- बाशुदेव मिश्र / पोखरा
२००६ साल वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका पुष्पलाल श्रेष्ठ कालान्तरमा सोही पार्टीबाट बहिष्करणमा परे। २०१४ साल जेठमा काठमाडौँमा भएको दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव चुनिएपछि उनलाई तत्कालीन गण्डक प्रान्तीय कमिटीको फ्य्राक्सन इन्चार्जको जिम्मेवारी दिइयो।
गण्डकी अञ्चलमा आएपछि पुष्पलालले कम्युनिस्ट संगठन बिस्तारको काम थाले। सोही उपक्रममा उनलाई कास्कीका बलराम उपाध्याय, तनहुँका गुणबहादुर घले र एकदेव आले, पर्वतका चित्रबहादुर गुरुङहरूले साथ दिए।
गण्डकी प्रदेशमा कम्युनिस्ट प्रभाव बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका तथा उनलाई साथ दिएका यी नेताहरू कालान्तरमा पार्टीको महत्त्वपूर्ण पदमा पुग्न सकेनन्। बरु, उनले कम्युनिस्ट बनाएकाहरू नक्सलवादीको प्रभावमा पुगे। कास्कीका बलरामले चाहिँ पुष्पलाललाई अन्तिमसम्म साथ दिइरहे। २०३५ सालमा पुष्पलालको निधन भएपछि उनले नेकपाको नेतृत्व गरे। त्यही संगठन २०४४ सालमा आइपुग्दा सहाना प्रधान, मनमोहन–भरतमोहन अधिकारीहरूको अगुवाइमा नेकपा (माक्र्सवादी) भयो। बलरामको राजनीतिक यात्रा त्यतै बिलायो। उनलाई पछिसम्म पनि कास्कीका टेकनाथ बरालहरूले साथ दिएको वामपन्थी अध्येता झलक सुवेदी बताउँछन्।
‘गण्डकीमा पहिलो छिमलको कम्युनिस्ट प्रभाव बढाउन र संगठन बिस्तारमा पुष्पलालको ठूलो योगदान छ, उहाँले नै दीक्षित गरेकाहरू पछिसम्म पनि विभिन्न धारका कम्युनिस्ट बनेर रहे,’ झलक भन्छन्, ‘पछि नक्सलवादी प्रभावमा परेका र कलेज छाडेर गाउँगाउँमा मास्टर बनेर गएकाहरूले पनि कम्युनिस्ट विचार बढाउन भूमिका खेले। लमजुङको बाहुनडाँडा पुगेका लेखक खगेन्द्र संग्रौला त्यसका एक अब्बल उदाहरण हुन्।’
युवाहरू नक्सलवादीको प्रभावमा परेपछि चाहिँ त्यो छिमलका नेताहरू छायामा परे।
नक्सलवादी आन्दोलनको प्रभावमा रहेका वामपन्थी युवाहरूले २०२५ साल जेठ ३० गते क्रान्तिकारी कम्युनिस्ट दल (गण्डकी धौलागिरि) गठन गरे। त्यसको अगुवा हेमजाका जयप्रसाद बास्तोला थिए। लामाचौरका रामचन्द्र अधिकारी र सोमनाथ अधिकारी ‘प्यासी’, म्याग्दीका कृष्णप्रसाद भट्टराई र सोमबहादुर बोगटी कास्की हंसपुरका पुष्पकमल सुवेदी, पोखरा सराङकोटका मोदनाथ रेग्मी, अमरनाथ सुवेदी, गोपालनन्दन गिरीलगायतका युवाहरू त्यसका संस्थापक थिए।
