कांग्रेसलाई ठूलै योगदान दिए। केन्द्रमा चाहिँ श्रीभद्र रहे।
२०१४ सालमा विराटनगरमा सम्पन्न विशेष महाधिवेशनले कांग्रेस सभापतिमा बीपी कोइरालालाई चुन्यो। र, त्यो केन्द्रीय समितिमा पनि कृष्णप्रसाद भट्टराईपछिको दोस्रो वरीयतामा श्रीभद्र शर्मा अटाए।
२०१७ वैशाखमा काठमाडौँमा सम्पन्न सातौँ महाधिवेशनबाट पनि बीपी नै पुनः सभापति चुनिए। शक्तिशाली प्रधानमन्त्रीसमेत रहेका सभापति बीपीपछिको दोस्रो वरीयतामा महामन्त्री श्रीभद्र भए। त्यो समितिमा सुवर्ण शमशेरदेखि पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालासम्म सदस्य थिए।
त्यही साल पुस १७ गते राजाले जननिर्वाचित कांग्रेस सरकारलाई बर्खास्त गरे। नेताहरूलाई जेल कोचे। पार्टीमा प्रतिबन्ध लगाए। उनी समातिए। २०२४ सालसम्म जेलजीवन बिताए र छुटे। २०१८ सालमै तत्कालीन कार्यवाहक सभापति सुवर्ण शमशेरको अगुवाइमा भएको सशस्त्र संघर्ष चीन-भारत युद्धकै छेकोमा स्थगन गरिए पनि कांग्रेस कार्यकर्ताविरुद्ध पञ्चायती धरपकड जारी नै रह्यो।
पार्टी छिन्नभिन्न भएका बेला श्रीभद्र पञ्चायततिर लहसिए। औपचारिक रूपमा भने उनी २०३१ सालमा संविधान संशोधन सुधार आयोगको सदस्य हुँदै पञ्च बने। बीपीकै पालामा कांग्रेसको दोस्रो वरीयताको हैसियत बनाएका श्रीभद्र कांग्रेस सभापति बन्ने यात्रामा विराम लाग्यो। यद्यपि त्यसपछि पनि उनी कांग्रेसका प्रिय नै रहे। कांग्रेसका कार्यकर्तालाई मुद्दामामिलाबाट बचाउन उनले ठूलै सहयोग गरेको कांग्रेसीहरू चर्चा गर्छन्।
२०४८ सालमा झापामा भएको कांग्रेसको आठौँ महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सभापति चुनिए। उक्त कार्यसमितिको प्रवक्ता कास्कीका तारानाथ रानाभाट बने। उनीपछिको वरीयतामा सदस्य बने- गिरिजाप्रसाद कोइराला।
सुशील कोइराला, कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा, वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल, हाल निष्क्रिय रहेका चीरञ्जीवी वाग्ले पनि त्यो कार्यसमितिमा सदस्य थिए। वरीयतामा माथि रहेका तारानाथ रानाभाटसँग आफूभन्दा कनिष्ठलाई पछाडि पार्ने अवसर थियो।
२०५३ सालमा काठमाडौँमा सम्पन्न नवौँ महाधिवेशनबाट उनी महामन्त्री त भए तर सभापति गिरिजाले पहिलो वरीयताको महामन्त्री मध्यपश्चिमाञ्चलबाट केन्द्रीय सदस्यमा निर्वाचित विश्वासिला सुशीललाई बनाए। देउवा सुदूरपश्चिम र पौडेल पश्चिमाञ्लचबाट केन्द्रीय सदस्य बन्दा कार्यसमितिमा गण्डकीबाट चीरञ्जीवी वाग्ले र दिलबहादुर घर्ती अटाए।
२०५७ माघमा पोखरामा भएको १०औँ महाधिवेशनबाट गिरिजा सभापति बन्दा सहमहामन्त्रीमा गोविन्दराज जोशी आए। सुशील महामन्त्रीमै अडिए। त्यस बेलासम्म शेरबहादुर, रामचन्द्र, दिलबहादुर र चीरञ्जीवी केन्द्रीय सदस्य मात्र थिए। तारानाथ केन्द्रीय सदस्यमा हारे। त्यसपछिको उनको राजनीतिक यात्रा चर्चायोग्य रहेन।
आफूभन्दा कनिष्ठहरू सभापति बने। सभामुख भएका उनले राजाको सक्रिय शासनकालमा प्रधानमन्त्री बन्ने अवसर पाएका थिए। तर, गिरिजाप्रसादकै आग्रहमा पछि हटे। शेरबहादुर अगाडि बढे र प्रधानमन्त्री बने। राजाकै पालामा देशको कार्यकारी बन्ने अवसर गुमाएका उनी अहिले घर्कंदो उमेरमा पुराना कुरा सम्झन्छन् तर पार्टीको कार्यकारी पदमा पुग्ने आकांक्षा सायद छाडिसके।
कुनै बेला कांग्रेसभित्र शक्तिकेन्द्र मानिने सहमहामन्त्री गोविन्दराज जोशी र कांग्रेस प्रजातान्त्रिकका उपसभापति बनेर सम्भावना जगाएका चीरञ्जीवी भ्रष्टाचार मुद्दामा जेल परेपछि राजनीतिबाट ओझेलमा परेका छन्। उनीहरूका लागि अब पार्टीको कार्यकारी पद टाढाको विषय बनेको छ।
२०५९ असारमा शेरबहादुर देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक ) गठन गरे र एकाएक सभापति बने। उनको उपसभापति गोर्खाका चीरञ्जीवी वाग्ले थिए। स्याङ्जाका गोपालमान श्रेष्ठ र कास्कीका कृष्णबहादुर गुरुङ केन्द्रीय सदस्य चुनिए।
उता मूलधारको नेपाली कांग्रेसको २०६२ भदौमा सम्पन्न ११औँ महाधिवेशनले गिरिजालाई सभापति चुन्दा उपसभापतिका रूपमा रामचन्द्र पौडेलको उदय भयो। नेपाली कांग्रेस प्रजातान्त्रिको महाधिवेशनले चाहिँ शेरबहादुरको नेतृत्वमा गोपालमानलाई उपसभाति बनायो।
२०६४ सालमा पार्टी एकीकरण भयो। २०६४ असोजमा भएको एकता महाधिवेशनले गिरिजालाई सभापति चयन गर्दा देउवा वरिष्ठ नेता बने। रामचन्द्र उपसभापति नै रहे। १२औँ महाधिवेशनमा सुशील र शेरबहादुर सभापतिमा भिड्दा रामचन्द्र फेरि पनि उपभापतिमै अडिए।
सुशील सभापति रहँदै बिते। उपसभापति रामचन्द्र पौडेललाई संस्थापन पक्षबाट सभापति बन्ने सुनौलो मौका थियो तर सफल भएनन्। परिणाम शेरबहादुरको हात लाग्दा उनी वरिष्ठ नेता मात्रै रहे। चौधौँ महाधिवेशनमा शेरबहादुरलाई नै सघाएपछि उनी अहिले राष्ट्रपति बनेका छन्।
नेपाली कांग्रेसको आउँदो १५औँ महाधिवेशनमा स्याङ्जाका गोपालमानले सभापति पद दाबी गरिरहेका छन् तर उनी संस्थापनका तर्फबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुने सम्भावना कम छ। बढ्दो उमेर र तीव्र प्रतिस्पर्धाका बीच उनी सभापतिको उम्मेदवार बन्छन् कि बन्दैनन् भन्ने पनि यकिन छैन।
अहिले गण्डकी प्रदेशबाट नेपाली कांग्रेसको पदाधिकारीमा स्याङ्जाका धनराज गुरुङ र कास्कीका जीवन परियार छन्। संस्थापन इतरपक्षबाट उपसभापति र सहमहामन्त्री बनेका उनीहरू पार्टीको सर्वोच्च पद अर्थात् सभापतिमा लड्ने बाटो खुलै छ।
तर, अहिलेसम्म कांग्रेसभित्र देखिएको ध्रुवीकरण हेर्दा उपसभापति धनराजका लागि सभापति पद नजिक त छ तर सहज छैन। त्यसो त उनले पनि अहिलेसम्म सभापति पदमा दाबी गरिसकेका छैनन्। सहमहामन्त्री जीवनसँग चाहिँ खुड्किला उक्लिँदै सभापतिसम्म पुग्न अझै समय बाँकी छ।
गण्डकी प्रदेशकै नवलपुरबाट प्रतिनिधित्व गरिरहेका बीपीपुत्र डा. शशांक कोइरालालाई अहिले पनि विराटनगरकै मानिन्छ। उनी सभापतिका दाबेदार छन्। महामन्त्री पदमा पराजित प्रदीप पौडेलको राजनीतिक यात्रा पनि जारी छ। लमजुङको कोइरालाफाँटलाई कोइराला परिवारको उद्मस्थल मान्ने हो भने छुट्टै कुरा! नत्र तत्काल गण्डकी प्रदेशबाट कांग्रेसको सभापति नै हुने नेता कोही देखिएका छैनन्।
कांग्रेसको १४औँ महाधिवेशनमा कास्कीका देवराज चालिसे सहमहामन्त्री पदका उम्मेदवार थिए। तर हारे। त्रिविको स्ववियु सभापति रहेका चालिसे अहिले संस्थापन इतरपक्षका नेताका रूपमा क्रियाशील छन्। तर उनले पार्टीको नेतृत्वमा पुग्न अझै लामो यात्रा गर्नुपर्छ।
केन्द्रीय सदस्यमा प्रत्यक्ष चुनाव जितेका तनहुँका शंकर भण्डारी, गोविन्द भट्टराई, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कास्कीका गुरु बराल, स्याङ्जाकी सरस्वती तिवारी, मनाङका टेकप्रसाद गुरुङसहितका नेताहरूको राजनीतिक आगामी यात्राचाहिँ १५औँ महाधिवेशनले तय गर्नेछ।
- नेपाल खबरबाट