‘हामीले मालेसँग सम्झौता गरेर नेकपा माले बनायौँ,’ संस्थापक प्यासी भन्छन्, ‘सहमतिमा हस्ताक्षर गर्नेमध्ये जयप्रसाद बास्तोला, पुष्पकलम सुवेदी र म थियौँ। उताबाट जीवराज आश्रित र वामदेव गौतम हुनुहुन्थ्यो।’
प्यासीले भनेको अर्को पार्टी झापा विद्रोहमा सामेल भएकाहरूले २०३२ साल जेठतिर गठन गरेको अखिल नेपाल क्रान्तिकारी को–अर्डिनेसन कमिटी (माले) थियो। २०३५ सालमा मोरङको इटहरामा भएको राष्ट्रिय सम्मेलनबाट नेकपा (माले) गठन भएको हो।
२०२५ सालमा गण्डकी र धौलागिरिका युवाहरू रगतको ल्याप्चे ठोकेर क्रान्तिमा होमिने प्रण गरिरहँदा हालका नेकपा एमालेका वर्तमान अध्यक्ष केपी ओलीले पार्टी सदस्यता पाएकै थिएनन्। तर, पहिलो छिमलका ती युवाहरूमध्ये कोही पनि माथिल्लो पदमा पुगेनन्। सोमनाथको राजनीतिक यात्रा स्थायी कमिटी सदस्यमा पुगेर टुंगियो। एमालेकै राजनीतिमा सक्रिय रहेका वाचस्पति देवकोटाहरू पनि छायामा परे।
एमाले र माओवादी मिल्दा दोस्रो वरीयताको अध्यक्ष बनेका प्रचण्डलाई गण्डकीकै मान्ने हो भने एउटा कुरा, नत्र एमालेको शीर्ष नेतृत्वमा गण्डकीबाट कसैले पनि प्रतिनिधित्व गर्न सकेको छैन। कम्युनिस्ट पार्टीमा चाहिँ प्रचण्ड, चित्रबहादुर केसी, डा.बाबुराम भट्टराईहरू गण्डकीबाटै नेतृत्वमा पुगेका छन्। प्रचण्डको जन्म गण्डकी भए पनि कर्म चाहिँ चितवन हो।
२०४९ सालको माघमा काठमाडौँमा सम्पन्न पाँचौँ महाधिवेशनबाट तनहुँका किरण गुरुङ, लमजुङका केशवलाल श्रेष्ठ, गोर्खाका वाचस्पति देवकोटा, त्रिलोचन ढकाल केन्द्रीय सदस्यमा चुनिए। ४४ जनाको केन्द्रीय कमिटीमा गण्डकी प्रदेशमै काम गरेका काशीनाथ ढकाल पनि समेटिएका थिए। त्यसो त त्रिलोचन ढकाल चौथो महाधिवेशनबाटै केन्द्रीय सदस्य चुनिएका थिए।
२०५४ सालको माघ १२ देखि १८ गतेसम्म नेपालगन्जमा सम्पन्न छैटौँ महाधिवेशनले मनमोहन अधिकारीलाई अध्यक्ष चयन गर्दा महासचिवमा माधवकुमार नेपाल निर्वाचित भए। त्यो महाधिवेशनले केपी शर्मा ओलीको नीतिलाई स्वीकारेको थियो। मनमोहन नेतृत्वको सो कार्यसमितिमा वाचस्पति देवकोटा दोहोरिँदा वैकल्पिक केन्द्रीय सदस्यको रूपमा लमजुङका पृथ्वीसुब्बा गुरुङको उदय भएको थियो।
महाकाली सन्धि ठीक कि बेठीक भन्ने विवादका कारण एमाले विभाजित बन्यो। वामदेव गौतमले नेकपा माले गठन गरे। माले गठन हुँदा किरण गुरुङसहितका धेरैजसो नेताहरू उतै लागे। गण्डकीमा वैकल्पिक केन्द्रीय सदस्य तथा पार्टी इन्चार्जको रूपमा पृथ्वीसुब्बाले एमाले संगठित गर्ने काम गरे। पार्टीभित्र पृथ्वीसुब्बाको भूमिका बढ्दै गएको त्यहीँबाट हो।
२०५८ साल फागुन ३ गते वामदेव ‘पुरानै घर’ मा फर्कंदा किरण गुरुङ, वाचस्पति देवकोटा केन्द्रीय सदस्यको रूपमा रहे भने त्रिलोचन ढकाल वैकल्पिक केन्द्रीय सदस्य बने।
२०५९ सालमा जनकपुरमा सम्पन्न सातौँ महाधिवेशनमा केपी ओलीले पार्टी जीवनको लोकतान्त्रिकरणसम्बन्धी अवधारणा पेस गर्दै बहुपदको वकालत गरे। त्यो महाधिवेशनले मनमोहन अधिकारीको सम्मानका निम्ति भन्दै अध्यक्ष पद खारेज गरिदियो भने एक मात्र पदाधिकारीको रूपमा माधवकुमार नेपाललाई निर्वाचित गर्यो। ६६ सदस्यीय केन्द्रीय कमिटीमा किरण गुरुङ १९ औँ वरीयताका केन्द्रीय सदस्य चुनिए। त्यो केन्द्रीय कमिटीमा अहिलेका उपमहासचिव प्रदीप ज्ञवाली २५ औँ वरीयतामा थिए भने महासचिव शंकर पोखरेल ३७ औँ नम्बरमा अटाएका थिए। वाचस्पति ४४ र पृथ्वीसुब्बा ४७ औँ नम्बरमा थिए। वैकल्पिक केन्द्रीय सदस्यको रूपमा कास्कीका तुलबहादुर गुरुङ केन्द्रीय कमिटीमा पुगेका थिए।
२०६५ साल फागुन ५ देखि १४ गतेसम्म बुटबलमा सम्पन्न आठौँ महाधिवेशनले झलनाथ खनाललाई अध्यक्षमा चयन गर्दा केपी ओलीबाट प्रस्तुत पार्टीको लोकतान्त्रिकरणसम्बन्धी प्रस्ताव पारित भयो। लमजुङका पृथ्वीसुब्बा पोलिटब्युरो सदस्य चुनिँदा कास्कीका खगराज अधिकारी, म्याग्दीकी थममाया थापा, मुस्ताङकी थममाया थकाली तनहुँका किरण गुरुङ, पर्वतका गणेश तिमिल्सिना, लमजुङकी टुका हमाल, कास्कीका तुलबहादुर गुरुङ, गोर्खाका वाचस्पति देवकोटा, लमजुङका केशवलाल श्रेष्ठ, पर्वतकी कल्पना चपाईं, कास्कीकै चुडामणि जंगली र जगत विश्वकर्मा, तनहुँका टुकराज सिग्देल र एकबहादुर रानालाई केन्द्रीय सदस्य चुन्यो। १५५ सदस्यीय केन्द्रीय समितिमा अटाएका यी अनुहारहरू अहिले एमालेमै छन् तर केन्द्रीय नेतृत्व ताक्ने तहमा पुगेका चाहिँ उपमहासचिव पृथ्वीसुब्बा गुरुङ मात्रै देखिएका छन्। सचिवमा स्याङ्जाकी पद्मा अर्यालको उदयको प्रसंग अर्कै छ।
२०७१ सालको असार १९ देखि १ गतेसम्म काठमाडौँमा सम्पन्न १० औँ महाधिवेशनले केपी ओलीलाई अध्यक्ष चुन्यो। माधवकुमार नेपाललाई पराजित गर्दा उनी नेतृत्वको केन्द्रीय कमिटीको सचिवको रूपमा पृथ्वीसुब्बा चुनिए। किरण गुरुङ स्थायी कमिटी सदस्य बन्दा श्रीमाया थकाली र जगत विश्वकर्मा पोलिटब्युरो सदस्य चुनिए। तनहुँका एकबहादुर राना, कास्कीका खगराज अधिकारी, बागलुङका गोविन्दबहादुर नेपाली र मनाकुमारी जिसी, नवलपुरका लोकबहादुर महत, बागलुङका लीलबहादुर विश्वकर्मा, कास्कीका भीम कार्की र मानबहादुर जिसी, सीता ओली गिरी, लमजुङका मायानाथ अधिकारी, गोर्खाका रामशरण बस्नेत, स्याङ्जाकी सीताकुमारी सुन्दास केन्द्रीय कमिटीमा पुगे।
२०७४ सालमा एमाले र माओवादीबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी बन्यो। थुप्रै अनुहारहरू केन्द्रीय सदस्यको रूपमा उदाए पनि त्यो एकता धेरै टिकेन। २०७९ सालको मंसिर १० देखि १४ गतेसम्म चितवनको सौराहामा सम्पन्न १० औँ महाधिवेशनले केपी ओलीलाई अध्यक्ष चयन गर्यो। भीम रावलले घेराबन्दीका बीच अध्यक्षमा प्रतिस्पर्धा गरे पनि अन्य पदहरू चाहिँ अध्यक्ष ओलीको कोटको खल्तीबाट निस्क्यो।
त्यो महाधिवेशनले लमजुङका पृथ्वीसुब्बालाई उपमहासचिवमा बढुवा गर्यो। सचिव भइसकेका पृथ्वीसुब्बा सोही महाधिवेशनमा महासचिवका आकांक्षी थिए। तर, उनी चुनावमा होमिने अवस्था बनेन। स्याङ्जाकी पद्मा अर्याललाई सचिव मनोनीत गरियो भने लमजुङकी इन्दु कडरिया र टुका हमाल, बागलुङका इन्द्रलाल सापकोटा र गोविन्दबहादुर नेपाली, लमजुङकी कल्पना थापा, जविन्द्रमान घले, स्याङ्जाका किशोरविक्रम मल्ल, कास्कीका खगराज अधिकारी, कृष्ण थापा, भीम कार्की, जगत विश्वकर्मा, राजीव पहारी, मीना गुरुङ, सीता ओली, तनहुँका किरण गुरुङ, टुकराज सिग्देल, म्याग्दीका भुपेन्द्रबहादुर थापा, बागलुङका सूर्य पाठकहरू पनि केन्द्रीय सदस्य बने।
स्याङ्जाकी पद्मा अर्याल सचिव चुनिँदा पदाधिकारीको आकांक्षा गर्ने पुराना नेता किरण गुरुङ पछाडि परे। एमाले विभाजित हुँदा मालेमा संगठित बनेका किरण अहिले एमाले गण्डकीको इन्चार्र्ज रहेका छन्। एमालेको ११ औँ महाविधेशनको चर्चा चलिरहँदा गण्डकीबाट स्वाभाविक रूपले पृथ्वीसुब्बा र पद्मा माथिल्लो पदका आंकाक्षीको रूपमा चर्चित छन्। पृथ्वीसुब्बाले महासचिव ताकेका छन्। किरण र कास्कीका खगराज पनि पदाधिकारीका आकांक्षी हुन् तर अध्यक्ष ओलीपक्षधर यी नेताहरूको कसरी व्यवस्थापन गरिन्छ भन्ने प्रष्ट छैन। पृथ्वीसुब्बा चाहिँ नेपालकै सबैभन्दा सशक्त पार्टी एमालेको माथिल्लो पदमा पुग्ने इतिहास बनाउन कम्मर कसेर लागेको उनी निकट नेताहरूको भनाइ छ।
‘उहाँ स्वाभाविक रूपले आउँदो महाधिवेशनमा महासचिवको उम्मेदवार हो। सातौँ महाविधेशनदेखि नै अध्यक्ष कमरेडसँगै रहनुभएका पीएस वैचारिक र सागंठनिक दृष्टिले पनि महासचिवका लागि योग्य हुनुहुन्छ,’ उनी पक्षधर एक केन्द्रीय सदस्यले भने, ‘एमालेलाई जनजाति विरोधी पार्टीको रूपमा चित्रित गरिएको अवस्थामा उहाँको अपरिहार्यता अझ बढेको छ।’
यो यात्रा सजिलो चाहिँ छैन। पृथ्वीसुब्बा अध्यक्ष ओलीनिकट नै छन् तर आलोचना गर्न पछि पर्दैनन्। कतिसम्म भने गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा उनले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री ओलीसँग संघीयताका कार्यान्वनयको विषयमा असहमति नै जाहेर गरे। संघीय सरकार अधिकार प्रत्यायोजनमा उदार नभएको उनको गुनासो थियो। अध्यक्ष ओलीले त्यो गुनासोलाई आफ्नो विरोधको रूपमा बुझेको र तत्कालीन लुम्बिनीका मुख्यमन्त्री तथा हालका महासचिव शंकर पोखरेललाई बढी विश्वास गरेको नेताहरूको आकलन छ।
उसो त, गण्डकीकै अर्का नेता खगराज अधिकारीसँग पनि पृथ्वीसुब्बाको हार्दिकता छैन। खगराज अधिकारीपक्षीय नेताहरू पृथ्वीसुब्बालाई प्रतिस्पर्धी मान्छन्। १० औँ महाधिवेशनअन्तर्गत गण्डकीका जिल्ला र जनवर्गीय संगठनमा भएको चुनावमा एउटा समूहको नेतृत्व खगराज र अर्कोको नेतृत्व पृथ्वीसुब्बाले गरेका थिए। गण्डकी प्रदेश कमिटीको निर्वाचनमा पृथ्वीसुब्बापक्षीय म्याग्दीका नवराज शर्मा विजयी हुँदा लमजुङकै मायानाथ अधिकारी पराजित बने कास्कीको अधिवेशनमा भने पृथ्वीसुब्बा पक्षधर मानिने माधव बास्तोलाको प्यानललाई नै पराजित गर्दै खगराजले बदला लिए।
खगराज अहिले गण्डकी प्रदेशसभामा एमाले संसदीय दलका नेता हुन्। वर्तमान महासचिव शंकर पोखरेलसँग उनको हिमचिम छ भने हिजो मालेको राजनीति गरेका तर वरिष्ठ हुँदाहुँदै पनि समयक्रममा पछि परेका किरण गुरुङ पनि पृथ्वीसुब्बाको पक्षमा छैनन्। किरण आफूलाई अशोक राईपछिको जनजाति नेता भएको दाबी गर्छन्। उनको भनाइमा सत्यता पनि छ। तर, वर्तमान पदाधिकारी नभएकाले उनी आउँदो महाधिवेनमा कुन पदका आंकाक्षी हुन् भन्ने खुलेको छैन। हालसालै अध्यक्ष ओलीसँग भएको भेटमा पनि उनले आफ्नो लागि केही पद नमागेको स्रोतको दाबी छ। तथापि, पद्मा र खगराज सकेसम्म माथि नै पुग्ने सुरमा छन्।
पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा फर्कने गाइँगुइँपछि गण्डकी प्रदेशमा रहेका पृथ्वीसुब्बा पक्षधर विद्याको कित्तामा उभिएका थिए। विद्याले गण्डकीको राजनीतिक भ्रमण गर्दाचाहिँ उनको वरिपरि लाग्नेहरूमा अधिकांश खगराज पक्षधर नै थिए। पोखराको होटल ग्रान्डमा बसेर राजनीतिक भेटघाट गर्ने क्रममा त्यसको चाँजोपाँजो मिलाउने जिम्मेवारी पनि खगराजपक्षीय प्रदेशसभा सदस्य प्रकाशबहादुर केसीका छोरालाई दिइएको थियो। विद्याकी मितिनी तथा पोखराकी उपमेयर मञ्जुदेवी गुरुङ, पूर्वमेयर तथा केन्द्रीय सदस्य कृष्ण थापा स्वाभाविक रूपले विद्याकै नजिक थिए।
त्यसअघि मदन भण्डारी फाउन्डेसनको अध्यक्ष रहेकी उषाकिरण भण्डारीले पृथ्वीसुब्बा पक्षधर माधव बास्तोलाहरूलाई केन्द्रीय सदस्यमा राखिनन्। विद्याको सम्भावित सक्रिय राजनीति प्रवेशमा पनि उही पुरानै समूह हाबी हुने देखेपछि पृथ्वीसुब्बा पक्षधर माधव बास्तोलाको नेतृत्वमा मदन भण्डारी फाउन्डेसन कास्की, दर्ता गरियो। सामाजिक संस्था दर्ता ऐन अनुसार दर्ता भएको यो संस्थाले कास्कीमा समानान्तर गतिविधि चलाइरहेको छ।
गएको असारमा एमाले पोखरा महानगर समितिले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा जनताको बहुदलीय जनवादबारे विचार गोष्ठी आयोजना गरेपछि बास्तोला नेतृत्वको फाउन्डेसनले सोही विषयमा अर्को विचार गोष्ठी आयोजना गर्यो। गोष्ठीमा एमालेका पूर्वस्थायी कमिटी सदस्य एवं मदन भण्डारीको हीरक जयन्ती समारोह समितिका सदस्य सोमनाथ अधिकारी प्यासी प्रमुख अतिथि रहे भने जनवादी गायक जीवन शर्मा पनि सो कार्यक्रममा सरिक बने। नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमको ब्यानरमा जे लेखेको भए पनि त्यो पृथ्वीसुब्बा पक्षधरको शक्ति प्रदर्शन थियो।
‘त्यो उपस्थितिलाई नेतृत्वले किनारीकृत पारिएकाहरूको भेला भनेर बुझ्दा पनि हुन्छ तर हामी एमालेलाई बिगार्न चाहँदैनौँ। आसन्न ११ औँ महाधिवेशनसम्म पुग्दा गण्डकीका सबै नेताहरू मिलेर अगाडि बढून् भन्ने हाम्रो चाहना छ,’ त्यो कार्यक्रमलाई भित्रभित्रै व्यवस्थापन गरेका एक केन्द्रीय सदस्यले भने, ‘अहिलेको हाम्रो कुरा भनेको कार्यकर्तालाई काखा र पाखा नगरियोस् भन्ने नै हो र यहाँका नेताहरू किरण गुरुङ, पृथ्वीसुब्बा, खगराज र पद्माले सहमति गरेरै अगाडि बढ्दा राम्रो हुन्छ भन्ने हाम्रो आग्रह रहेको छ।’
त्यसो भनिरहँदा वर्तमान उपमहासचिव पृथ्वीसुब्बा स्वाभाविक रूपले पार्टी संगठनको महत्वपूर्ण अर्थात् महासचिव हुनुपर्छ भन्ने धारणा भने उनले लुकाएनन्। त्यसका निम्ति शक्ति आर्जन र दबाब दिन अझ सशक्त कार्यक्रम गर्ने पनि उनको भनाइ छ।
‘हाम्रो संगठन अहिले सुकिला–मुकिलाको भएको छ। नेताहरूले गुट बनाउँदा झन बिग्रेको छ। हामी मालेकालीन सांगठनिक उर्जा प्राप्त नगरेसम्म पार्टी अगाडि आउँदैन र त्यस्तो पार्टी बनाउनका लागि नेतृत्वमा जो भए पनि महासचिव हाम्रो र गण्डकी प्रदेशको हुनुपर्छ,’ उनले भने, ‘केपी वा विद्या भन्ने कुरा छैन।’
यो केही साताअघिको कुरा हो। अहिले विद्याको पार्टी सदस्यता निलम्बन गरिएको छ। उनको आगामी यात्रा कस्तो हुन्छ यकिन छैन। विद्याकै पक्षमा उभिने अनुमान गरिएका पृथ्वीसुब्बासहितका नेताहरू पनि अहिले अध्यक्ष ओलीकै साथमा छन्। स्रोतका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री ओलीले गण्डकीका सबै नेताहरूसँग व्यक्तिगत रूपले नै भेटघाट गर्दै आउँदो महाधिवेशनमा उचित पद दिने आश्वासन दिएका छन्। पृथ्वीसुब्बासँगको भेटमा अध्यक्ष ओलीले ‘गण्डकी मिलाउनू, बाँकी कुरा गरौँला’ भनेका थिए भने किरणले अध्यक्षसँग कुनै आकांक्षा राखेनन्। सचिव पद्मालाई गण्डकीको इन्चार्ज बनाउने चाँजोपाँजो मिलाएको समूहलाई अध्यक्ष ओलीकै निर्देशनपछि रोकिएको छ भने त्यसलगत्तै हालका सञ्चारमन्त्रीसमेत रहेका पृथ्वीसुब्बा र गण्डकी एमाले संसदीय दलका नेता खगराजले सँगै तस्बिर खिचाएका छन्।
महासचिवको आश्वासन पाएका पृथ्वीसुब्बाले विद्याको सदस्यता निलम्बन हुनुअघि नै ‘यो नेतृत्वबारे बहस गर्ने समय हैन’ भन्दै आफू ‘पर्ख र हेर’को अवस्थामा रहेको संकेत दिएका थिए। अध्यक्ष ओलीले पुराना कुरा बिर्से र पृथ्वीसुब्बालाई मन नपराउने वर्तमान महासचिव पक्षधरको प्रभावमा परेनन् भने आउँदो महाधिवेशनले पृथ्वीसुब्बालाई नेपालको सशक्त वामपन्थी पार्टीको महासचिव बनाउनेछ। एमालेले उमेर हद हटाएको छ। उमेर हद हट्दा २०१४ सालमा जन्मेका पृथ्वीसुब्बाको पार्टी अध्यक्ष पदसम्म पुग्ने आकांक्षा पनि रोकिँदैन।
‘पार्टी विभाजन हुँदा तत्कालीन वैकल्पिक केन्द्रीय सदस्य तथा गण्डकी इन्चार्जको रूपमा उहाँले आफूलाई प्रमाणित गरिसक्नुभएको छ। वैचारिक प्रशिक्षणमा त उहाँ अब्बल नै हुनुहुन्छ। सबैलाई समेट्ने, जनवादी केन्द्रीयतालाई स्वीकार्दै अघि बढ्ने एवं आलोचनात्मक चेत नछाड्ने बानी भएकाले अध्यक्षमा ओली दोहोरिँदा वा नयाँ नेतृत्व आउँदा पनि पार्टीलाई पीएसकै आवश्यकता छ,’ उनीपक्षीय केन्द्रीय सदस्यले भने, ‘राजनीतिक रूपले कम्युनिस्ट र क्रान्तिकारीको उर्वरभूमि हुँदाहुँदै पनि राजनीतिको उपल्लो नेतृत्वमा गण्डकीबाट कसैको प्रतिनिधित्व नभएको अवस्था चिर्न पनि उहाँ महासचिव हुनैपर्छ।’
ती केन्द्रीय सदस्यको दाबी सत्यमा परिणत हुन चाहिँ एमालेका वर्तमान अध्यक्ष केपी ओली नै दाहिना हुनुपर्ने देखिएको छ। किनकि, विद्रोह रोज्ने किरण गुरुङहरू किनारा लागेको देखेका पृथ्वीसुब्बाले तत्काल पार्टीमा विद्रोह गर्ने सम्भावना कम छ।
- नेपाल खबरबाट